पर्सामा अस्पतालबाट अपहरणमा परेका नवजात शिशुको उद्धार भएको छ।
भदौ १४ गते अपराह्न ४ बजेतिर वीरगञ्ज महानगरपालिका-४ नारायणी अस्पतालबाट अपहरणमा परेका शिशुको उद्धार भएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साले सोमबार दिउँसो १ बजे उद्धार गरेको एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
‘अस्पतालबाट शिशुको सुत्केरी कुरूवा कोठामा आफन्तसँग खेलाउने भनेर लगेको रहेछ। त्यहाँबाट लगेर आफ्नो घर लगेर राखेका रहेछन्,’ उनले भने, ‘समयमै कारबाही प्रक्रिया अघि नबढाएको भए ठूलो समस्या हुनसक्थ्यो।’
प्रहरीले भदौ १४ गते ५ बजेदेखि अपरेशन सुरू गरेको थियो।
एसपी भट्टराईले सूचना प्राप्त लगत्तै सीमावर्ती नाकाहरूमा सुक्ष्म निगरानी अघि बढाएको थियो। साथै, अस्पताल भित्र र बाहिरको सिसिटिभी फुटेज जाँच र विश्लेषण गरी अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धान सुरू गरेको १६ घण्टा पछि सोमबार दिउँसो १ बजे वीरगन्ज महानगर-१६ बस्ने २७ वर्षीया सबिना खातुनसँग भेटिएको थियो।
एसपी भट्टराई आफैं उनी भएको कोठाबाट शिशुको उद्धार गरी खातुनलाई पक्राउ गरेको थियो।
शिशुको उद्धार भएपछि प्रहरीले सर्लाहीकी २७ वर्षीया आमाको जिम्मा लगाएको छ।
भट्टराईका अनुसार ती बच्चालाई आफ्नो बनाउने उद्देश्य राखेको देखिएको छ।