दाङमा आधा करोडभन्दा बढी मूल्य बराबरको सुनसहित दुई जना पक्राउ परेका छन् ।
दाङको राजपुर गाउँपालिका –७ सुनपतरी नाका बस्ने ४० वर्षीय रुपलाल गिरी र रुकुम पश्चिमको बाफिकोट गाउँपालिका – ६ मग्मा बस्ने २२ वर्षीय दिलिप परियार सुनसहित पक्राउ परेका हुन्।
दाङका प्रहरी प्रवक्ता डिएसपी डा. हेमबहादुर केसीका अनुसार रूपलालले त्यो सुन भारतबाट किनेर ल्याएका थिए। दिलिप खरिदकर्ता रहेको खुलेको छ।
दाङको लमही नगरपालिका – ९ अमेलियास्थित ‘नमस्ते होटेल’को कोठामा सुनको अवैध कारोबार हुँदैछ भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अमेलिया बाट खटिएको टोलीले शुक्रबार बेलुकी उनीहरुलाई पक्राउ गरेको थियो।
प्रहरीले उनीहरुको साथबाट २१४.५०० मिलीग्राम सुन (पँहेलो धातु) फेला परेको प्रवक्ता केसीले बताए।
बरामद भएको सुनको हालको प्रचलित बजार मूल्य ५२ लाख ७४ हजार बराबर पर्ने प्रहरीको अनुमान छ।
सुन फेला परेको घटनाबारे पक्राउ परेका व्यक्तिहरू माथि थप आवश्यक अनुसन्धान भइरहेको डिएसपी केसीले जानकारी दिए।