दाङमा कम्युनिस्ट आन्दोलनका एक अग्रणी नेता शोभाराम बस्नेतको ८० वर्षको उमेरमा निधन भएको छ।
सोमबार बिहान २:१० बजे तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उनको निधन भएको हो। उनी नेकपा (एमाले) को केन्द्रीय सल्लाहकार परिषद सदस्य समेत थिए।
तुलसीपुर उपमहानगरपालिका – ११ हस्नापुरका बस्नेत लामो समयदेखि मधुमेहका बिरामी थिए।
बस्नेतलाई नजिकबाट चिन्ने स्थानीयबासी तथा एमालेबाट निर्वाचित वडाध्यक्ष मानबहादुर रावतका अनुसार पछिल्लो समय उनी मृगौला रोगबाट पनि पीडित थिए।
चार दिनअघि निमोनियाबाट ग्रस्त बनेपछि उनलाई उपचारका लागि बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचारका लागि लगिएको थियो। कोहलपुरमा हप्ता दिन राखेर उपचारको प्रयास भएको थियो।
मृगौलाले काम गर्न छोडेपछि चिकित्सकको सुझावका आधारमा आइतबार दिउँसो बस्नेतलाई हस्नापुरस्थित घरमा ल्याइ आधा घन्टा जति राखिएको थियो। त्यसपछि तुलसीपुरस्थित प्रादेशिक अस्पताल पुर्याइएको थियो।
नेता बस्नेतको बेलुकी ८ बजेपतिर मृगौलाको डायलासिस गरिएको थियो।
तर, उनको स्वास्थ्यमा सुधार हुन सकेन। अन्त्यमा सोमबार बिहान २:१० मा सदाका लागि उनी अस्ताए। बस्नेतका ४ छोरामध्ये जेठा छोरोका निधन भइ सकेको छ।
उनकी १ छोरी पनि छिन्। बस्नेत पार्टी भित्र निष्ठा र इमानको राजनीति गर्ने नेताका रूपमा परिचित थिए।
नेपाली कांग्रेसका स्वर्गीय नेता खुमबहादुर खड्कासँगै बस्नेतले छिमेकी देश भारतमा अध्ययन गरेका थिए। स्वर्गीय बस्नेत फरक आस्था राख्ने भए पनि कांग्रेस नेता स्वर्गीय खड्काको प्रशंसक थिए। एक अन्तवार्ताका क्रममा तत्कालिन समय बस्नेतले स्वर्गीय खड्का संगसंगै आँफुले भातरबाटै पञ्चायत विरूद्धको आन्दोलन थालेको तथा खुमबहादुर एक इमान्दार र बहादुर नेता भएको बताएका थिए।
स्वर्गीय बस्नेतले इण्डियाबाट नेपालको एलएलसी सरहको पढाइ पुरा गरेको बताएका थिए। उनको अंग्रेजीका साथै हिन्दीमा पनि राम्रो दख्खल थियो।
विद्यार्थी कालमै २०२८ को दशकमा कोके (कोअर्डिनेसन केन्द्र) मा रहेर उनले राजनीतिक यात्राको थालनी गरेका थिए।
तत्कालीन निर्दलीय पञ्चायतविरूद्ध उनले भूमिगत रूपमै आन्दोलन छेडेका थिए। बस्नेत दाङको कम्युनिस्ट आन्दोलनको संस्थापक मध्यका एक हुन। उनी आन्दोलनका क्रममा पटक / पटक जेल परेको वडाध्यक्ष रावतले बताए।
उनले जीवन भर दुई पटक मात्रै लाभको पद लिए। २०५४ तिर तत्कालीन जिल्ला विकास समिति दाङको सदस्य भएका थिए भने २०७४ मा एमाले महासचिव शंकर पोखरेल लुम्बिनीको पहिलो मुख्यमन्त्री छँदा तत्कालीन सुकुम्बासी समस्या आयोगको केन्द्रीय सदस्यमा नियुक्त भइ काम गरेका थिए।
जिल्ला पार्टी राजनीतिमा २०६४ सालमा उनी जिल्ला सचिवको जिम्मेवारीमा थिए। त्यसअघि जिल्ला उपसचिव, जिल्ला कमिटी सदस्य , जिल्ला सचिवालय सदस्य, दाङ क्षेत्र नं. ३ को इञ्चार्जको जिम्मेवारीमा थिए।
बस्नेतको शव बिहान उनका माइला छोराको तुलसीपुर – ६ हात्तीखौला स्थित घरमा लगेर राखिएको थियो।
बिहान ९ बजेपतिर तुलसीपुरस्थित एमालेको अञ्चल पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने भएको छ। बस्नेतलाई अन्तिम श्रद्धाञ्जली दिन लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य, जिल्ला अध्यक्ष शिवकुमार आचार्य लगाएत नेता कार्यकर्ता आउने वडाध्यक्ष मानबहादुर रावतले बताए।
त्यसपछि नेता बस्नेतको शव अन्तिम संस्कारका लागि तुलसीपुरको सितलपुरस्थित बबई नदी घाटमा लगिने भएको छ।
जिल्ला अध्यक्ष आचार्यले बस्नेतको निधनले दाङको कम्युनिस्ट आन्दोलन र नेकपा (एमाले) दाङलाई अपूरणीय क्षति पुगेको बताएका छन्।