सुनसरीमा गोली लागेर एक जनाको मृत्यु भएको घटनामा ५ सदस्यीय छानबिन समिति गठन भएको छ।
गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन भएको प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले जानकारी दिए।
उनकाअनुसार यो समितिलाई एक साताको कार्यदिन दिइएको छ। यो अवधिमा घटनासँग सम्बन्धित सत्यतथ्य पत्ता लगाउन भनिएको छ।
यसैगरी यही विषयलाई लिएर सोमबार अपराह्न ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बोलाइएको छ।
सुनसरीको कप्तानगञ्जमा दुई पक्षबीच भएको विवाद र झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको हो। यही घटनामा एक दर्जनभन्दा बढी मानिस घाइते छन्।
सुनसरीका प्रहरी प्रवक्ता डिएसपी चन्द्रबहादुर खड्काका अनुसार भिड नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागेर स्थानीय देवानगञ्ज-३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ।
प्रहरीको अनुसार साउने सोमबारका अवसरमा बोलबम यात्राका लागि एउटा पक्षले रातिको समयमा ठूलो आवाजमा डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारी गरिरहेको थियो।
मध्यरातमा अनावश्यक होहल्ला भएको भन्दै अर्को पक्षले सो कार्यको विरोध गरेपछि दुई समूहबीच भनाभन भई झडपको स्थिति बनेको थियो।
झडपले उग्र रूप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्यास प्रहार गरेको थियो।
त्यसपछि हवाई फायर गर्दा समेत अवस्था सामान्य हुन नसकेपछि प्रहरीले गोली चलाउनुपरेको दाबी गरेको छ।
घटना पछि प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बिहान ७ बजेदेखि लागुहुने गरी कर्फ्यू आदेश जारी गरेका छन्।
प्रजिअ घिमिरेले जारी गरेको विज्ञप्तीअनुसार हरिनगरा बजार, भुटाहा बजार, कप्तानगन्ज बजार, घुस्की बजार र देवानगन्ज बजार क्षेत्रमा चार किल्ला तोकेर अर्को सूचना जारी नहुन्जेलसम्मका लागि कर्फ्यु जारी गरिएको हो।
हरिनगरा बजारमा पूर्वमा नुनिया टोल, पश्चिममा खुनिया धार, उत्तरमा हरिनगर गाउँपालिका कार्यालय र दक्षिणमा बसन्तपुर मोडसम्म कर्फ्यु लागु हुनेछ।
त्यस्तै भुटाहा बजारक्षेत्र इलाकामा पूर्वमा मोरीया धार खोला, पश्चिममा इदगाहा फिल्ड, उत्तरमा सुनसरी खोला र दक्षिणमा हरिनगर गाउँपालिका कार्यालय चार किल्ला तोकिएको छ।
कप्तानगन्ज बजार क्षेत्रमा पूर्वमा यादव टोल, पश्चिममा पाँचौं सिमल मावि, उत्तरमा कृष्ण मावि र दक्षिणमा नेपाल-भारत सीमा क्षेत्र चार किल्ला तोकिएको छ।
घुस्की बजार क्षेत्रमा पूर्वमा कासमिया मदरसा, पश्चिममा प्रहरी चौकी घुस्की, उत्तरमा इशा हार्डवेयर र दक्षिणमा हिलाल पब्लिक स्कुल चार किल्ला तोकिएको छ।
देवानगन्ज बजार क्षेत्रमा पूर्वमा विराटनगर जाने बाटोको मुसहर टोल, पश्चिममा मोरिया खोला, उत्तरमा चिउरा मिल र दक्षिणमा गाँउपालिका कार्यालय चार किल्ला तोकिएको छ।
तोकिएको सीमाना भित्र कसैले आवतजावत गर्न, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक गर्न नपाउने गरी अनिश्चितकालीनी कर्फ्यु आदेश जारी गरिएको प्रजिअ घिमिरेले जानकारी दिएका छन्। कर्फ्यु आदेश उल्लंघन गरिए एक हजार रूपैयाँ जरिवाना र एक महिनासम्म कैद सजाय हुन सक्ने समेत सूचनामा उल्लेख छ।