नवलपरासी पश्चिमको नारायणी नदीमा हालसम्म फेला परेका १७० शवमध्ये चार वटाको मात्र सनाखत भएको छ।
सनाखत भएका शवहरू उनीहरूका आफन्त तथा परिवारको जिम्मा लगाइएको छ भने ६८ शवको व्यवस्थापन भइसकेको छ।
फेला परेका ९८ शव पहिचान हुन र व्यवस्थापन गर्न अझै बाँकी रहेको जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमले जनाएको छ।
डिएनए सङ्कलन गरी ६८ वटा शवको सुरक्षित रूपमा जमिनमुनि व्यवस्थापन गरिएको जानकारी गराइएको छ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शव व्यवस्थापनको स्थल, शव पहिचानका लागि अपनाइएको प्रक्रिया, शवको सुरक्षा, आफन्तहरूसँगको समन्वय र सहजीकरणका बारेमा जानकारी लिएका छन्। सुनवल नगरपालिका स्थित एक सामुदायिक वनमा शव व्यवस्थापन गरेर राखिएको छ।
सनाखत भएका व्यक्तिहरूमा गोरखाको पालुङटार नगरपालिका- ७ की २८ वर्षीय सोमी कुमाल, धादिङको गजुरी गाउँपालिका - ६ मिलानटारका ३५ वर्षीय प्रकाश ग्यामी मगर, काभ्रेको रोसी गाउँपालिका वडा- ९ घर भई नुवाकोटको विदुर नगरपालिका- १० बेत्रावती बजारमा होटल तथा किराना पसल सञ्चालन गर्दै आएका ३८ वर्षीय संखबुद्ध तामाङ र मकवानपुरको भीमफेदी गाउँपालिका- २ का २८ वर्षीय सविन राना रहेका छन्।
त्यस्तै, अर्घाखाँचीको पाणिनी गाउँपालिका- ७ का ४५ वर्षीय नारायणबहादुर थापा कब्दारको शव रसुवामा फेला परी पहिचान भएको र आफन्तले पोखराबाट बुझेर लगिसकेका छन्।
पाल्पाको तानसेन नगरपालिका- १० सुनडाँडाका प्रहरी सहायक हवलदार दीपेन्द्र विष्टको शव पनि रसुवामा फेला परी सनाखत भएको र आफन्तले बुझेर सद्गद गरेको जनाइएको छ।
नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका- १ का ३७ वर्षीय यादव भण्डारीको शव पूर्वी नवलपरासीमा फेला परेको छ।
बाँकेको कोहलपुर नगरपालिका- ११ का २३ वर्षीय कबिरलाल चौधरीको शव पनि पूर्वी नवलपरासीमा फेला परेको र उनका दाजु सुग्रीव थारूले सनाखत गरी बुझेका छन्।
सोही स्थानमा फेला परेको बाँकेकै कोहलपुर नगरपालिका- ११ का २८ वर्षीय महेश थारूको शव उनका ससुरा कालीराम थारूले सनाखत गरी बुझेको विवरणमा उल्लेख छ।