राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक सुनिल पौडेललाई घुस लिएको मुद्दामा आठ वर्ष ६ महिना कैद सजाय भएको छ।
केन्द्रका लागि ‘सेक्युरिटी अप्लायन्स र नेटवर्क इक्विपमेन्ट’ को खरिद गर्दा २ लाख ८० हजार अमेरिकी डलर बराबर घुस लिएको मुद्दामा विशेष अदालतले पौडेललाई विशेष अदालतले दोषी ठहर गर्दै आठ वर्ष कैद सजाय सुनाएको हो।
उक्त रकम नेपाली रूपैयाँ अनुसार ३ करोड ८ लाख ५० हजार ४०० रुपैयाँ हुन्छ।
न्यायाधीशहरू सुदर्शनदेव भट्ट, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले बिहीबार उनलाई सजाय निर्धारण गरेको हो।
उनले प्रविधि केन्द्रमा कार्यकारी निर्देशक हुँदा घुस लिएको भन्दै इजलासले थप ६ महिना कैद सजाय सुनाएको हो।
अदालतले पौडेलसँगै घुस दिने कार्यमा संलग्न दिपक आनन्दलाई पनि दोषी ठहर गरेको छ। आनन्द भारतीय नागरिक हुन्।
दुई जनाविरूद्ध कायम भएको ३ करोड ८ लाख ५० हजार ४०० रुपैयाँको दामासाही हुने जनही एक करोड ५४ लाख २५ हजार २०० रुपैयाँ जरिवाना हुने फैसला भएको हो।
त्यस्तै उनीहरूबाट ६ लाख १७ हजार ८ रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्न आदेश गरेको छ।
यसरी घुस रकम लिएको घटनामा दुई जनाबीच लेनदेनबारे कुराकानी भएको प्रमाण फेला परे पनि पैसा बरामद हुन सकेको थिएन।
यो मुद्दामा फैसलाको पूर्णपाठ भने आउन बाँकी छ।
यो पनि: तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलले यसरी मागेका थिए घुस
यसअघि विशेष अदालतले मंगलबार (असार ३०) गते गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको कसुरमा उनलाई साढे २ वर्षको कैद सजाय सुनाएको थियो। उनी नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशकको रूपमा रहँदा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको भन्दै उक्त सजाय सुनाएको थियो।
गैरकानुनी सम्पत्ति आर्जनको तर्फबाट दुई वर्ष र प्रबन्ध निर्देशकको हैसियतमा रहेर उक्त कार्य गरेको भन्दै थप ६ महिना कैद सजाय सुनाएको हो। १२ करोड ७५ लाख ७० हजार २३७ रुपैयाँ बराबरको सम्पत्ति जफत गर्न आदेश गरेको थियो।
साथै उनीबाट क्षतिपूर्तिस्वरू ५१ लाख २ हजार ८०९ रुपैयाँ असुल गरी पीडित राहत कोषमा जम्मा गर्न आदेश गरेको थियो।
त्यसैगरी असार २५ गते विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्कापट्टामा भ्रष्टाचार मुद्दा लागेका पौडेल सहित १८ जनाले नै सफाइ पाएका थिए।
नेपाल टेलिकमलाई गैरकानुनी हानी नोक्सानी पुर्याउने वा आफूलाई लाभ पुर्याउने बदनियत काम गरेको पुष्टि नभएको अदालतको भनाइ छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०८२ जेठ २५ गते सुनिल पौडेल सहित १८ जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
अख्तियारले १८ जनाविरूद्ध ३३ करोड ४८ लाख १७ हजार ४३० रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको थियो।
पौडेल मुछिएका केही मुद्दामा अझै फैसला हुन बाँकी छ।
यो पनि:नेपाल टेलिकमको बिलिङ भ्रष्टाचार मुद्दा: सुनिल पौडेल सहित १८ जनाले पाए सफाइ