इलाका प्रहरी कार्यालय तुलसीपुर दाङको जग्गामा बनेका घर संरचनाहरू स्थानीयले भत्काउन थालेका छन्।
कार्यालयको नाममा रहेको दुई कठ्ठा भित्र बनेका संरचना अहिले स्थानीयहरूले धमाधम भत्काउन थालेका हुन्। कार्यालयको जग्गा पाँच कठ्ठा १० धुर छ।
लामो समयदेखि कार्यालयको जग्गामा बसोबास गर्दै आएका घरपरिवारलाई गत जेठ १२ गते १५ दिने सार्वजनिक सूचना जारी गर्दै हट्न भनेको हो। त्यस क्षेत्रमा १० घर परिवारका करिब ४० जना मानिस बस्दै आएका थिए।
प्रहरीले जग्गा खाली गर्नबारे सार्वजनिक गरेको १५ दिन सूचनाको अवधि जेठ २८ गते सकिएको थियो। जेठ २७ र २८ गते दुई दिन माइकिङ गरी जग्गा खाली गर्न भनिएको थियो।
यसअघि दुई घर परिवारले छाडिसकेको र केहीले आफैं घर भत्काउने जानकारी गराएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख होमबहादुर पराजुलीले जानकारी दिए।
डिएसपी पराजुलीले सौहार्दपूर्ण वातावरणमा सहयोग माग्नेलाई प्रहरीले सरसामान ओसार्न सहयोग गरेको बताए।
-1781445405.jpeg)
त्यही क्षेत्रमा आइतबार घर भत्काउँदै गरेको अवस्थामा रूद्रबहादुर पुन भेटिए।
उनले १५ वर्षअघि १० लाखमा त्यहाँको घर किनेको बताए। त्यसमा उनले उक्त घरमा तला थप्न र मर्मत गर्न ३ लाख रुपैयाँ समेत खर्चिसकेका थिए।
‘के गर्नु अहिले आएर मनले नचाहँदा नचाहँदै, रूँदै भए पनि जिन्दगी भर कमाएको पैसा खन्याएको घर भत्काउनु परेको छ,’ उनले भने।
पुनको पुर्खेउली घर सल्यान त्रिवेणीको रिखे हो। पाखो जमिनका उब्जिन नहुने, हातमुखको जोह गर्न मुल्किल थियो। उनले भारतमा गएर धेरै वर्ष मजदुरी गरे। तीन वर्ष मलेसिया बसे।
त्यसैको कमाइले तुलसीपुर-५ स्थित यो ५ मिटर जग्गासहितको सानो घर किनेका थिए।
‘यो सबै गर्नुको पछाडि परिवारको खुसी खोज्नु थियो। आफूले जे-जस्तो दुःख भोग्नु परे पनि बालबालिकाको उज्वल भविष्य, राम्रो शिक्षा दिन्छु भन्ने भावना थियो,’ उनले भने।
पुनलाई यो जग्गा बिक्री गर्ने व्यक्तिले शुद्ध ऐलानी जग्गा हो भन्दै बेचेका थिए।
-1781445405.jpeg)
त्यसैगरी, ६४ वर्षीय शिवकुमार बानिया पनि आफ्नो घर भत्काइरहेका थिए।
२०३१ सालदेखि यहाँ बस्दै आएका बानियाले आफ्नो पुरानो घर तुलसीपुरकै मानपुर गाउँमा रहेको बताए। तत्कालीन अंचलाधिशले भनेपछि पाँच सय रूपैयाँमा यो घडेरी किनेको उनले बताए।
‘तर, आज आएर यो प्रहरीको जग्गा रहेछ भन्ने थाहा भयो,’ उनले भने, ‘अब त छोड्नु पर्ने भयो। म अब गाउँमै घर बनाउने छु।’
गाउँबाट तुलसीपुर बजार बसाउन व्यवसाय गर्न आफू आएको अब फेरि गाउँमै फर्किनु पर्ने समय आएको उनले बताए।
उनको घरदेखि उत्तर तर्फ ३३ वर्षीय मिनराज केसी पनि अब वर्षौंदेखि आफू बस्दै आएको घर-टहरा छोड्ने तरखर गरिरहेका छन्। उनकी हजुरआमा ४८ वर्ष पहिले यो ठाउँमा आएर बस्न आएको उनको भनाइ छ। त्यो बेला एक जना झुपलाल बिकसँग ५० हजारमा यो घडेरी किनेको उनले बताए।
तुलसीपुरकै बिकट मानिने पहाडी क्षेत्र तुलसीपुर-३ नाउलामा उनको पुर्खेउली घर हो।
प्रहरीले आफ्नो नामको जग्गा तत्काल खाली गर्न भन्दै जेठ २६ र २७ गते माइकिङ गरेपछि १२ वर्षीया छोरी र ७ बर्षका छोरा निकै आत्तिएको हुँदा कोठा खोजी रहेको उनले बताए। तर कोठा फेला पार्न नसकिएको उनले बताए।
‘पहिलो यो प्रहरीको जग्गा हो भन्ने थाहा थिएन। शुद्ध ऐलानी जग्गा हो भन्ने थियो,’ केसीले भने, ‘पछि बुझ्दै जाँदा फलाबाङी राजाको जग्गा अंचल अस्पताल मातहत आएको र अस्पतालले प्रहरीलाई दिएको भन्ने बल्ल थाहा भयो।’
-1781445405.jpeg)
प्रहरीले बल प्रयोग नगरी स्थानीयको भावना अनुसार तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्का र राजनीतिक दलका प्रतिनिधि लगायतसंग त्यसबारे छलफल गरेको थियो। छलफलबाट दुई परिवारको अवस्था नाजुक देखिएपछि उनीहरूको व्यवस्थापन गर्ने जिम्मा मेयर खड्काले लिएका थिए।
इप्रका तुलसीपुरका लागि महिला तथा बालबालिका भवन आवश्यक रहेको हुँदा भविष्यमा त्यस अनुरूप संरचना निर्माणका लागि पहल हुन सक्ने डिएसपी पराजुलीले बताए।
-1781445406.jpeg)