पेट किन दुख्छ भन्ने जिज्ञासा सामान्यसँगै जटिल पनि छ।
एउटा खालको पेट दुखाइमा तत्कालै इमर्जेन्सी चाहिने अवस्था रहन्छ। अर्को विभिन्न रोगको लक्षणका रूपमा समेत आउँछ। अर्थात् पेट दुख्ने विभिन्न कारणहरू छन्। मेडिकल भाषामा पेटलाई रहस्यको बाकस समेत भनिन्छ। किन यस्तो भनिन्छ भने सामान्य रूपमा लिएको पेट दुखाइ ठूलो संकटको संकेतका रूपमा पनि आएको हुन सक्छ।
पेटभित्र पाचनसँग सम्बन्धित अंगहरू छन्। आमाशय, भुँडी, आन्द्रा, कलेजो, पित्तथैली छन्। त्यस बाहेकका अंगहरू पनि छन्, जस्तो मिर्गौला, महिलाहरूमा पाठेघर लगायतका कुरा भए। यस्ता अंगहरू भएकाले पेट दुख्ने कारण पनि धेरै छन्।
त्यसबाहेक मुटुको दुखाइलाई ग्यास्ट्रिक भनेर समय बर्बाद भइरहेको पनि हामीले पाउँछौँ।
फोक्सोको तल्लो भागमा निमोनिया भयो भने पनि पेट दुखाइका रूपमा आउँछ। समग्रमा भन्ने हो भने पेट दुखेर अस्पताल आउनेमध्ये ५० प्रतिशतलाई ग्यास्ट्रिकका कारणले दुख्ने नेपालमा गरिएका अनुसन्धानहरूले देखाएका छन्।
अचानक तीव्र तरिकाले पेट दुखेको छ भने त्यसको कारण एपेन्डिसाइटिस मानिन्छ।
पेट दुखाइलाई ग्यास्ट्रिक ठानेर धोका खाइएका अवस्थाहरू पनि छन्। जस्तो २५ देखि ३० प्रतिशत बिरामी भने जटिल समस्याका कारण आएका हुन्छन्।
पेट दुखाइ के कारणले भयो होला भन्ने थाहा पाउनका लागि बिरामीका विभिन्न परीक्षण गर्ने र प्रोफाइल हेर्ने गरिन्छ। कतिपय अवस्थामा पेट के कारणले दुख्यो भन्ने नै पत्ता लाग्दैन। त्यस्तो बेला बिरामीलाई फेरि–फेरि बोलाएर उपचार गर्ने तरिका अपनाइन्छ।
बिरामीको सघन परीक्षण गर्दा ८० प्रतिशत रोग पत्ता लाग्छ भन्ने मान्यता छ। त्यही आधारमा हामीले भिडियो एक्स–रे, सिटी स्क्यान, एमआरआई लगायतका परीक्षण गर्दै जान्छौँ। त्यस्तै अहिले इन्डोस्कोपी, कोलोनोस्कोपी लगायतका विधिहरू पनि छन्। यसको आधारमा पनि हामीलाई रोग पत्ता लगाउन सजिलो हुन्छ।
पेट दुख्ने अरू पनि कारणहरू छन्। जस्तो खानेकुरा नमिलेर पेट दुख्ने, कब्जियत भएर पेट दुख्ने हुन्छ। पेट दुख्यो भनेर बिरामी आउनासाथ यो कुन प्रकारको पेट दुखाइ हो, बिरामीलाई कुन प्रकारको उपचार चाहिन्छ, बिरामीलाई अहिले उपचार गरेर केही दिन हेरिराख्दा मिल्छ कि, तुरून्त शल्यक्रिया गर्नुपर्छ कि, अरू विशेषज्ञसँग सल्लाह लिनुपर्छ भनेर पत्ता लगाउनु चुनौतीपूर्ण हुन्छ।
युरोपका २६ देशमा गरिएको अनुसन्धान अनुसार आधा वयस्क जनसंख्यामा तीन महिना भित्रमा कुनै न कुनै प्रकारको पेट दुखाइ भएको रहेछ। भनेको यो त्यति सामान्य रूपमा पनि हुने अवस्था हो। तर यससँगै कतिपयलाई जटिल कारणले पेट दुखेको हुन सक्छ।
अहिले विशेषज्ञ चिकित्सक र प्रविधिले गर्दा यो कारणले पेट दुखेको भनेर बस्नुभन्दा एक पटक परीक्षणमा गएको राम्रो हुन्छ।
अब कस्तो पेट दुखाइमा अस्पताल जाने भन्ने हुन्छ। मैले अघि नै यो रहस्यको बाकस भनेर भनिसकेको छु। केही अवस्थामा अस्पताल जानै पर्छ।
जस्तो- तीव्र रूपमा पेट दुखेको छ अनि बढ्दै गएको छ भने, पेट साह्रो भएर आउनु, ज्वरो आउनु, बिरामीको होस परिवर्तन हुँदै जानु, तारन्तार बान्ता आउनु, खानपिन गर्न नसक्नु, बिरामी गल्दै जानु, कालो दिसा हुनु अनि दिसामा रगत आउनु भनेको सामान्यतया डर लाग्दा अवस्थाका लक्षणहरू हुन्।
पेट दुखाइसँग पसिना आउनु, मुटुको चालमा गडबडी हुनु पनि खतराको संकेत हुन सक्छ। यस्तो बेला जतिसक्दो चाँडो अस्पताल जानुपर्छ।
(पेट दुख्नुका कारण र यसको उपचाबारे ओम अस्पतालमा कार्यरत जनरल सर्जन डा.सचित कोइरालासँग हामीले भिडिओ कुराकानी गरेका छौं।)