भोटेकोशी-त्रिशूली बाढीका कारण विभिन्न जलविद्युत आयोजनाको सुरूङ तथा पावरहाउसमा फसेकाहरूको उद्धार सरकारले ६ दिनसम्म पनि गर्न नसकेपछि दक्षिण कोरियाली प्राविधिकहरूको टोली नेपाल आउने भएको छ।
माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनामा नेपालीसहित केही कोरियालीहरू पनि सम्पर्कविहीन छन्।
यो आयोजनाको प्रवर्द्धक कम्पनी नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्टले आफ्नो वेबसाइटमा ३ जना सम्पर्कविहीन कोरियन प्राविधिकहरूको नामावली सार्वजनिक गरेको छ। बाढीपछि उनीहरू समेत कुल ९ जना कोरियाली नागरिक सम्पर्कविहीन छन्।
आफ्ना नागरिक हराएपछि कोरियाली पक्षले आफू नै उद्धारमा खटिने चासो देखाएको थियो। तर नेपालले अनुमति नदिँदा भारतीय र चिनियाँ बाहेक अन्य मुलुकका प्राविधिकहरू उद्धारमा संलग्न हुन पाएका थिएनन्। अहिले भने कोरियाको पनि एउटा टोली खटेको जनाइएको छ।
खोज, उद्धार तथा राहत कार्यक्रममा सहयोगका लागि कोरियाको विपद राहत टोली बुधबार बिहान ६ बजे नेपाल आइपुग्ने कोरियन टाइम्सले जनाएको छ।
कोरियन टाइम्सले त्यहाँको विदेश मन्त्रालयलाई उद्धृत गर्दै ४४ सदस्यीय कोरियाली विपद राहत टोली बुधबार बिहान नेपाल आउन लागेको जनाएको हो।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पान नेपालका अध्क्षय मोहनकुमार डाँगीले माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनाको सुरूङमा फसेकाहरूको उद्धारका लागि कोरियाली पक्षले पनि काम गर्न चाहेको तर सरकारले नदिएको बताएका थिए।
त्यसैबीच कोरियाको विदेश मन्त्रालय, कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका), अग्नि नियन्त्रण प्राधिकरण र अन्य निकायका ४४ जना कर्मचारी सम्मिलित 'कोरिया डिजास्टर रिलिफ टिम' (केडिआरटी) मध्यराति 'केसी-३३० सिग्नस' मल्टिरोल ट्यांकर ट्रान्सपोर्ट विमानमार्फत नेपालतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको उल्लेख गरिएको छ।
उक्त टोली ७०० थान उपकरण र पाँच वटा खोज तथा उद्धार कुकुर सहित बुधबार बिहान ५:५५ बजे (नेपाली समय) नेपाल आइपुग्ने समय तालिका छ।
टोली नेपालमा करिब १० दिन रहनेछ। बेपत्ता रहेका ९ जना कोरियाली नागरिकसहित बाढी पीडितहरूको खोज तथा उद्धार कार्यमा खटिने उल्लेख गरिएको छ।
'हामी नेपाल सरकार र पहिले नै घटनास्थलमा खटिएको हाम्रो द्रुत प्रतिक्रिया टोलीसँगको परामर्शमा उद्धार कार्य सञ्चालन गर्ने योजनामा छौँ,' विदेश मन्त्रालयका एक अधिकारीले भनेका छन्, 'आवश्यक परेमा १० दिनभन्दा बढी समयका लागि पनि बसाइँ लम्ब्याउन सकिनेछ।'
केडिआरटी दक्षिण कोरियाको विदेशमा विपद् राहत, खोज तथा उद्धार, चिकित्सा सहायता र अन्य सहयोग उपलब्ध गराउन परिचालन गरिने एक वैधानिक आपतकालीन प्रतिक्रिया टोली हो।
कोरियाली विदेश मन्त्रालयका अनुसार विपद् स्थलमा केडिआरटीको यो १२ औँ परिचालन हुनेछ। मङ्गलबार अघि बसेको मन्त्रिपरिषद् बैठकमा बोल्दै कोरियाली राष्ट्रपति ली जे-म्याङले बेपत्ता नौ जना कोरियालीको खोजकार्यलाई तीव्र बनाउन हेलिकप्टर र उद्धारकर्मीसहित थप स्रोतसाधन परिचालन गर्नेबारे विचार गर्न कोरियाली अधिकारीहरूलाई निर्देशन दिएका छन्।
'नेपाल सरकार र (सम्बन्धित) कर्पोरेट अधिकारीहरूसँगको गहन सहकार्यका आधारमा यथाशीघ्र खोजकार्य अगाडि बढाउन म आग्रह गर्दछु,' राष्ट्रपतिले भनेका छन्।
उनले सम्भावित थप बाढी र प्रतिकूल मौसमको जोखिमबीच नेपालमा खटिने कोरियाली उद्धारकर्मीको सुरक्षा सुनिश्चित गर्न र नेपाललाई तुरून्तै मानवीय सहायता उपलब्ध गराउन पनि ती अधिकारीहरूलाई निर्देशन दिएका छन्।
नेपाल सरकारले सहयोगको अनुरोध गरेपछि कोरियाले टोली परिचालन गरेको त्यहाँको विदेश मन्त्रालयले जनाएको छ।
कोरियाली सरकारले गत हप्ता नेपालमा द्रुत प्रतिक्रिया टोली (र्यापिड रेस्पोन्स टिम) पठाएको थियो, नेपाल सरकारबाट अनुमति पाएसँगै अहिले उनीहरू बेपत्ता नौ जना कोरियालीहरूको खोजी गरिरहेका छन्।