सशस्त्र प्रहरी बलको पोशाक दुरूपयोग गरी सामाजिक सञ्जालमा भिडिओ पोस्ट गर्नेविरूद्ध कानुनी कारबाही अघि बढेको छ।
सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै पोशाक दुरूपयोग गर्ने र उक्त भिडिओ बनाएर सामाजिक सञ्जालमा फैलाउने व्यक्तिहरूविरूद्ध कानुनी कारबाही अगाडि बढाएको जानकारी दिएको हो।
केही दिनदेखि सामाजिक सञ्जालमा सशस्त्र प्रहरीको कम्ब्याट ड्रेसको पाइन्ट लगाई सडक पेटीमा सुतिरहेको एक व्यक्तिको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
उक्त भिडिओबारे सत्यतथ्य बुझ्दा भिडिओमा देखिएका व्यक्ति कमर्चारी नभएको पुष्टि भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए।
'हामीले साइबर ब्युरोमा उजुरी दिएका छौं, बाँकी प्रक्रिया त्यहीबाट अगाडि बढ्छ,' सशस्त्र प्रहरी नायब उपरीक्षक थापाले भने, 'उक्त भिडिओमा देखिएको व्यक्ति हाम्रो कर्मचारी नभएको भने पुष्टि भइसकेको छ।'
उनका अनुसार संगठनको कम्ब्याटको अर्ध पोशाक लगाई दुरूपयोग गरिएको र ती व्यक्तिलाई सशस्त्र प्रहरीकै सुरक्षाकर्मीका रूपमा चित्रण गर्दै वास्तविकता नबुझी सामाजिक सञ्जालमा भिडिओ राखेको पाइएको थियो।
साथै, असम्बन्धित व्यक्तिले सशस्त्र प्रहरी बलको पोशाक, दर्ज्यानी चिह्न वा संगठनको पहिचान झल्किने सामग्री प्रयोग नगर्न पनि सशस्त्र प्रहरीको आग्रह छ।
कोही व्यक्तिले पहिरन लगाएमा वा त्यस्ता गतिविधिबारे जानकारी प्राप्त भएमा सशस्त्र प्रहरी बलको टोल फ्रि नम्बर १११४ मा सूचना उपलब्ध गराई सहयोग गरिदिन समेत सशस्त्र प्रहरीले आग्रह गरेको छ।