काभ्रेपलाञ्चोकको पाँचखाल–७ स्थित ह्वाइट पार्क रिसोर्टमा छापा मारेर प्रहरीले ३६ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ।
शंकास्पद गतिविधि भइरहेको गुनासोपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले मंगलबार रिसोर्टमा छापा मारेको हो।
पक्राउ पर्नेमा ३१ जना पुरूष र ५ जना महिला रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रविन विष्टले जानकारी दिए।
उनका अनुसार शंकास्पद गतिविधि भइरहेको छ भन्ने गुनासो आएपछि अनुगमनका लागि पुगिएको थियो। प्रहरीलाई देख्नसाथ भागभाग गर्न थालेपछि नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको छ।
उनीहरूले दुई वटा कोठा भाडामा लिएर एउटा कार्यालयजस्तो बनाएका रहेछन्। उनीहरूको कोठाबाट मोवाइल र कम्युटरहरू बरामद गरिएको छ।
'उनीहरू किन आएको र के गर्न खोजेका हुन् भन्ने खुलेको छैन। थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली बोलाइएको छ,' डिएसपी बिष्टले भने।