काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारामा रहेका सुकुम्बासीलाई सुरक्षाकर्मीले रंगशालामा लग्ने भएको छ।
शनिबार बिहान थापाथली बस्तीमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ।
महानगर प्रहरी, प्रहरी र सशस्त्र प्रहरी खटिएका छन्। सरकारले सुकुम्बासी बस्ती हटाउने भनेपछि त्यहाँ बसोबास गरिरहेका केही परिवारहरू बिहीबार राति देखि नै अन्यत्र सरिसकेका छन्।
यसबीच अन्यत्र नगएका र कतै जाने ठाउँ नपाएका सुकुम्बासीहरूलाई रंगशालामा लगिने काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।
‘उहाँहरूलाई रंगशालामा लग्ने तयारी छ। त्यहाँ हामी स्क्रिनिङ गर्छौं,’ उनले भने।
स्क्रिनिङ गरिसकेपछि भने होल्डिङ सेन्टर लगिने उनले बताए। होल्डिङ सेन्टर कहाँकहाँ छ भन्ने खुलाएको छैन।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले पनि सुरूमा उनीहरूलाई रंगशाला लगिने बताए। त्यसरी लग्दा बल प्रयोग नगरिने पनि उनले बताए।
‘हामी कसैमाथि पनि बल प्रयोग गर्दैनौं। पिट्ने, लखेट्ने, धपाउने, लछारपछार त्यस्तो केही पनि गर्दैनौं। सरकारले गाडीहरू राखेको छ। सामानसहित हामीलाई लगिदिनुस् भन्नुहुन्छ सामानसहित लगिदिन्छौं। होइन, सामान केही छैन हामी र हाम्रा बालबच्चालाई मात्रै लगिदिनुस् भन्यो भने हामी सुरूमा रंगशालामा लग्छौं,’ उनले भने।
त्यहाँ लगेर धेरैमा आज साँझसम्म रहने पनि उनले बताए। रंगशालामा सहरी विकास मन्त्रालयको तीन वटा टोली तयारी अवस्थामा रहेको उनले बताए।
‘मन्त्रालयको टोलीले बेन्च खडा गरी बस्छ। त्यो टोलीले परिवारको संख्या, वृद्धवृद्धा, बालबच्चा कति छन् भन्ने यकिन गरेर तोकिएको ठाउँमा होल्डिङ सेन्टरमा लगिन्छ,’ उनले भने।
अहिले थापाथलीमा सुरक्षाकर्मीले पनि सामान ओसार्न सहयोग पुर्याइरहेका छन्। थापाथलीको बस्ती हटाए पछि भने अन्यत्रको पनि बस्ती हटाउने तयारी छ।
पहिलो चरणमा थापाथली, सिनामंगल र मनोहरा क्षेत्रमा हटाउने तयारी गरेको छ।