नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ।
नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टीलगायतका वामपन्थी दलहरूले विविध कार्यक्रम गरी दिवस मनाउन लागेका छन्।
विसं १९८१ असार १५ गते रामेछापमा पिता भक्तलाल र आमा तुलसीकुमारीका माहिला छोराका रूपमा जन्मिएका पुष्पलालले प्रवासमा बसेर नेकपाका गतिविधि अगाडि बढाएका थिए। उनी सहिद गंगालालको भाइ थिए।
पुष्पलालले कार्लमार्क्स र फेडरिक एङगेल्सद्वारा लिखित ‘कम्युनिस्ट मेनिफेस्टो’ को पहिलो पटक नेपाली भाषामा अनुवाद गर्नुका साथै विभिन्न कृति र लेखमार्फत नेपाली समाजको वर्ग विश्लेषण गरेका थिए।
विसं २००६ वैशाखमा निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर उनले भारतको कोलकातामा नेकपा स्थापना गरेका थिए।
नेकपा स्थापना गर्नुअघि विसं १९९८ मा उनले प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र रामराजासँग मिलेर नेपाली प्रजातान्त्रिक संघ गठन गरेका थिए।
नेपाली कांग्रेसलगायत प्रजातान्त्रिक शक्तिसँग मिलेर संयुक्त जनआन्दोलन गरी पञ्चायती व्यवस्था परास्त गर्नुपर्छ भन्ने मत राखेका थिए। उनको विसं २०३५ साउन ७ गते भारतको नयाँदिल्लीमा उपचारका क्रममा निधन भएको थियो।