राष्ट्रिय योग्यता परीक्षा (नीट) मा भएको धाँधलीका कारण सयौं विद्यार्थीले आत्महत्या गर्नुपरेको भन्दै कक्रोच जनता पार्टी (सिजेपी) ले सुरू गरेको आन्दोलनमा बलिउड कलाकारहरू पनि सहभागी हुन थालेका छन्।
देशव्यापी बन्दै गएको विद्यार्थी आन्दोलन क्रममा बिहीबार मुम्बईमा भएको प्रदर्शनमा थुप्रै बलिउड कलाकारले सहभागिता जनाएका हुन्।
कतिपय कलाकार आन्दोलन स्थलमा प्रत्यक्ष सहभागी भएका छन् भने कतिपयले सामाजिक सञ्जालमार्फत आफ्नो ऐक्यबद्धता जाहेर गरेका छन्।
आन्दोलनमा प्रत्यक्ष सहभागी हुनेमा शबाना आजमी, प्रकाश राज, सकिब सलिम लगायत छन्। उनीहरू दिल्लीको जन्तर-मन्तर नै पुगेर आन्दोलनमा सहभागी भएका थिए। त्यस्तै, हुमा कुरेसी, इमरान खान, रफ्तार लगायतले मुम्बईको प्रदर्शनमा भाग लिए।
त्यस्तै, सलमान खान, सोनाक्षी सिन्हा, आलिया भट्ट, आर माधवन, रितेश देशमुख लगायतले सामाजिक सञ्जालमार्फत ऐक्यबद्धता जनाए।
उनीहरूले प्रहरीबाट विद्यार्थीमाथि भएको दमनको विरोध गरेका छन्।
'शान्तिपूर्ण आन्दोलन थियो, तर हिंसात्मक हुन पुगेकोमा निकै दु:खी छु। घाइते भएका विद्यार्थीहरू र उनीहरूका परिवारप्रति मेरो गहिरो सहानुभूति छ,' सलमान खानले सामाजिक सञ्जालमा लेखेका छन्, 'प्रश्नपत्र चुहावट अत्यन्त गम्भीर समस्या हो। हाम्रो देशका विद्यार्थीहरू राम्रो शैक्षिक प्रणालीको माग गर्दै एकजुट भएको र उनीहरूलाई अभिभावकले पनि साथ दिएको देखेर खुसी लागेको छ।'
त्यसैगरी आलिया भट्टले पनि 'भविष्य निर्धारण गर्ने विद्यार्थीको आवाज सुनिरहेका छौं?' भनेर प्रश्न गरेका छन्।
'उनीहरूको साहसप्रति म नतमस्तक छु। उनीहरूको दृढ संकल्पले हामी सबैसामु एउटा प्रश्न खडा गरेको छ,' उनले लेखेकी छन्, 'के हामी साँच्चै ती मानिसहरूको आवाज सुनिरहेका छौं, जसले भोलिको भारत निर्माण गर्ने र त्यसको भविष्य निर्धारण गर्नेछन्?’
२५ दिनदेखि अनसनमा बसिरहेका सोनम वाङचुकलाई प्रहरीले उठाएर लगेपछि सोनाक्षी सिन्हाले सामाजिक सञ्जालमा भिडिओ नै राखेर विरोध गरेकी थिइन्। बलिउड कलाकारहरूमध्ये सबभन्दा पहिले उनले विरोध जनाएकी हुन्।
'आज सोनम सरलाई जे भयो, त्यो सही थिएन। उहाँ सुरक्षित हुनुहुन्छ र उहाँकी श्रीमती उहाँसँग हुनुहुन्छ भन्ने थाहा पाउँदा मलाई राहत मिल्यो। उहाँ बलियो हुनुहुन्छ, पूर्ण रूपमा सचेत हुनुहुन्छ। पछिल्ला केही दिनदेखि मैले उहाँलाई र उहाँसँग दृढतापूर्वक उभिएका हजारौं मानिसलाई देख्दै आएको छु,' उनले भनेकी थिइन्।
कमल हासनले पनि सामाजिक सञ्जालमार्फत आन्दोलनमा समर्थन जनाएका छन्।