अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल!
देख्दै जिरिङ्ग हुने पुलमा दैनिक सयौँ पर्यटक आवतजावत गर्छन्।
बागलुङको बलेवा र पर्वतको कुश्मा बजार जोडेको पुल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ।
यो पुलबाट बञ्जी जम्प सञ्चालन भइरहेको छ।
साहसिक पर्यटकका लागि उत्कृष्ट गन्तव्यका लागि चर्चित बन्दै गएको बञ्जीमा यतिबेला चहलपहल बढेको छ।
कालीगण्डकी नदीमाथि निर्माण भएको विश्वकै दोस्रो अग्लो दाबी गरिएको बञ्जी २०७७ कार्तिकदेखि संचालनमा आएको थियो।
बञ्जी संचालनमा आएपछि कुश्मा बजार र बलेवामा पर्यटकीय चहलपहल ह्वात्तै बढेको छ। द क्लिफ प्रालिको करोडौं लगानीमा संचालनमा आएको बञ्जीसँगै स्विङ, स्काइ साइक्लिङ, रिसोर्ट, मेघा ट्रोल संचालन गरिएको छ।
बञ्जीले दुई जिल्ला जोडेको भए पनि ९० प्रतिशत बढी संरचना बागलुङमा बनेका छन्।
बञ्जी सहितका संरचना निर्माण गर्दा हालसम्म ९० करोड बढी लगानी गरेको द क्लिफका म्यानेजर सफल थापाले जानकारी दिए।
द क्लिफले बञ्जीसँगै अन्य संरचना बढाउँदै गएपछि पर्यटकको आकर्षण बढेको उनको भनाइ छ। पछिल्लो समय दैनिक ३ सय आसपास स्वदेशी तथा विदेशी पर्यट आउने गरेका छन्।
दैनिक ५० जनालाई बञ्जी गराउन सक्ने क्षमता रहेको सुनाउँदै पर्यटक बढी हुँदा पालोअनुसार बञ्जी गराउनु परेको म्यानेजर थापाले बताए। उनकाअनुसार नेपालीसँगै भारती, बङ्गाली र यूरोपका विभिन्न देशबाट आउने पर्यटकको संख्या बढी छन्।
‘अहिले पनि दसैँको बिदा मनाउन पर्यटक यहाँ आएको पाएका छौं। दैनिक सयौंको संख्यामा आउने पर्यटकले बञ्जी जम्पको पुल र रिसोर्ट क्षेत्र भरिभराउ नै हुन्छ। रिसोर्टमा बास बस्न आउनेको संख्या पनि ठूलो छ,’ उनले भने।
२०७३ सालदेखि बञ्जीका लागि पुलको निर्माण सुरू गरिएको थियो भने २०७६ सालसम्म आइपुग्दा रिसोर्टसमेत निर्माण सकिएको थियो।
५२५ मिटर लामो पुल कालीगण्डकी नदीदेखि २२८ मिटर अग्लो छ। कम्पनीले विश्वकै दोस्रो अग्लो बन्जी र विश्वकै अग्लो स्विङ भएको दाबी गर्दै आएको छ।
बञ्जी गर्ने युवादेखि वृद्धसम्म हुन्छन्।
कतिपयले एकपटक बञ्जी गर्दा धित मार्छन् भने कतिपयले पटक–पटक गर्दा पनि धित नमरेको बताउँछन्। दक्षिण भारतबाट आएका भरत दासले यहाँको जत्तिको अग्लो बञ्जी आफूले अहिलेसम्म नदेखेको सुनाए।
मुक्तिनाथ दर्शन गरेर फर्किएका दासले दुई दिन बञ्जीसहित बागलुङ पर्वतको विभिन्न क्षेत्रमा घुमेको सुनाए। ‘यो बञ्जी निकै खतरनाक छ। म त देख्दै अचम्मित भएँ। बञ्जी गर्ने आँट आएन तर अरुले निकै हिम्मतका साथ गरेको देख्दा मलाई निकै रमाइलो लाग्यो,’ दासले अनुभव सुनाए।
काठमाडौँ बौद्धबाट घुम्न आएका राजु नगरकोटीले कालीगण्डकीको समिपमा बनेको बञ्जी जम्पले आफूलाई प्रफुल्लित बनाएको बताए।
अरूले बञ्जी गरेको फोटो–भिडियो सामाजिक सञ्जालमा देखेको र आफूले गर्दा निकै रमाइलो अनुभव भएको उनले सुनाए।
‘ढोरपाटनबाट फर्किएर यहाँ आएका हौँ, बञ्जी गर्दा सुरुमा निकै डर लागेको थियो। तर हाम फालेपछि तल पुग्दा निकै रमाइलो हुँदो रहेछ। फेरि एक पटक बञ्जी गर्ने रहर लागेको छ,’ उनले भने।
तस्बिरहरूः
-ink-1793165591.jpeg)
-ink-1793165591.jpeg)
-ink-1793165591.jpeg)
-ink-1793165589.jpeg)
-ink-1793165590.jpeg)
-ink-1793165590.jpeg)
-ink-1793165590.jpeg)
-ink-1793165590.jpeg)
-ink-1793165590.jpeg)
-ink-1793165590.jpeg)
-ink-1793165589.jpeg)
-ink-1793165589.jpeg)
-ink-1793165589.jpeg)
-ink-1793165589.jpeg)
-ink-1793165589.jpeg)
-ink-1793165589.jpeg)
-ink-1793165589.jpeg)
-ink-1793165591.jpeg)
तस्बिर : डम्मर बुढामगर/नेपाल फोटो लाइब्रेरी