एक जनाको ज्यान गएको र नौ जनामाथि गोली लागेर घाइते बनेको सुनसरीको देवानगन्ज झडपको घटनापछि प्रशासनले लगाएको कर्फ्यू उल्लंघन गर्दै प्रदर्शन सुरू भएको छ।
देवानगन्ज गाउँपालिका ३ कप्तानगन्जमा आइतबार राति भएको झडपमा प्रहरीको गोली लागेर सोही ठाउँका ओमप्रकाश मेहताको मृत्यु भएको थियो।
जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहानदेखि देवानगन्ज र आसपासका ५ क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको थियो।
रास्वपा सांसद लालविक्रम थापाले ‘सर्वसाधारणलाई ताकीताकी प्रहरीले गोली हानेको’ बताएको घटनामा स्थानीयबासीले प्रहरीले अन्धाधुन्ध बल प्रयोग गरेको आरोप लगाएका छन्। प्रशासनको कमजोरीले घटना भएको भन्दै कर्फ्यू तोडेर प्रदर्शनमा उत्रिएका स्थानीयबासीले देवानगन्जमा पसलहरूमा तोडफोड समेत गरेका छन्।
-1785134469.jpg)
प्रहरीको गोली लागेका २४ वर्षीय मेहताको मृत्यु भएको घटनाले सुनसरीका अन्य स्थानमा पनि तनाव उत्पन्न भएको छ। घाइते ९ जनाको विराटनगरका अस्पतालमा उपचार जारी छ।
स्थानीयबासीले दिएको जानकारी अनुसार अहिले सदरमुकाम इनरूवा र लौकही क्षेत्रमा पनि प्रदर्शन भइरहेको छ। राजमार्गमा टायर बालेर अवरोध गरिएको छ।
प्रदर्शनकारीले आगजनी र तोडफोड सुरू गरेपछि अवस्था नियन्त्रण बाहिर पुगेको भन्दै नेपाली सेना परिचालन गरिएको छ।