छङ्गाछुर भिरसँगै नदी किनारको सानो टापुमा एउटा कुकुर १२ दिनदेखि फसेको छ।
यो गोरखाको बूढीगण्डकी नदी टापुको घटना हो। चुमनुब्री गाउँपालिका ३ जगत र धार्चे गाउँपालिका १ ठाडो भर्याङको सीमा क्षेत्रको जगत बगरपारि टापुमा कुकुर उद्धारको पर्खाइमा छ।
स्थानीय वीरबल घलेका अनुसार यो कुकुर ठाडो भर्याङका कमल कार्कीले पाल्दै आएका थिए।
‘कमल कार्कीजीको घरको कुकुर हो, भागेर जंगलतिर गएको थियो, अहिले बूढीगण्डकीमा फसेछ, कुकुर त पानीमा पौडिनुपर्ने हो, किन पौडन सकेन, १२ दिन भइसक्यो, भोकै छ,’ घलेले सेतोपाटीसँग भने।
मनासलु पदमार्गमा आउजाउ गर्नेहरूले नदीको टापुमा यो कुकुर देखेको १२ दिन भइसक्यो।
‘यो कुकुर उद्धार गर्नुपर्नेछ, धेरै ठूलो केही गर्नुपर्दैन, त्यहाँसम्म सडक मर्मत हुँदैछ, गाडी गइराखेको छ, सुरक्षाकर्मीहरूसँग डुंगाहरू हुन सक्छ, डुंगामार्फत् उद्धार गरिदिए हुन्थ्यो,’ उनले भने, ‘हेलिकप्टरबाट उद्धार गर्न खर्च धेरै लाग्छ।’
जगत बगर पारिपट्टी नदीको टापुमा कुकुर फसेको हो।
‘त्यहाँ कुकुर देखिएको छ, आसपास बाख्राहरू पनि फसेका छन्,’ उनले भने, ‘कति बाख्रा त असोज २५ को बाढीले बगायो होला, केही बाख्रा वनतिर चरिरहेको देखिएको छ।’
स्थानीयहरूले बाख्रालगायत घरपालुवा पशुचौपाया पनि उद्धार गरिदिन आग्रह गरेका छन्।
यस घटनाबारे जानकार स्थानीय कुशल घलेका अनुसार कुकुरले बूढीगण्डकीका भंगालो पार गर्न सकेको छैन। ‘यो कुकुर वारि आउन सकेको छैन, भोकै छ, कृपया उद्धार गरिदिनुहोला,’ उनको अपिल छ।
कुकुर भएको टापुसम्म खानेकुरा पठाउन सकिन्छ कि भनेर स्थानीयहरूले प्रयास गरेका थिए तर सफल भएन। ‘साथीहरूले वारिबाट खानेकुरा फालेका रहेछन् तर कुकुर भएको ठाउँसम्म पुगेन,’ उनले भने।
उनकाअनुसार यहाँको भूगोल हेर्दा हेलिकप्टरबाट खानेकुरा झार्न वा अवतरण गरी कुकुर उद्धार गर्न सकिने देखिन्छ।
पर्यटन व्यवसायीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी चुमनुब्री गाउँपालिका अध्यक्ष धावा ग्याल्जेन लामाले बूढीगण्डकीमा फसेको कुकुरको फोटोहरू सामाजिक सञ्जालमा राख्दै उद्धार अपिल र पहल गरेका छन्।
‘हरेक जीवन अमूल्य छ, प्राकृतिक विपत्तिमा जनावरहरू पनि पीडित हुन्छन्। आउनुहोस्, मानवीय भावना देखाउँदै यो निर्दोष प्राणीको जीवन बचाऔँ,’ उनको अपिल छ।
उनले कुकुर भएको ठाउँमा आजै खाना खसाल्ने प्रयास गरिएको बताए।
‘सम्भव भएसम्म कुकुर भएको ठाउँमा कैलास हेलिकप्टरमार्फत् आज खानेकुरा खसाल्ने प्रयास हुनेछ,’ उनले भने।
बूढीगण्डकीमा लेदोसहितको बाढी गएको आज १७ दिन भयो। बाढीले घरटहरा, पुल, सडक, पदमार्गलगायत संरचना बगाएकोमा मर्मत जारी छ।