अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का तत्कालीन महानिर्देशक प्रदीप अधिकारी विरूद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ।
अख्तियारले मंगलबार १ करोड ७१ लाख रुपैयाँ भ्रष्टाचार भएको भन्दै प्रदीप सहित २ जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
प्रदीपले ठेक्कापट्टा स्वीकृति, रेखदेख र भुक्तानीमा सहजीकरण गरिदिएबापत गायत्री निर्माण सेवाका प्रमुख प्रेम प्रकाश ढकाल समेतबाट रु. १ करोड ७१ लाख घुस लिएको अख्तियारका प्रवक्त सुरेश न्यौपानेले जानकारी दिए।
उनका अनुसार अनुसन्धानका क्रममा प्रदीपले गैरकानुनी स्रोतको रकम लुकाउने र रूपान्तरण गर्ने बदनियतले ललितपुर महानगरपालिका-५ (क्ष) स्थित १३ आना जग्गा श्रीमतीको नाममा खरिद गरेको पाइएको छ।
जग्गाको राजीनामा लिखतमा ९१ लाख मात्र कायम गरी वास्तविक कारोबार लुकाउन खोजिएको र बाँकी थप रकम रु. १ करोड ७१ लाख विभिन्न बैंक खाताहरू प्रयोग गरी वैधानिक देखाउने प्रयास गरेर सम्पत्ति शुद्धीकरणको समेत कसुर गरेको अख्तियारको आरोप छ।
प्रदीपलाई अख्तियारले १ करोड ७१ लाख रुपैयाँ जरिवाना र राष्ट्रसेवक भएकाले थप सजायको मागदाबी गरेको छ।
साथै सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ अनुसार थप सजाय र घुसको रकमबाट खरिद गरिएको ललितपुरस्थित १३ आना जग्गा जफत गर्न माग गरिएको छ।