म, विस्थापित सुकुम्बासी
म दिलिप थापा मगर हुँ, ४३ वर्षको भएँ।
म बालाजुको सुकुम्बासी बस्तीमा बस्छु। मेरो घर नम्बर २२२ हो। मेरो परिवारमा ९-१० जना छौं। छोराछोरी छन्, आमाबुबा हुनुहुन्छ। बुबा चल्न सक्नुहुन्न। २० वर्षदेखि उहाँलाई प्यारालाइसिस भएको छ। आफै दिसा-पिसाब गर्न सक्नुहुन्न। अरूले बेला बेला सफा गरिरहनुपर्छ।
पहिले भाइ पनि सँगै थियो। दुई वर्षअघि उसको मृत्यु भयो। अहिले उसका दुई छोराछोरी र मेरा दुई छोराछोरी छन्।
म जन्मेकै यहीँ बालाजु क्षेत्रमा हो। मेरो जन्म २०३९ सालमा भएको हो। जन्मेदेखि यहीँ टहरामा बस्दै आएको छु। बाले अलिकति गर्नुभयो, हामीले त्यसैमा थपथाप गर्यौं। जे कमायौं, यहीँ लगायौं।
अहिले एक्कासि आफू जन्मे-हुर्केको ठाउँ छाड्नुपरेको छ। त्यसमाथि २४ घन्टाभित्रै घर खाली गर्नू भन्ने सूचनाले कहाँ सर्ने हो भन्ने पनि ठेगान छैन। जति खोज्दा पनि कोठा पाइएको छैन। सुकुम्बासी भनेपछि सबैले घृणा गर्दा रहेछन्।
सरकारले बस्तीबाट हटाउनुअघि हाम्रो आर्थिक अवस्था हेर्नुपर्थ्यो, हामी कस्तो अवस्थामा बसिरहेका छौं भन्ने बुझ्नुपर्थ्यो। त्यसपछि हाम्रो सारा बन्दोबस्त गरेर मात्र हटाएको भए हुन्थ्यो।
सरकारले उचित व्यवस्थापन गरेको भए हामीलाई पनि सधैं यो टहरामा बसिरहन कहाँ मन थियो र! हामीलाई पनि सधैं सुकुम्बासी बनेर बस्न मन थिएन नि!
म पहिले यहीँ वरिपरि गाडामा म:म बेच्थेँ। अहिले केही छैन।
हामी यही क्षेत्रको मतदाता पनि हौं। यसपालि सबैले 'घन्टी' मा भोट हाल्ने भनेपछि हामीले पनि उसैलाई भोट दियौं। केही गर्ला भन्ने थियो। तर सबभन्दा पहिला हामी गरिबहरूलाई उठिबास लगाउलान् भन्ने चाहिँ सोचेका थिएनौं।
यो घटनापछि त मन मर्यो। अब स्थानीय तह चुनावमा त भोट हाल्दिनँ।
यो सरकारले हामीलाई राम्रो ठाउँमा लगेर राख्छ जस्तो पनि लाग्दैन। यत्रो परिवार लिएर, बिरामी बुबा, वृद्ध आमा र बालबच्चा लिएर कहाँ जाने हो थाहा छैन। कसरी पढाउने हो थाहा छैन।
साह्रै अलमल्ल परेको छु।
(बालाजुको सुकुम्बासी बस्तीबाट विस्थापित दिलिप थापा मगरसँग सेतोपाटीकी सरिशा अछामीले गरेको कुराकानीमा आधारित।)
***