राति १० बजेपछि बन्द हुनुपर्ने विराटनगरका होटल, रेस्टुरेन्ट र मनोरञ्जनस्थलले अब राति २ बजेसम्म कारोबार गर्न पाउने भएका छन्।
जिल्ला प्रशासन कार्यालय मोरङले व्यवसायको प्रकृतिअनुसार सञ्चालन समय निर्धारण गर्दै रात्रिकालीन व्यवसायलाई अनुमति दिने प्रक्रिया सुरू गरेको छ।
नयाँ व्यवस्थाले कोशी प्रदेशको राजधानी विराटनगरमा लामो समयदेखि चल्दै आएको रात्रिकालीन व्यवसाय सञ्चालन सम्बन्धी विवादलाई निकास दिने बाटो खुला भएको छ।
यसअघि राति १० बजेभित्र होटल तथा रेस्टुरेन्ट बन्द गराउन खोज्ने प्रशासन र व्यवसायको समय बढाउनुपर्ने माग राख्ने व्यवसायीबीच मतभेद थियो। अब भने सुरक्षा र सञ्चालनका निश्चित सर्त पूरा गर्ने व्यवसायले मध्यरातपछि पनि सेवा दिन सक्नेछन्।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार प्रशासनले 'रात्रिकालीन होटल तथा व्यवसाय सञ्चालनसम्बन्धी मापदण्ड, २०८३' जारी गरेर अनुमति दिने प्रक्रिया अघि बढाएको हो।
व्यवसायीले सम्बन्धित वडा कार्यालयको सिफारिस सहित जिल्ला प्रशासनमा निवेदन दिन सक्नेछन्। निवेदनका आधारमा अनुगमन समितिले व्यवसायस्थलको निरीक्षण गर्नेछ।
'मापदण्ड पूरा गरेको व्यवसायले मात्रै राति १० बजेपछिको सञ्चालन अनुमति पाउँछ,' कोइरालाले सेतोपाटीसग भने, 'यसका लागि मङ्गलबारदेखि अनुमतिका लागि निवेदन लिन थालेका छौँ।'
नयाँ व्यवस्थाअनुसार पान पसल, मिठाइ, चिया, आइसक्रिम, किराना, खाना तथा खाजा पसल र रेस्टुरेन्टले अनुमति पाए राति १२ बजेसम्म कारोबार गर्न सक्नेछन्। दोहोरी तथा गजल व्यवसायलाई पनि मध्यरातसम्म सञ्चालन गर्न दिइनेछ।
पब, डिस्को, डान्स क्लब, लाउन्ज बार र लाइभ म्युजिक सञ्चालन हुने व्यवसायले भने अनुमति पाए राति २ बजेसम्म सेवा दिन सक्नेछन्। राति १० बजेसम्म व्यवसाय सञ्चालन गर्न अतिरिक्त अनुमति लिनुपर्ने छैन। त्यसपछि कारोबार जारी राख्न प्रशासनको स्वीकृति अनिवार्य हुनेछ।
विराटनगरमा रात्रिकालीन व्यवसायको समयलाई लिएर विवाद चर्किएको पछिल्लो घटना कात्तिक १६ को प्रशासनिक निर्देशन थियो।
जिल्ला प्रशासनले होटल व्यवसायीलाई राति १० बजेभित्र प्रवेशद्वार बन्द गर्न र साढे १० बजेसम्म ग्राहकलाई बाहिर निकालिसक्न निर्देशन दिएको थियो।
प्रशासनको उक्त निर्णयपछि व्यवसायीले असन्तुष्टि जनाएका थिए। उनीहरूको भनाइमा रातिसम्म यात्रु र ग्राहकको आवागमन हुने विराटनगरमा होटल तथा रेस्टुरेन्टको समय सीमित गर्दा व्यापार प्रभावित हुन्छ।
विराटनगर विमानस्थलको उडान, लामो दूरीका यात्रु र सीमावर्ती भारतीय सहरबाट हुने आवागमनलाई समेत मध्यनजर गरेर व्यवसाय सञ्चालनको समय निर्धारण गर्नुपर्ने उनीहरूको माग थियो।
व्यवसायीको विरोधपछि यो विषय प्रशासनिक निर्णयमा मात्रै सीमित रहेन। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले समेत राति १० बजेपछि होटल तथा रेस्टुरेन्ट बन्द गराउने निर्णयप्रति असन्तुष्टि जनाएका थिए।
सुरक्षा व्यवस्थापनका नाममा व्यवसायको समय सीमित गर्नुभन्दा राज्यले नागरिकलाई चौबीसै घण्टा सुरक्षा दिनुपर्ने उनको धारणा थियो।
व्यवसायीले कारोबारको समय बढाउनुपर्ने र प्रशासनले रातिको गतिविधि सुरक्षित बनाउनुपर्ने अडान राखेपछि दुवै पक्षका चासोलाई समेट्ने गरी मापदण्ड तयार गरिएको हो। सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले पनि मापदण्ड बनेपछि व्यवसाय सञ्चालनको समय व्यवस्थापन गर्न सहज हुने बताएका थिए।
व्यवसायअनुसार समय फरक
नयाँ मापदण्डले सबै व्यवसायलाई एउटै समयसीमामा राखेको छैन। सामान्य सेवा दिने पसल र रेस्टुरेन्टलाई मध्यरातसम्म तथा मनोरञ्जनप्रधान व्यवसायलाई राति २ बजेसम्म सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ।
तर, व्यवसाय सञ्चालनको समय बढ्दैमा मदिरा कारोबारमा पनि त्यहीअनुसार छुट हुने छैन। मदिरा बिक्री गर्ने पसल बिहान १० बजेदेखि राति १० बजेसम्म मात्रै खोल्न पाइनेछ। होटल तथा मनोरञ्जनस्थलमा दिउँसो १२ बजेअघि मदिरा बिक्री तथा सेवन गराउन निषेध गरिएको छ।
शुक्रबार राति १ बजेपछि र अन्य दिन राति १२ बजेपछि मदिरा बिक्री तथा सेवन गर्न पाइने छैन। यसरी राति अबेरसम्म मनोरञ्जनात्मक सेवा दिन पाउने व्यवस्था भए पनि मदिराको कारोबार र सेवनलाई छुट्टै समयसीमामा राखिएको छ।
रात्रिकालीन व्यवसाय सञ्चालनको अनुमति पाउन सञ्चालकले ग्राहक र आसपासको क्षेत्रको सुरक्षामा विशेष ध्यान दिनुपर्नेछ। व्यवसाय परिसर र त्यसको आसपास कम्तीमा १०० मिटरसम्म पर्याप्त प्रकाशको व्यवस्था गर्नुपर्ने मापदण्ड छ।
प्रवेशद्वार र सडक देखिने गरी सीसीटीभी जडान गर्नुपर्नेछ। त्यसको दृश्य कम्तीमा ३० दिनसम्म सुरक्षित राख्नुपर्नेछ। ध्वनि बाहिर फैलिन नदिन साउन्डप्रुफ संरचना बनाउनुपर्नेछ। अग्नि नियन्त्रण उपकरण, आपत्कालीन निकास र पर्याप्त पार्किङको प्रबन्ध पनि अनिवार्य गरिएको छ।
राति १० बजेपछि घरबाहिर निस्कने ग्राहकले परिचय खुल्ने कागजात साथमा राख्नुपर्नेछ। सुरक्षाकर्मीले मागेको अवस्थामा देखाउनुपर्नेछ। होटलमा बस्ने नेपाली तथा विदेशी नागरिकको परिचयपत्र र राहदानीको विवरण व्यवस्थित रूपमा राख्नुपर्नेछ।
मदिरा सेवन गरेका ग्राहकलाई सुरक्षित रूपमा घर वा गन्तव्यसम्म पुर्याउने दायित्व पनि व्यवसाय सञ्चालककै हुनेछ। होटल तथा रेस्टुरेन्टले अतिरिक्त शुल्क लिएर ग्राहकका लागि सवारीको व्यवस्था गर्नुपर्नेछ।
मनोरञ्जनस्थलमा १८ वर्षमुनिका बालबालिकालाई प्रवेश दिन पाइने छैन। धूमपान गर्नेका लागि छुट्टै क्षेत्र बनाउनुपर्नेछ। सुर्ती तथा मदिरा बिक्रीसम्बन्धी निषेधात्मक प्रावधानको पालना पनि अनिवार्य गरिएको छ।
रात्रिकालीन व्यवसाय सञ्चालन गर्दा कर्मचारीको अधिकार र सुरक्षालाई पनि मापदण्डले समेटेको छ। कर्मचारीलाई नियुक्तिपत्र दिनुपर्ने, न्यूनतम पारिश्रमिक र अतिरिक्त समयको सुविधा उपलब्ध गराउनुपर्नेछ। जोखिम बिमा गर्नुपर्ने र तलब बैंकिङ प्रणालीबाट भुक्तानी गर्नुपर्ने व्यवस्था छ।
राति काम गर्ने कर्मचारीलाई घरबाट ल्याउने र पुर्याउने यातायात तथा खानाको व्यवस्था व्यवसायीले नै गर्नुपर्नेछ। महिला कर्मचारीका लागि सुरक्षित पोसाक परिवर्तन कक्ष र स्तनपान कक्ष बनाउनुपर्नेछ। कार्यसमयमा कर्मचारीले मदिरा सेवन गर्न वा ग्राहकसँगै बसेर खानपिन गर्न पाउने छैनन्।
स्पा, मसाज पार्लर तथा क्याबिनमा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न पनि छुट्टै प्रावधान राखिएको छ। त्यस्ता व्यवसायका ढोकामा भित्रबाट चुकुल वा ताल्चा लगाउन पाइने छैन। स्पामा तालिम तथा प्रमाणपत्र प्राप्त व्यक्तिले मात्रै काम गर्न पाउनेछन्।
मापदण्ड कार्यान्वयनको अवस्था अनुगमन गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति बनाइएको छ। समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, विराटनगर महानगरपालिका र व्यवसायीका प्रतिनिधि रहनेछन्।
समितिले नियमित र आकस्मिक दुवै प्रकारका अनुगमन गर्नेछ। मापदण्ड उल्लंघन गर्ने वा ध्वनि प्रदूषण गर्ने व्यवसायको रात्रिकालीन सञ्चालन अनुमति रद्द गर्न सकिने व्यवस्था छ।
उल्लंघनकर्तामाथि प्रचलित कानुनअनुसार कारबाहीसमेत हुनेछ।
यो व्यवस्था विराटनगर महानगरपालिकाभित्र पूर्वमा केशलिया खोला, पश्चिममा सिंगिया खोला, उत्तरमा विराटनगरको स्वागत गेट र दक्षिणमा रानीसम्म लागू हुनेछ। गृह मन्त्रालयको 'पूर्ण समय व्यवसाय सञ्चालन गर्ने सम्बन्धी कार्यविधि, २०७९' को आधारमा स्थानीय मापदण्ड तयार पारिएको प्रशासनले जनाएको छ।
नयाँ व्यवस्थाले विराटनगरमा राति व्यवसाय सञ्चालन गर्ने समयबारेको अन्योल हटाउने आधार तयार गरेको व्यवसायीहरुको भनाइ छ।
'देशका विभिन्न भाग तथा भारतबाट समेत ठूलो संख्यामा आइरहने मानिसले राति १० बजे नै सहर ठप्प बन्दा सास्ती भोग्ने अवस्था अन्त्य होस् भनेर हामीले लामो समयदेखि आवाज उठाइरहेका थियौं,' नेपाल उद्योग वाणिज्य महासङ्घ कोशीका उपाध्यक्ष समेत रहेका विराटनगरका होटल व्यवसायी राजन श्रेष्ठले भने, 'अब व्यवसायीले प्रशासनसँग समय बढाउन माग गरिरहनुपर्ने अवस्था नरहने अपेक्षा छ। प्रशासनले पनि सुरक्षा तथा अनुशासनका सर्तमार्फत रात्रिकालीन गतिविधि नियमन गर्न सक्ने अपेक्षा गरिएको छ।'