प्रहरी हिरासतमा रहेका बिनु यादव र निहारिका राजपुत हाजिरी जमानीमा छुटेका छन्।
दुई दिनदेखि प्रहरी वृत्त मालिगाउँमा राखिएको उनीहरूलाई शुक्रबार हाजिरी जमानीमा छाडिएको हो।
बिहीबार बालुवाटार प्रधानमन्त्री निवास अगाडि न्याय माग्न पुगेका उनीहरूलाई पक्राउ गरेर मुद्दा चलाइएको थियो। शुक्रबार हाजिरी जमानीमा छोडेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए।
उनीहरूलाई सार्वजनिक शान्तिविरूद्ध कसूरमा मुद्दा दर्ता गरेर अनुसन्धान अगाडि बढाइएको थियो।
बालुवाटारस्थित प्रधानमन्त्री निवासअगाडि प्रदर्शन गर्न गएका बिनु यादव र निहारिका राजपुतमाथि प्रहरीले मुद्दा चलाएको हो।
बिनु र निहारिकालाई बिहीबार प्रहरीले बालुवाटारबाट नियन्त्रणमा लिएको थियो। निषेधित क्षेत्रमा प्रदर्शन र हुलहुज्जत गरेपछि उनीहरूलाई पक्राउ गरी मुद्दा चलाइएको एसपी भट्टराईले जानकारी दिए।
बिहीबार नै उनीहरूलाई अदालतमा उपस्थित गराइएको थियो। अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान अगाडि बढाइएको एसपी भट्टराईले बताए।
यसअघि बिनु यादव सिंहदरबारमा धर्ना बसिरहेकी थिइन्। एक सातासम्म आफ्ना मागहरू सम्बोधन नभएको भन्दै बिहीबार उनी बालुवाटार पुगेकी थिइन्।
उनले आफ्नो बलात्कार मुद्दामा प्रहरीले शंकास्पद भूमिका खेलेको भन्दै कारबाहीको माग गरेको थिइन्। त्यही विषयमा आफ्ना कुरा राख्न गृहमन्त्रीसँग भेट्न चाहेको भन्दै उनी सिंहदरबार पुगेकी थिइन्।
निहारिकाले पनि आफूमाथि भएको हिंसाको कुरा सुनाउन गृहमन्त्रीलाई भेट्न चाहेको बताउँदै आएकी थिइन्।
सिंहदबारको गेटमा जाँदा उनीहरूलाई प्रहरीले लछारपछार पनि गरेको थियो।