प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बाहिर विरोध प्रदर्शन गर्न पुगेका दुई जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बिनु यादव र निहारिका राजपूतलाई प्रहरीले निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
उनकाअनुसार दुवैले प्रधानमन्त्री बालेन्द्र शाहको सवारी हुन लागेको बेलामा कालो कपडा लगाएर विरोध जनाउन पुगेका थिए।
जबरजस्ती करणीको मुद्दालाई प्रहरीले मिलाउन खोजेर अनुसन्धान कमजोर पारेको भन्दै त्यसमा संलग्न प्रहरीलाई कारबाही गर्न माग गर्दै यादव आन्दोलनमा छिन्।
राजपूतले पनि आफूमाथि श्रीमानले कुटपिट गरी यातना दिने गरेको भन्दै त्यसबारे सरकारलाई कुरा सुनाउने भन्दै आन्दोलित छन्।
उनीहरू दुवैले यसअघि गृहमन्त्री सुधन गुरूङलाई भेट्न समय माग गर्दै सिंहदरबार अगाडि प्रदर्शन गरेका थिए।