प्लान्टिङ टुडे फर अ ग्रिनर टुमरो अर्थात् ‘हरित भविष्यका लागि आजै वृक्षरोपण’ भन्ने नारासहित रोटरी क्लब अफ काष्ठमण्डपले काभ्रेको बनेपास्थित नागिडाँडामा जैविक बाली तथा फलफूलका बिरूवा रोपन अभियान सुरू गरेको छ।
आरुन्य नेचर रिसोर्टको सहयोगमा क्लबले आजबाट सुरू गरेको सो अभियान अन्तर्गत आगामी ३ महिनाभित्र २० हजार बिरूवा रोपिने जनाएको छ।
अभियानको शुभारम्भ गर्न आइतबार रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का गभर्नर विष्णुबहादुर कार्की, डिस्ट्रिक्ट सेक्रेटरी गौतम श्रेष्ठ, रोटरी इन्टरनेशनल ३२९२ को ब्राण्ड एम्बेस्डर समेत रहेकी मिस नेपाल २०२६ दीपमाला ढकाल, मिस अर्थ २०२५ सोनी घले पनि नागिडाँडा पुगेका थिए।
रोटरी क्लव अफ काष्टमण्डपका प्रेसिडेन्ट शैलेश वैद्य, पास्ट प्रेसिडेन्ट ज्ञानेन्द्रलाल प्रधान, प्रदीपकुमार श्रेष्ठ (पञ्चकन्या ग्रुप) लगायत अन्य पाष्ट प्रेसिडेन्ट तथा सदस्यहरूको सहभागिता थियो।
यसैगरी रोट्रयाक्ट, इन्टर्याक्टका प्रतिनिधि समेत बिरूवा रोप्ने अभियानमा जोडिएका थिए।
नागिडाँडालाई आकर्षक गन्तव्यका रूपमा विकास गर्ने अवधारणा अघि सारेको आरुन्य नेचर रिसोर्टसँग सहकार्य गर्न पुगेको रोटरी क्लब अफ काष्टमण्डको टोलीले आइतबार चियाका अलावा, अलैँची, एभोकाडो, सुन्तला, लिची, जापानी नास्पाती, मुन्तला तथा हलुवाबेदलगायतका विभिन्न प्रजातिका बिरूवा रोपेर फर्किएको छ।
क्लबका प्रेसिडेन्ट शैलेश वैद्यले चियासँगै अलैँची, एभोकाडो तथा विभिन्न फलफूलका बिरुवा रोपेर वातावरण संरक्षणसँगै कृषि तथा पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखेको बताए।
रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ ले यो वर्ष भित्र १ लाख बिरुवा रोप्ने घोषणा गरेको थियो। तर रोटरी क्लब अफ काष्टमण्डपले नै २० हजार बिरूवा रोपिदिने घोषणा गरेको छ।
अभियान शुभारम्भ गर्दै डिस्ट्रिक्ट गभर्नर कार्कीले एक लाख बिरूवा रोप्ने अभियानमा एउटै क्लबले २० हजार बिरूवा रोप्दै २० प्रतिशत जिम्मेवारी लिनु उदाहरणीय भएको बताए।