बाजुरामा भारी बर्षाका कारण मध्यराति पहिरोले सेलागाड खोला थुनिएपछि बस्तिमा बाढी बसेको छ।
बिहान साढे ३ बजेतिर जिल्लाको बाजुरा बडिमालिका नगरपालिका–९ सेलागाडमा वर्षापछि घर माथिबाट झरेको पहिरोले सेलागाड खोला थुनिएर बस्तिमा पसेपछि उद्धारका लागि प्रहरी पुगेको थियो।
बाढी पसेपछि बस्तीका १६ घर परिवार जोखिममा परेका छन्। तीन घर परिवार विस्थापित भएका छन्।
जिल्लाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार पहिरोले खोला थुनिएर स्थानीयको घरमा बाढी पसेपछि तीन परिवारको घर बस्ने नमिल्ने अवस्थामा पुगेका छन्।
तीन परिवारका २२ जना खुल्ला ठाउँमा बसिरहेका छन्। त्यस्तै थप १३ घर धुरी जोखिममा परेपछि ती परिवारका ८३ जना घर बाहिरै बसेका छन्।
शुक्रबार बिहानीपख झरेको पहिरोले खोला थुनिएर घरमा पानी पसेपछि आत्तिएर स्थानीय ३० वर्षीया एक महिला बेहोस भएकी थिइन्। प्रहरी निरीक्षक शाहीका अनुसार जिल्ला अस्पतालको उपचारपछि अहिले उनको होस खुलेको छ।
बाढीले बडिमालिका नगरपालिका – ८ राप्काको टोड्के सिंचाई आयोजनामा क्षति पुर्याएको छ। सिंचाई आयोजनाको २५ मिटर पक्की नहर र २३० मिटर प्लाष्टिक पाइप बगाइ दिएको छ।
बस्तीमा बाढी पसेको खबरपछि जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी सैलेश्वरी बोहरासहित सशस्त्र प्रहरी बल नेपाल हेड क्वाटर बाजुराबाट खटिएको टोली बस्तीमा पुगेर स्थानीयलाई सहयोग गरेको थियो।
स्थानीयका सामान निकाल्न, ओसार्न र उनीहरुलाई सुरक्षित स्थानमा पठाउन प्रहरीले सघाएको थियो।
प्रहरी निरीक्षक शाहीका अनुसार खोलामा बाढी आएपछि स्थानीय जागै बसेर एक अर्कालाई खबरदारी गरेका कारण मानवीय तथा चौपायाको क्षति हुन पाएन।