बैंकिङ कसूर अन्तर्गत किष्ट बैंक घोटाला प्रकरणका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
तत्कालीन किष्ट बैंकका कर्मचारीले नक्कली कागजात, नक्कली छाप, नक्कली बैंक कर्मचारी तथा नक्कली सुरक्षा गार्डसमेत तयार गरी बैंकलाई झुक्याई हानि–नोक्सानी पुर्याएको मुद्दामा दोषी ठहर भएका एक व्यक्तिलाई लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा काठमाडौं तारकेश्वर नगरपालिका–१ साङ्ला बस्ने ४८ वर्षीय रोहितलाल श्रेष्ठ छन्। उनी किष्ट बैंकको ठमेल शाखामा जुनियर असिस्टेन्ट पदमा कार्यरत रही टेलर हेडको जिम्मेवारी सम्हाल्दै आएका थिए।
यस प्रकरणमा सर्वोच्च अदालतले २०८० असोज १५ गतेको फैसलामा श्रेष्ठलाई २ वर्ष कैद र १३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ जरिवाना सजाय तोकेको थियो।
अदालतको फैसला पश्चात् फरार रहेका उनलाई प्रहरीले वैशाख ११ गते काठमाडौं महानगरपालिका–३ महाराजगञ्जबाट पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।