गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ४ चोरकाटेमा खाना पकाउने ग्यास नपाइएको विरोधमा प्रदर्शन भएको छ।
स्थानीय बासिन्दाले लामो समयसम्म खाना पकाउने ग्यास नपाएको भन्दै खाली सिलिण्डरसहित आज प्रदर्शन गरेका हुन्।
उनीहरूले चोरकाटेस्थित मध्यपहाडी लोकमार्गस्थित सडकमा खाली सिलिण्डर राखेर प्रदर्शन गरेका थिए।
स्थानीय बासिन्दा मदन श्रेष्ठका अनुसार लामो समयदेखि गोरखाका ग्रामीण क्षेत्रमा खाना पकाउने ग्यास अभाव छ। ‘यति गरेपछि हाम्रो गाउँका जनताले पनि ग्यास पाउँछन् कि!,’ उनले भने।
सदरमुकामस्थित ग्यास डिपोबाटै ग्यास बिक्री वितरण गर्ने गरिएको छ भने डिपोले खुद्रा पसलहरूमा ग्यास नपठाएको महिनौं भइसकेको उनी बताउँछन्।
ग्यास पाइने आशामा सिलिण्डरसहित नाम टिपाएको महिनौं हुँदा पनि ग्यास नपाइएको भन्दै स्थानीयले आज प्रदर्शन गरेका हुन्।
गोरखा सदरमुकाममा ग्यास बिक्री वितरण गर्ने दुई वटा डिपो छ र त्यहीँबाट ग्यास वितरण गर्ने गरिएको छ।
सदरमुकामका ग्यास डिपोमा पनि राति अबेरसम्म ग्यास बिक्री वितरण हुने गरेको छ।
उपभोक्ताहरू लामो समय लाइनमा बसेपछि मात्रै ग्यास पाउने गरेका छन्।