विराटनगरमा मजदुरी गर्दै आएकी मनिषा कामत बुधबार दिउँसो जिल्ला प्रशासन कार्यालय मोरङ पुगिन्। उनी राष्ट्रिय परिचय पत्र बनाउनका लागि त्यहाँ पुगेकी थिइन्।
आफ्नो साथमा रहेको १०२२/३०० नम्बरको नागरिकता उनले कर्मचारीलाई दिइन्। कर्मचारीहरुले उनको नागरिकता रुजु गरे। त्यहीबेला थाहा भयो− उनको नागरिकता नै नक्कली रहेछ।
‘तपाईंको नागरिकता नै नक्कली रहेछ,’ कर्मचारीहरुले यसो भनेपछि उनी झसंग भइन्। यही कार्यालयले दिएको नागरिकता कसरी नक्कली हुन्छ भन्दै थिइन् उनी।
३० वर्षीया कामतले यसो भनिरहँदा प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल सोही ठाउँमा आइपुगे। उनले सोधपुछ गर्ने क्रममा खुल्यो− एउटा समूहले मनिषाबाट पैसा लिएर नक्कली नागरिकता थमाइदिएको रहेछ।
यही घटनापछि नक्कली नागरिकता बनाउँदै सर्वसाधारणलाई बिक्री गर्दै आएको समूह विराटनगरबाट प्रहरी फन्दामा परेको छ।
नक्कली नागरिकता बनाएर बिक्री गरेको अभियोगमा प्रहरीले विराटनगर–११ का ६५ वर्षीय अशोककुमार श्रेष्ठ र विराटनगर–५ का ३८ वर्षीय धनदेव राजवंशीलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार मनिषा कामत राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय पुगेपछि यो प्रकरणको रहस्य खुलेको थियो।
नागरिकता बनाउने प्रक्रिया नै थाहा नभएकी मनिषालाई आफूलाई प्रशासनसँग पहुँच भएको बताउने श्रेष्ठले नागरिकता बनाइदिने भन्दै प्रलोभन देखाएका थिए।
उनले मनिषा र उनका मामाको नागरिकता बनाइदिने भन्दै एक लाख ३० हजार रुपैयाँ, आवश्यक कागजात र फोटो पनि लिएका थिए। तीन दिनपछि महेन्द्रचोकमा बोलाएर उनले मनिषालाई नागरिकता पनि दिए।
सोही नागरिकता लिएर लिएर राष्ट्रिय परिचयपत्र बनाउन पुगेकी मनिषामार्फत यो घटनाको रहस्य खुलेको हो।
अनुसन्धानकै क्रममा पक्राउ परेका श्रेष्ठको साथबाट थप १० थान नक्कली नागरिकता बरामद भएको छ।
श्रेष्ठ पक्राउ परेलगत्तै अन्य दुई व्यक्तिले पनि आफ्नो नागरिकता उनैले बनाइदिएको भन्दै प्रशासनको सम्पर्कमा पुगेका हुन्।
प्रहरीले नियन्त्रणमा लिएको नागरिकतामा नेपाल सरकारको होलोग्राम, प्रशासनको छाप, जारी गर्ने अधिकृतको हस्ताक्षर तथा लेमिनेसनसमेत सक्कलीसरह रहेको पाइएको छ।
२०६८ देखि २०८२ सालसम्मको मितिमा जारी भएका नागरिकता नम्बर उल्लेख गरिएको प्रहरीले जनाएको छ ।
अनुसन्धानका क्रममा श्रेष्ठसँगको सम्बन्ध खुलेपछि विराटनगर–५ स्थित न्यू डोली फोटो सर्भिसेज सञ्चालन गर्दै आएका धनदेव राजवंशी पनि पक्राउ परेका छन्।
राजवंशीकै स्टुडियोमा नक्कली नागरिकता छाप्ने गरिएको प्रहरीले अनुसन्धानका क्रममा फेला पारेको जनाएको छ।
जन्मदर्ता फाराम, नागरिकता आवेदन, राष्ट्रिय परिचयपत्रका फाराम तथा वडा कार्यालयमा नागरिकता सिफारिसका लागि लेखिएका निवेदन लगायतका सरकारी कागजातसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।