सडक किनारमा व्यापार गरेको आरोपमा टेम्पो धकेलेर भीरबाट खसालिदिएको घटना अनुसन्धान गर्न प्रहरीले ११ जना सरकारी कर्मचारी नियन्त्रणमा लिएको छ।
आइतबार दिनभरजसो जिल्ला प्रशासन कार्यालय कैलालीमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा विवाद समाधान गर्ने उद्देश्यले छलफलहरू भएका थिए। दिनभरको छलफलबाट सहमति जुट्न सकेन।
'भोलि बिहान फेरि मेयरसाहेब सहितको उपस्थितिमा दुवै पक्षका बीचमा छलफल गर्ने सहमति भएको छ,' प्रजिअ रेग्मीले भने।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी हिरासिंह महराका अनुसार त्यहाँको प्रहरी हिरासतमा चार जना सरकारी कर्मचारी राखिएका छन्।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा थप सात जना कर्मचारी राखिएका छन्।
कुल ११ जना कर्मचारी नियन्त्रणमा लिइएको प्रवक्ता तिमिल्सिनाले सेतोपाटीलाई बताए।
'नियन्त्रणमा लिइएका व्यक्तिहरू प्रमाणीकरण गर्दैछौं,' उनले भने, 'केही बेरमा विवरणहरू प्रहरीले उपलब्ध गराउने छ।'
टेम्पो धकेल्दै भीरबाट खसाल्ने मुख्य कर्मचारीको पनि पहिचान भइसकेको प्रहरी अधिकारीहरूले बताएका छन्।
'मुख्य आरोपीहरू मोबाइल स्वीच अफ गरी सम्पर्कविहीन बसेका छन्,' एक प्रहरी अधिकारीले भने, 'सरकारी कर्मचारी कति दिन त्यसरी भाग्न मिल्ला र? हामी पनि हेरौंला।'
भएको के थियो?
शुक्रबार दिउँसो कैलालीको गोदावरी नगरपालिका–४ भीमदत्त राजमार्ग अन्तर्गत पर्ने बासपानीमा डिभिजन वन कार्यालयका कर्मचारीले गोदावरीकै स्थानीय ४४ वर्षीया धनादेवी धामीको टेम्पो भीरबाट धकेलेर मुनि खसालिदिएका थिए।
धामीले आफ्नो घर नजिकै भीमदत्त राजमार्गको गाइमारे डाँडाको सडक किनारमा टेम्पो रोकेर त्यसमै पानी, चाउचाउ, बिस्कुट, अण्डा लगायत सामग्री बेचेर आफ्नो जीविकोपार्जन गर्दै आएकी थिइन्।
तर त्यसरी सडक किनारमा बसेर वन क्षेत्र अतिक्रमण गरी व्यापार गर्न नपाइने भन्दै वनका कर्मचारीले धामीको अटो आफैले धकेलेर भीरबाट खसालिदिएका थिए। वनका कर्मचारीले टेम्पो भीरबाट हुत्याउनु भन्दा पहिला त्यसमा बिक्रीका लागि राखिएका सामानहरू निकालेका थिए।
शुक्रबार दिउँसोको यो घटनाबारे शनिबार सामाजिक सञ्जालमा भिडिओ भाइरल भएपछि प्रहरीले पीडित महिलालाई बोलाएर सोधपुछ गरेको थियो।
घटनाबारे तीव्र आलोचना हुन थालेपछि डिभिजन वन कार्यालय धनगढी, कैलालीका प्रमुख रामविचारी ठाकुरसहित २० जना कर्मचारीले आइतबार बिहान संयुक्त रूपमा हस्ताक्षर गरी एउटा वक्तव्य प्रकाशित गरी आफ्नो बचाउ गर्ने प्रयास गरेका थिए।
विज्ञप्तिमा भ्रम छर्ने गरी प्रचार गरिए जसरी टेम्पो भीरबाट जानाजान नखसालिएको, बरू अतिक्रमण हटाउन बल प्रयोग गर्ने क्रममा भिरालो भौगोलिक सतह र असन्तुलनका कारण सञ्चालनमा नरहेको तथा गुड्न नसक्ने कबाड अवस्थाको टेम्पो भीरबाट खस्न पुगेको उल्लेख छ।
गोदावरी–४ स्थित गोदावरी सामुदायिक वनको गाई मारे चुरे वन क्षेत्रमा अतिक्रमण हटाउने क्रममा चक्का वा इन्जिन पूर्ण रूपमा बिग्रिएको टेम्पो खस्न पुगेको दाबी गरिएको छ। संवेदनशील र कमजोर पर्यावरणीय प्रणाली रहेको चुरे क्षेत्रमा सडक किनारको सार्वजनिक वन क्षेत्रलाई गैरकानुनी ढंगले भागवण्डा गरी भित्री रूपमा बेचबिखन गर्ने छाप्रा (खोका) निर्माण गरी सरकारी वन र जमिन कब्जा गर्ने शृङ्खला लामो समयदेखि चल्दै आएको तथा पाँच महिनापहिलेदेखि त्यो क्रम फेरि सुरू भएपछि रोक्न बल प्रयोग गर्नुपरेको विज्ञप्तिमा उल्लेख छ।
वन क्षेत्र अतिक्रमण गरी बसेका अन्य १० वटा छाप्राहरू हटाइएको भए पनि एक महिनापहिले नै टेम्पो हटाउन निर्देशन दिएको भए पनि टेम्पो सञ्चालक घनश्याम धामीले अटेर गरेको हुँदा टेम्पो आफैंले धकेलेर वनका कर्मचारीले घरसम्म पुर्याइदिएको पनि उल्लेख छ।
यो बीचमा धामीले फेरि टेम्पो पहिलेकै ठाउँमा ल्याइराखेर व्यापार गर्दै आएको र हटाउन निर्देशन दिँदा अटेर गर्दै गालीगलौजमा उत्रिएको हुँदा बल प्रयोग गरी हटाउनुपर्ने अवस्था सिर्जना भएपछि चलाउन र गुडाउन नमिल्ने टेम्पो खस्न पुगेको दाबी गरिएको छ।
धामी परिवारले भने वनका कर्मचारीले दाबी गरेजस्तो अटो चालु अवस्थामा थिएन वा कबाडजस्तै थियो भन्नु गलत भएको बताएका छन्।
गत वर्ष मात्रै छोराले टेम्पो किनेको र हाल छोराहरू छिमेकी देश भारतमा रोजगारीको खोजीमा रहेको हुँदा आफूले टेम्पो चलाउन नजाने पनि साँझ–बिहान चलाउन जान्ने मान्छेलाई डाँडासम्म पुर्याउन सहयोग मागेर व्यापार गर्दै आएको धामी परिवारको भनाइ छ।
कैलालीका प्रहरी प्रमुख एसपी नरेन्द्र चन्दले पनि भीरबाट खसालिएको टेम्पोबारे दुवै पक्षबाट आ–आफ्ना दाबीहरू आइरहेको हुँदा त्यसबारे अनुसन्धानपछि स्पष्ट खुल्ने बताएका थिए।
'धामीको परिवारले हामीले चलाउन नजाने पनि अटो चालु हालतमा थियो भनेको छ,' एसपी चन्दले भने, 'अर्कोतर्फ वनका कर्मचारीले अटो चालु हालतमा थिएन, बरू कबाडजस्तै थियो भन्ने दाबी गर्दै आएका छन्। यसबारे अनुसन्धान हुन्छ।'