रारा मसलाको उत्पादन नरोक्न उच्च अदालत बुटवल इजलासले अन्तरिम आदेश दिएको छ।
उच्च अदालतका न्यायाधीश सानु मैयाँ डङ्गोलको एकल इजलासले बुटवल रारा मसला उद्योगको उत्पादन नरोक्न गत असोज ८ गतेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो।
बुटवल उपमहानगरपालिका वडा नं. ११ देविनगरस्थित सांग्रिला पथ र ओली पथमा सञ्चालित बुटवल रारा मसला उद्योगबाट निस्किएको पिरो रागले बस्तीमा समस्या पारेको भन्दै स्थानीयले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएपछि जिल्ला प्रशासन कार्यालयको आग्रहमा घरेलु तथा साना उद्योग कार्यालय भैरहवाले असोज ५ गते उत्पादन बन्द गर्न उद्योगलाई पत्राचार गरेको थियो।
त्यसपछि उद्योग सञ्चालक दीपक भुसालले उत्पादन गरिपाऊँ भन्दै उच्च अदालत बुटवल इजलासमा निवेदन दिएका थिए।
सोही निवेदन उपर बुधबार भएको बहसपछि न्यायाधीश डङ्गोलको इजलासले उद्योग बन्द गर्दा उद्योगमा प्रयोग गरिने कच्चा पदार्थ र उत्पादित वस्तुको व्यवस्थापन सहित कर्मचारीहरूको रोजगारीमा समेत प्रत्यक्ष असर पर्ने भन्दै मुद्दाको अन्तिम टुंगो नलागेसम्म उद्योगको उत्पादन बन्द नगर्न यसअघि जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो।
‘उद्योगले वातावरणीय प्रदूषण गरे नगरेको सम्बन्धमा विवेचना हुने हुँदा विपक्षी घरेलु तथा साना उद्योग कार्यालयको पत्र अनुसार निवेदकले तत्काल उक्त उद्योग बन्द गर्दा उक्त उद्योगमा प्रयोग गरिने कच्चा पदार्थ उत्पादित सामानहरूको व्यवस्थापन सहित उद्योगसँग सम्बन्धित कर्मचारी तथा निवेदकको पेसा व्यवसाय गर्न पाउने मौलिक हकमा प्रत्यक्ष असर पुग्न जाने हुँदा सुविधा र सन्तुलनका आधारमा प्रस्तुत निवेदनको अन्तिम टुङ्गो नलागेसम्म यस अदालतबाट असोज ८ मा जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता प्रदान गरिदिएको छु। आदेशको जानकारी विपक्षीहरूलाई नियमानुसार दिनू,’ अदालतको आदेशमा भनिएको छ।
बुधबारको बहसमा निवेदक उद्योगीको तर्फबाट वरिष्ठ अधिवक्ताद्वय कमलराज जोशी र राममणि भुर्तेल तथा अधिवक्ता गोविन्द प्रसाद मरासिनीले बहस गरेका थिए।
त्यस्तै, विपक्षी जिल्ला प्रशासन कार्यालयको तर्फबाट सहायक न्यायाधिवक्ता वसन्तराज पोख्रेल, घरेलु तथा साना उद्योग कार्यालयको तर्फबाट उपन्यायाधिवक्ता ऋषि केशव बस्याल र विपक्षी हरि कार्कीको तर्फबाट अधिवक्ता द्वय गोकर्णसिंह थापा र कृष्ण प्रसाद पोखरेलले बहस गरेका थिए।
अदालतले दिएको आदेशमा रारा मसला उद्योग कानुन बमोजिम दर्ता भई आफ्नो उद्देश्य मुताबिकका सामानहरू उत्पादन गरी आएको र गत आर्थिक वर्षसम्म घरेलु तथा साना उद्योग कार्यालयबाट उद्योग नवीकरण भई सञ्चालन भई आएको उल्लेख छ।
उक्त उद्योगले वातावरण प्रदूषण गरेको भन्दै विपक्षी हरि शर्मा कार्की समेतको पहिलो उजुर निवेदन बुटवल उपमहानगरपालिका न्यायिक समितिबाट छानबिन भइरहेको अवस्थामा पुनः जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा दिएको उजुर निवेदनपछि घरेलु तथा साना उद्योग कार्यालयले उद्योग बन्द गर्न पत्र पठाएको थियो।
तर, उद्योगले उत्पादन बन्द गर्नुपर्ने खालको के कस्तो वातावरणीय असर पार्ने कार्य गरी आएको र वातावरण प्रदूषण गर्ने गरी तोकिएको कुन मापदण्ड उल्लङ्घन भएको भन्ने समेत घरेलु तथा साना उद्योग कार्यालयको पत्रमा उल्लेख सम्म गरिएको नदेखिएको अदालतको आदेशमा भनिएको छ।
२०४६ सालमा बुटवलको नेपालगन्ज रोडमा उद्योग स्थापना गरी उत्पादन सुरू गरेको रारा मसला उद्योगले २०५६ सालमा बुटवल वडा नं. ११ देविनगरमा जग्गा किनेर उद्योग स्थानान्तरण गरेको थियो।
देविनगरको सांग्रिलापथमा पौने ४ कट्ठा र ओली पथमा ३ कट्ठा जमिन किनेर स्थानान्तरण गर्दा उद्योग वरिपरि बस्ती बसिसकेको थिएन। ओली पथमा मेसिन जडान गरी मसला उत्पादन हुने गरेको छ भने सांग्रिलापथमा गोदाम र अफिस सञ्चालन गरिएको छ।
उद्योग आसपासमा बिस्तारै बस्ती बढ्दै गएपछि गत वर्षदेखि स्थानीयले उद्योगबाट पिरो राग निस्किएको भन्दै उद्योग अन्यत्र स्थानान्तरण गर्न दबाब दिँदै आएका थिए।
स्थानीयको दबाबपछि जिल्ला प्रशासन कार्यालयको अनुरोधमा घरेलु तथा साना उद्योग कार्यालय भैरहवाले गत असोज ६ गते उत्पादन बन्द गर्न पत्र काटेपछि उद्योगले उत्पादन गरिपाऊँ भन्दै अदालतमा निवेदन दिएको थियो।
अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा स्थानीयसँगै उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष समुन्द्र जिसीले समेत अदालतमा दिएको मुद्दा फिर्ता लिएर उद्योग अन्यत्र स्थानान्तरण गर्न उद्योग सञ्चालक भुसाललाई दबाब दिँदै आएका थिए।