विराटनगरको एकीकृत भन्सार जाँचचौकी (आइसिपी) छेउमा रहेको नेपाल कस्टम यार्ड (एनसिवाई) मा अहिले एउटा अनौठो अवस्था छ।
भारतबाट रेलमा सामान ल्याउन सकिन्छ। तर, रेलबाट झारिएका कन्टेनर सुरक्षित रूपमा राख्न र ओसारपसार गर्न बनाइएको पूर्वाधार भने बिग्रिन थालेको छ।
रेल आउन थालेको छोटो समयमै पूर्वाधार भत्किन थालेपछि सरोकारवालाहरूले सम्बद्ध पक्षको ध्यानाकर्षण गराएकै पनि डेढ महिना बितिसकेको छ। यद्यपि अहिलेसम्म मर्मतमा चासो भने कसैले देखाएको छैन।
यार्ड सञ्चालनको ठेक्का लिएको ट्रान्स नेपालका प्रबन्धक मोहम्मद आलमका अनुसार कार्गो रेल सञ्चालनका लागि बनाइएको संरचना प्रयोगमा आएको केही समयमै यस्तो अवस्थामा पुगेको हो। यार्डको कालोपत्रे ठाउँठाउँमा उप्किएको छ।
‘कतिपय भागमा दुई फिटसम्म गहिरा खाल्डा परेका छन्,’ उनले भने, ‘पानी जम्ने गरी सतह भासिँदा भारी कन्टेनर उठाउने रिच स्टेकर चलाउन समेत कठिन भएको छ।’
यसले कन्टेनर ओसार्न प्रयोग हुने भारी उपकरण चलाउनै जोखिम बढेको छ। भन्सार जाँचचौकी जोड्ने सडक र बोरामा सामान राख्ने प्लेटफर्म समेत भत्किन थालेका छन्।
यार्डमा देखिएको समस्या सामान्य मर्मत गरेर टार्न सकिने खालको मात्र नरहेको सञ्चालनको ठेक्का लिएको ट्रान्स नेपाल टिआरएस लोजीपार्कको भनाइ छ।
कम्पनीका अनुसार कन्टेनर राख्ने ठाउँ, सडक र ब्यागेज कार्गो प्लेटफर्मको अवस्था बिग्रिएकाले सामान ओसारपसारको काम नै प्रभावित हुने जोखिम छ।
यहाँको क्षतिग्रस्त संरचना कसले मर्मत गर्ने भन्ने टुंगो समेत अहिलेसम्म लागेको छैन।
यार्ड सञ्चालनमा संलग्न नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड र रेलवे बोर्ड नेपालले मर्मतको जिम्मेवारी एकअर्काको भएको बताएका छन्।
एउटा निकायले संरचना आफ्नो स्वामित्वमा नरहेको बताउँछ भने अर्कोले हस्तान्तरण भइसकेकाले सञ्चालन गर्ने संस्थाले नै मर्मत गर्नुपर्ने दाबी गरिरहेको छ।
यसले यार्डको भौतिक अवस्थासँगै यसको सञ्चालन व्यवस्थापनमाथि पनि प्रश्न उठाएको ट्रान्स नेपालको भनाइ छ।
एनसिवाईमा रेलबाट आउने कन्टेनर अनलोड गर्न ७० टन क्षमताको रिच स्टेकर प्रयोग हुन्छ। यो उपकरणले रेलबाट कन्टेनर उठाउने, यार्डमा राख्ने र आवश्यकताअनुसार अर्को ठाउँमा सार्ने काम गर्छ। कन्टेनर एकमाथि अर्को राख्दा एउटै स्थानमा करिब एक सय टनसम्म भार पर्ने भएकाले यार्डको सतह बलियो हुनुपर्ने हुन्छ।

अहिले यार्डको कालोपत्रे उप्किएर कतिपय ठाउँमा गहिरा खाल्डा परेका छन्। केही भागमा पानी जम्ने गरी जमिन भासिएको छ।
यस्तो अवस्थामा भारी उपकरण चलाउँदा त्यसको पांग्रा खाल्डामा पर्ने, उपकरणको सन्तुलन बिग्रने वा उपकरण नै भासिने जोखिम रहने कम्पनीको भनाइ छ।
ट्रान्स नेपालका प्रबन्धक आलमका अनुसार यार्डको अवस्थाले कन्टेनर अनलोड गर्ने काम जोखिमपूर्ण बनाएको छ। उपकरण बिग्रिएमा वा दुर्घटनामा परेमा त्यसले सञ्चालनमा अवरोध ल्याउनुका साथै ठूलो आर्थिक क्षति पनि निम्त्याउन सक्छ।
‘भत्किएर क्षतविक्षत भएको यार्डमा रिच स्टेकर नलैजाऊँ, कन्टेनरको अनलोड र ह्यान्डलिङ हुन सक्दैन,’ उनले भने, ‘रिच स्टेकर यार्डमा राख्दा कहाँनेर भासिने हो वा कुन खाल्टामा परेर पल्टिने हो भन्ने डर छ। रिच स्टेकर भास्सियो वा पल्टियो भने ठूलो क्षति बेहोर्नुपर्छ।’
कार्गो रेलबाट सामान ल्याउने व्यवस्थामा रेल आइपुगेपछि त्यसबाट कन्टेनर उतारेर सुरक्षित ठाउँमा राख्न र आवश्यकताअनुसार भन्सार जाँचचौकी वा गन्तव्यसम्म पठाउन सक्नुपर्छ। त्यसका लागि यार्डको सतहले भारी उपकरण र कन्टेनरको भार धान्नुपर्ने कम्पनीको भनाइ छ।
यार्ड नै भासिएको अवस्थामा रेलबाट सामान आइपुगे पनि त्यसलाई सहज रूपमा व्यवस्थापन गर्न कठिन हुन्छ।
एनसिवाईमा देखिएको क्षतिले यही आधारभूत कामलाई जोखिममा पारेको छ। रेलको आवागमन बढ्दै गएमा कन्टेनरको चाप पनि बढ्न सक्छ। तर यार्डको मर्मत नभएमा उपकरण सञ्चालन र कन्टेनर व्यवस्थापन दुवै प्रभावित हुने जोखिम रहन्छ।
ट्रान्स नेपालका मुख्य व्यवस्थापक लक्ष्मी सुब्बाले यार्ड निर्माणकै क्रममा गुणस्तरमा ध्यान नदिइएको दाबी गरेका छन्।
उनका अनुसार यार्डमा माटो पुर्ने काम राम्रोसँग नगरी त्यसको सतहमा कालोपत्रे गरिएको थियो। माटो पर्याप्त रूपमा दबाएर बलियो नबनाउँदा माथिको सतहले भारी भार धान्न नसकेको उनको भनाइ छ।
उनले कालोपत्रे गर्न प्रयोग गरिएको बिटुमिनको गुणस्तरमाथि पनि प्रश्न उठाएका छन्।
सुब्बाका अनुसार कार्गो यार्ड निर्माण गर्दा जमिनको तल्लो तहदेखि नै भार धान्न सक्ने संरचना तयार गर्नुपर्छ। तर एनसिवाईमा निर्माणका क्रममा प्रयोग गरिएका सामग्री र अपनाइएको विधि कमजोर रहेको उनको भनाइ छ।
यार्ड सञ्चालनमा आएको छोटो अवधिमै सतह भासिएर भारी उपकरण चलाउन कठिन भएको कम्पनीको भनाइले पूर्वाधारको गुणस्तर र त्यसको दीर्घकालीन उपयोगिताबारे प्रश्न उठाएको छ।
कार्गो यार्ड सामान्य सवारीसाधन चल्ने सडकजस्तो संरचना होइन। त्यहाँ भारी कन्टेनर राखिन्छन् र ती उठाउन तथा सार्न उच्च क्षमताका उपकरण प्रयोग गरिन्छन्।
एनसिवाईमा कन्टेनर राख्ने यार्डबाहेक बोरामा आउने सामानको व्यवस्थापन गर्ने प्लेटफर्म पनि समस्याग्रस्त छ। नुन, मल, चिनी, खाद्यान्न, स्पन्ज आइरन, औद्योगिक रसायन र चुनाजस्ता सामग्री राख्न बनाइएको ब्यागेज कार्गो प्लेटफर्ममा छानो छैन।
पानीबाट जोगाउनुपर्ने सामग्रीका लागि छानासहितको सुरक्षित भण्डारण संरचना आवश्यक पर्छ।
प्लेटफर्ममा छानो नहुँदा त्यस्ता सामान रेलबाट ल्याएर राख्न कठिन भएको ट्रान्स नेपालको भनाइ छ। प्लेटफर्ममा बिछ्याइएका ब्लकसमेत उप्किन थालेका छन् र सतह भासिन थालेपछि यसको प्रयोगमा पनि जोखिम बढेको छ।
एनसिवाईबाट एकीकृत भन्सार जाँचचौकीसम्म जोड्ने ३० मिटर लम्बाइका दुई वटा सडक पनि ठाउँठाउँमा भासिएका छन्। कतिपय भागमा सडकको सतह दुई फिटसम्म तल गएको छ।
रेलबाट कन्टेनर उतारेपछि त्यसलाई भन्सार प्रक्रिया पूरा गर्न वा अन्य गन्तव्यसम्म पठाउन सडकमार्ग प्रयोग गर्नुपर्ने हुन्छ। त्यसैले यार्ड र आइसिपीबीचको सडक कार्गो व्यवस्थापनको महत्वपूर्ण हिस्सा हो। सडकको सतह भासिएर किनारको माटो समेत बग्न थालेपछि भारी कन्टेनर बोकेका सवारी साधन आवतजावतमा जोखिम बढ्न सक्छ।
‘यार्ड, प्लेटफर्म र सडकमा देखिएको क्षतिले कार्गो व्यवस्थापनका विभिन्न चरणमा असर पर्ने सम्भावना बढाएको छ,’ सुब्बाले भने, ‘रेलबाट सामान उतार्नेदेखि भण्डारण र सडकमार्गबाट ढुवानी गर्ने प्रक्रियासम्म पूर्वाधारको अवस्था राम्रो हुनुपर्छ। कुनै एक ठाउँमा समस्या आए पनि समग्र कामको गति प्रभावित हुन सक्छ।’
एनसिवाईभित्र रहेको पुलका कारण पनि कन्टेनर ह्यान्डलिङमा समस्या भएको आलमले बताए।
उनका अनुसार पुलको तल कार्गो रेल चल्ने र त्यही क्षेत्रमा रिच स्टेकर सञ्चालन गरेर रेलबाट कन्टेनर उतार्नुपर्ने हुन्छ। पुलको संरचना र उपकरण चलाउनुपर्ने ठाउँको अवस्थाले काम गर्न कठिन भएको उनको भनाइ छ।
‘ब्रिजको ठीक तलतिर कार्गो रेल हुन्छ। यस ठाउँमा रिच स्टेकर चलाएर रेलबाट कन्टेनर उतार्न र ब्रिजको तलबाट रिच स्टेकर हिँडाउन गाह्रो भएको छ। त्यसैले कार्गो रेल सञ्चालन गर्ने हो भने यस ब्रिजको काम छैन,’ उनले भने, ‘यसलाई भत्काइदिए सबैभन्दा राम्रो हुन्छ। यस ब्रिजको केही उपयोगिता छैन।’
एनसिवाईको पूर्वाधारमा क्षति पुगेपछि सबैभन्दा पेचिलो बनेको विषय त्यसको मर्मतसम्भारको जिम्मेवारी हो।
बथनाहादेखि कटहरीसम्मको रेलमार्ग भारत सरकारको ठेक्कामा भारतीय निर्माण कम्पनी इरकोनले बनाएको हो। इरकोन भारतीय रेलवेसँग सम्बन्धित निर्माण कम्पनी हो। एनसिवाई पनि यही रेलमार्गसँग सम्बन्धित संरचना हो।
यार्ड सञ्चालनका लागि ट्रान्स नेपालले नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग पाँच वर्षको सम्झौता गरेको छ। त्यसबापत कम्पनीले मासिक एक करोड ४० लाख रुपैयाँ तिर्छ। तर संरचनाको स्वामित्व रेलवे बोर्ड नेपालसँग रहेको छ।
सञ्चालन गर्ने कम्पनीले सम्झौताअनुसार शुल्क तिर्ने र पूर्वाधारको स्वामित्व अर्को निकायसँग रहने अवस्थाले मर्मतको जिम्मेवारीबारे विवाद सिर्जना गरेको छ।
पारवहन कम्पनीले संरचना आफ्नो स्वामित्वमा नरहेको बताएको छ भने रेलवे बोर्डले हस्तान्तरण भइसकेकाले मर्मतसम्भारको जिम्मेवारी पारवहनकै भएको दाबी गरेको छ।
नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीले एनसिवाई भारतीय अनुदानमा निर्माण भएको संरचना हो। त्यसैले त्यसको स्वामित्व आफ्नो संस्थामा नरहेको कम्पनीले बताउँदै आएको छ।
रेलवे बोर्ड नेपालका विराटनगर हेर्ने इन्जिनियर बोधप्रसाद भण्डारी भने संरचना पारवहन कम्पनीलाई हस्तान्तरण गरिसकिएको बताउँछन्। त्यसपछि सञ्चालन र मर्मतसम्भारको दायित्व पनि त्यही कम्पनीको हुने उनको भनाइ छ।
‘हामीले त ह्यान्डओभर गरेर पारवहनलाई जिम्मा लगाइसकेका छौँ। अब त्यसको सञ्चालन, मर्मत, सम्भार र के चाहिन्छ त्यसको निर्माण पारवहनले नै गर्ने हो। हामीले गर्ने होइन,’ भण्डारीले भने।
यसरी जिम्मेवारीको विवाद लम्बिँदा भौतिक संरचनाको क्षति भने तत्काल सम्बोधन हुन सकेको छैन। यार्डमा भारी उपकरण सञ्चालन जोखिमपूर्ण रहेको कम्पनीको भनाइ छ।
पूर्वाधारको समस्या समाधान हुन नसक्नुका साथै एनसिवाई सञ्चालनको व्यावसायिक पक्षमा पनि चुनौती देखिएको छ। ट्रान्स नेपालका मुख्य व्यवस्थापक सुब्बाका अनुसार कम्पनीलाई सञ्चालन खर्च धान्न महिनामा कम्तीमा १२ वटा कार्गो रेल आवश्यक पर्छ। तर साउन ४ गतेदेखि हालसम्मको अवधिमा चारवटा मात्रै रेल आएका छन्।
-1793171004.png)
कम्पनीले यार्ड सञ्चालनका लागि मासिक एक करोड ४० लाख रुपैयाँ तिर्नुपर्ने सम्झौता गरेको छ। रेलको आवागमन अपेक्षाअनुसार नभए सञ्चालन खर्च धान्न कठिन हुने कम्पनीको भनाइ छ। त्यसमा पनि यार्ड, सडक र प्लेटफर्मको अवस्था बिग्रिएपछि सेवा सञ्चालनमा थप चुनौती आएको छ।
‘महिनामा १२ वटा कार्गो रेल आएनन् भने हामी ब्रेक इभनमा पुग्दैनौँ। किनकि महँगो मूल्यमा यहाँको ठेक्का लिइएको छ,’ उनले भने ‘तर, तीन महिनामा चार वटा मात्र आएका छन्। त्यसमा पनि यहाँको यार्ड, सडक, प्लेटफर्म लगायतका सबै भौतिक पूर्वाधार भत्किएर काम नलाग्ने भइसकेका छन्।’
कम्पनीको भनाइअनुसार अहिले रेलको आवागमन अपेक्षाभन्दा कम छ र सञ्चालनका लागि प्रयोग गर्नुपर्ने पूर्वाधार पनि क्षतिग्रस्त छ। यस्तो अवस्थामा एकातिर मासिक ठेक्का शुल्कको दायित्व छ भने अर्कोतिर कार्गो ह्यान्डलिङको काम प्रभावकारी रूपमा गर्न सकिने अवस्था नरहेको कम्पनीको गुनासो छ।
एनसिवाईमा पहिलो रेल आएको २०८० जेठ १८ पछि अर्को रेल आउन झन्डै तीन वर्ष लागेको थियो। यस वर्ष साउन ४ गते दोस्रो रेल आएपछि थप तीन वटा रेल आएका हुन्।