सुनसरीको कप्तानगञ्जमा दुई पक्षबीच भएको विवाद र झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवकको ज्यान गएको छ।
घटनामा एक दर्जनभन्दा बढी घाइते भएका छन्।
सुनसरीका प्रहरी प्रवक्ता डिएसपी चन्द्रबहादुर खड्काका अनुसार भिड नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागेर स्थानीय देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ।
गोली लागेर गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएको भए पनि आइतबार राति चिकित्सकहरूले उनलाई मृत घोषित गरेका थिए।
प्रहरीको अनुसार साउने सोमबारका अवसरमा बोलबम यात्राका लागि एउटा पक्षले रातिको समयमा ठूलो आवाजमा डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारी गरिरहेको थियो।
मध्यरातमा अनावश्यक होहल्ला भएको भन्दै अर्को पक्षले सो कार्यको विरोध गरेपछि दुई समूहबीच भनाभन भई झडपको स्थिति बनेको थियो।
झडपले उग्र रूप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्यास प्रहार गरेको थियो।
त्यसपछि हवाई फायर गर्दा समेत अवस्था सामान्य हुन नसकेपछि प्रहरीले गोली चलाउनुपरेको दाबी गरेको छ।
उक्त घटनामा घाइते भएका ८ जना सर्वसाधारणको विराटनगरका विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ, जसमध्ये अधिकांशलाई गोली लागेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले दिएको जानकारी अनुसार कोशी अस्पतालमा उपचाररत रहेका २२ वर्षीय मिथलेश यादव, १८ वर्षीय अमलेश मेहता, २५ वर्षीय मिथलेश मेहता र २० वर्षीय अमितकुमार यादव छन।
विराट नर्सिङ होममा उपचाररत रहेका २१ वर्षीय रविन्द्र मेहता, १८ वर्षीय अमितकुमार यादव, २५ वर्षीय सुनिलकुमार मेहता र अर्का २५ वर्षीय सुनिलकुमार मेहतालाई पनि गोली लागेको छ।
प्रहरी निरीक्षक राकेश राईसहित ८ जना प्रहरी घाइते भएका छन्।
प्रहरी नायब निरीक्षक गणेशनारायण श्रेष्ठ, प्रहरी सहायक निरीक्षक नवराज पोखरेल, प्रहरी वरिष्ठ हवल्दार अमरलाल यादव जवानहरू रामबहादुर राई, विजय यादव, बुद्धदेव साह र निवेश यादव घाइते छन।