हिमाली जिल्ला मनाङ बाढी र पहिरोले क्षतविक्षत छ।
मनाङ जोड्ने एकमात्र सडक लमजुङको बेसीशहर–चामे सडकको दर्जनौं ठाउँमा पहिरो गएको छ भने सदरमुकाम चामेमा ठाडो खोलाबाट झरेको पहिरोले थुनिएको मर्स्याङ्दी नदीमा ढुंगा र गेग्रान भरिएको चामेका स्थानीय पालसाङ लामाले बताए।
‘ठाडो खोलाबाट आएको पहिरोले मर्स्याङ्दी नदी थुनिएको ठाउँमा अहिले गेग्रान र ढुंगा भरिएको छ,’ उनले भने, ‘माथिल्लो मनाङ जोड्ने मोटरेवल पुलसम्म गेग्रान भरिएको छ, अहिले पानी जमेको छैन।’
बाढी र पहिरोले चामेका ६ घर क्षेतिग्रस्त गरेको थियो। मर्स्याङ्दी नदी थुनिएको ठाउँमा पनि केही होटल र घरहरू डुबानमा परेका छन्। लामाका अनुसार मोटरेवल पुलसम्म गेग्रान र ढुंगा थुप्रिएका कारण नदी पुलको दायाबायाबाट बगेको छ। जसले होटल र घरहरू पनि बगाइरहेको छ। नदीले बुधबार पनि एउटा होटल बगाएको लामाले बताए।
-1790773920.jpg)
-1790773920.jpg)
‘नदी थुनिएपछि होटल र घरहरू डुबानमा छन्,’ उनले भने, ‘आज पनि एउटा होटल बगायो।’
चामेकी स्थानीय छोडेन लामाका अनुसार गत भदौ ११ गते राती ११ बजेतिर चामेका स्थानीय घर छाडेर जंगलतिर भागेका थिए। पानी परिरहेको अवस्थामा स्थानीय केशर विकले राती ११ बजेतिर माथिबाट बाढी र पहिरो आउँदैछ भन्दै घरघर पुगेर स्थानीयलाई भाग्न भनेका थिए।
‘केशर भाइले घरघर पुगेर माथिबाट बाढी र पहिरो आउँदैछ भनेर सबैलाई भाग्न भनेपछि हामी भागेका थियौं,’ छोडेनले भनिन्, ‘नभागेको भए ठुलो मानवीय क्षेती हुने रहेछ।’
पानी परिरहेका बेला चिसोमा भिज्दै भाग्नुपरेको उनले बताइन्। यसरी ज्यान जोगाउन मध्यरातमा भाग्नेहरूमा बालबालिका र वृद्धवृद्धा मात्र थिएनन्, गर्भवती महिला र सुत्केरीसमेत बच्चा बोकेर जंगलतिर भागेर ज्यान जोगाएका थिए।
अन्नपूर्ण फेरो पदयात्रामा गएका विदेशी पर्यटक पनि रातारात भागेर ज्यान जोगाएका थिए। यसरी मध्यरात चिसोमा भाग्नुपर्दा कतिपय पर्यटक रोएका थिए।
चामेका स्थानीय पालसाङका अनुसार अझै पनि चामेका बासिन्दा ढुक्क हुन सकेका छैनन्। अहिले पनि रातीको बेला सुरक्षित स्थानमा बस्न जानुपरेको उनले बताए।
‘म हिजोराती कोष तथा लेखा नियन्त्रकको कार्यालयमा गएर बसें,’ उनले भने, ‘अझै पनि त्रास सकिएको छैन। जोखिम छ।’
शुक्रबार राती गएको बाढी र पहिरोले चामेका ६ घर तथा होटल क्षेतिग्रस्त बनेको छ भने मर्स्याङ्दी नदी थुनिएपछि पानीले थप होटल र घरहरू बगाएका छन्।
चामे गाउँपालिकाकी जनस्वास्थ्य अधिकृतसमेत रहेकी छोडेनका अनुसार बाढीसँगै चामेमा खानेपानीको चरम समस्या छ। अहिले स्थानीयले नजिकैको पानी उद्योगबाट लगेर खाएका छन् भने कतिपयले नजिकैको मुलको पानी प्रयोग गरेका छन्।
ठाडो खोलाबाट आइतबार साँझ झरेको पहिरोले थुनिएको मर्स्याङ्दी नदी खोल्न र सडक सुचारू गर्न स्थानीय सरकार र प्रशासनले सक्दो प्रयास गरिहेको छोडेनले बताइन्।
‘थुनिएको खोला खोल्न दुइटा डोजर लगाइराखेको छ, अझै गेग्रान जमेकाले अझै खोल्न सकिएको छैन,’ उनले भनिन्, ‘गाउँपालिका अध्यक्ष, वडाध्यक्ष, सिडिओ सबै लागि पर्नुभएको छ।’
-1790773920.jpg)
-1790773920.jpg)
बाढी र पहिरोले रातारात भागेर ज्यान जोगाएका चामेबासीलाई उद्धार गर्न संघीय सरकारले तदारूकता नदेखाएको छाडेनको गुनासो छ।
‘यहाँ स्थानीय सरकारले धेरै गर्नुभएको छ, आँफै पीडित भएर पनि खटिनुभएको छ,’ उनले भनिन्, सहाम्रो कुनासो संघीय सरकारले उद्धार गरिदिएन भन्ने मात्र हो।’
मनाङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) मुक्तिप्रसाद खनालका अनुसार अहिले पनि मनाङमा मोटरबाटो, बिजुली, टेलिफोन र खानेपानीको समस्या छ। बाढी र पहिरोले बिजुलीका पोलहरू ढलेका छन्। खानेपानीको मुहान रहेको ठाउँमा पहिरो गएको उनले बताए। माथिल्लो मनाङ र तल्लो मनाङमा सडक सुचारू गर्न डोजर प्रयोग भइरहेको सिडिओ खनालले बताए।
‘चामेमा मर्स्याङ्दी नदी थुनिएको ठाउँमा गेग्रान र ढुंगा भरिएको छ, पानी नभएकाले तल्लो क्षेत्रमा समस्या नहोला,’ उनले भने, ‘नदी थुनिएको ठाउँको गेग्रान र ढुंगा हटाउन हामीले डोजर लगाइराखेका छौं। तल्लो मनाङ र उपल्लो मनाङमा पनि बाटो खुलाउन डोजर प्रयोग भइरहेका छन्।’
असोज ९ गतेदेखि ११ गतेसम्म परेको पानीले जिल्ला क्षेतिग्रस्त भएपनि जनजीवन समान्य बनाउन स्रोत साधनको कमी भएको सिडिओ खनालले बताए।
‘हामीसँग स्रोत साधन निकै कम छ, जोखिम धेरै छ,’ उनले भने।
अन्नपूर्ण फेरोमा यही बेला २ सय भन्दा बढी विदेशी पर्यटक पदयात्रा गर्न गएका थिए। बाढी र पहिरोका कारण गन्तव्यमा नपुगी उनीहरू फिर्ता भएको सिडिओ खनालले बताए।
अधिकांश पर्यटकको हेलिकप्टरबाट उद्धार भएको छ भने माथिल्लो मनाङ पुगेका पर्यटक उतै रोकिएका छन्। थोराङलाफेदीमा रहेको तीनवटा होटल हिउँले पुरिएकाले पनि पर्यटक माथि जान सक्ने अवस्था नरहेको सिडिओ खनालले बताए।
-1790773921.jpg)