नागरिकता, लालपुर्जा तथा भारतसँगको सीमा विवादका कारण चर्चामा आइरहने पश्चिम नवलपरासीको सुस्तामा नेपाल प्रहरीको लुम्बिनी प्रदेश प्रमुख सहितको टोलीले निरीक्षण गरेको छ।
स्थानीय अगुवा सहितको टोलीले असार १७ गते गृहमन्त्री सुधन गुरूङलाई भेटेर नागरिकता, लालपुर्जा तथा सीमा समस्याबारे जानकारी गराएपछि गृह मन्त्रालयले स्थानीय सुरक्षा निकायलाई परिपत्र गरेको थियो।
सोही परिपत्रअनुसार लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्र बहादुर खत्री सहितको टोलीले सुस्ताको निरीक्षण गरेको हो।
प्रहरी नायब महानिरीक्षक खत्री सहित प्रहरी तालिम केन्द्र बुटवलका समादेशक दयानिधि ज्ञवाली, जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक राम बहादुर केसी, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी उपरीक्षक निशान राना, प्रहरी विशेष सुरक्षा गण नवलपरासीका प्रहरी उपरीक्षक डिबी मल्ल लगायतको टोली सुस्ता पुगेको थियो।
उक्त टोलीले सीमा क्षेत्रको अवस्था, स्थानीयको सुरक्षा, नागरिकता, भूमि व्यवस्थापन तथा आवश्यक संरचना निर्माणका विषयमा स्थानीयसँग जानकारी लिएको थियो।
प्रहरी नायब महानिरीक्षक खत्रीले स्थानीयको समस्या समाधानका लागि सम्बन्धित मन्त्रालयमा जानकारी गराउने बताए।
प्रहरी नायब महानिरीक्षक खत्रीले स्थानीयमा वर्षाको समयमा बस्तीमा डुबान हुनुको साथै शिक्षा र स्वास्थ्यको समेत समस्या देखिएको तथा शान्ति सुरक्षाको अवस्थालाई मजबुत बनाउनेतर्फ आफूहरू सचेत रहेको बताए।
प्रहरी नायब महानिरीक्षक खत्रीका अनुसार नेपाल प्रहरीको डिआइजी तहको टोली पहिलो पटक सुस्तामा पुगेको हो।