कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीलाई मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनसम्बन्धी गठित समिति (टास्क फोर्स) ले अन्तरिम प्रतिवेदन बुझाएको छ।
प्रतिवेदन बुझ्दै बुधबार उनले देशका विभिन्न जिल्लामा बाँदरका कारण किसानले भोगिरहेका समस्या अत्यन्त गम्भीर बन्दै गएको उल्लेख गर्दै यसको दीर्घकालीन र व्यावहारिक समाधान खोज्न सरकार प्रतिबद्ध रहेको बताए।
उनले बाँदरका कारण बाली नष्ट हुने, किसान विस्थापित हुने तथा कृषि उत्पादनमै प्रत्यक्ष असर परेको विषयलाई प्राथमिकताका साथ उठाउँदै उक्त समस्यालाई केवल वन्यजन्तु संरक्षणको दृष्टिले मात्र नभई किसानको जीविकोपार्जन र खाद्य सुरक्षासँग जोडिएको राष्ट्रिय मुद्दाका रूपमा हेर्नुपर्ने धारणा राखे।
मन्त्री चौधरीले टास्क फोर्सलाई बाँदर व्यवस्थापनका लागि वैज्ञानिक, कानुनी तथा व्यावहारिक उपाय समेटिएको स्पष्ट कार्ययोजना तयार गर्न निर्देशन दिए।
साथै प्रभावित क्षेत्रको वास्तविक अवस्था अध्ययन गरी स्थानीय तह, सरोकारवाला निकाय, विज्ञ तथा समुदायसँग समन्वय गरेर कार्यान्वयनयोग्य समाधान अघि बढाउनुपर्नेमा जोड दिए।
बैठकमा टास्क फोर्सले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि तयार पारिएको अन्तरिम प्रतिवेदन पेस गर्दै बाँदरसहित अन्य वन्यजन्तुबाट हुने क्षति न्यूनीकरण, क्षतिपूर्ति प्रणाली सुधार, जनचेतना अभिवृद्धि तथा दीर्घकालीन व्यवस्थापनका विभिन्न सुझाव प्रस्तुत गरेको थियो।