दैलेखमा आमा-छोराको मृत्यु भएको छ।
चामुण्डा बिन्द्रासैनी नगरपालिका-९ खाडाका २७ वर्षीया कमला रावल र उनकी ९ वर्षीय छोरा आयुष रावलको मृत्यु भएको हो।
आयुषको तीन दिन अगाडि मृत्यु भएको थियो। बुधबार बिहान ६:२५ बजे कमलाको पनि उपचार क्रममा कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको सुर्खेतका प्रहरी प्रवक्ता डिएसपी कविन्द्रसिंह बोहराले जानकारी दिए।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार साउन ३ गते राति सकुशल सुतेका आमा छोरा भोलिपल्ट उठ्दा शरीर झमझमाउने र रिंगटा लाग्ने भएपछि नजिककै मेडिकलमा गएका थिए।
उपचार गराउन लैजादा लैँजादै आयुषको बिहान ९ बजे बाटैमा मृत्यु भएको थियो।
उनीहरुलाई सर्पले डसेको जस्तो लक्षण देखिएको मेडिकलका डाक्टरले परीक्षणपछि जानकारी गराएका थिए।
त्यसपछि कमलालाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल लगिएको थियो। उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिरहेकोमा बुधबार बिहान मृत्यु भएको हो।
बालक आयुषको भने दाहसंस्कार समेत भइसकेको र घटनाबारे थप बुझ्ने काम भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।