नेकपा (एमाले)का संसदीय दलका नेता रामबहादुर थापा 'बादल' भोटेकोशी बाढी जलवायु परिवर्तनका कारण सिर्जित हो वा मानव निर्मित दुर्घटना हो भन्ने विषयमा वस्तुगत अध्ययन आवश्यक रहेको बताएका छन्।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले विपद्बाट उत्पन्न शोक र पीडालाई शक्तिमा बदल्न र भविष्यमा सम्भावित विपद्का घटना रोक्न भोटेकोशी बाढीको वैज्ञानिक र वस्तुगत निष्कर्ष निकाल्नुपर्नेमा जोड दिए।
उनले जलवायु परिवर्तन र भूमण्डलीय तापक्रम वृद्धिले मानव जातिको अस्तित्वमै संकट उत्पन्न गरिरहेको समेत बताए।
'विकसित देशहरुले उद्योग, यातायात तथा अन्य प्रयोजनको लागि अत्याधिक मात्रामा कोइला तथा ग्यास प्रयोग गर्दा त्यसले विशाक्त ग्यास उत्सर्जन गर्द । फलस्वरुप वायुमण्डलको तापक्रममा अस्वभाविक रुपमा वृद्धि हुन जान्छ। तापक्रम वृद्धिले हिमालको हिउँ पग्लिन्छ जुन भयावह बाढीपहिरोमा परिणत हुन्छ। त्यसले मानव वस्तीको अस्तित्व नै मेटाउँछ, सभामुख महोदय उत्तरी तथा दक्षिणी धुर्वमा हिउँ पग्लिरहेका छन् । त्यसले एकप्रकारको सुनामी सृष्टि गरिरहेको छ।’
उहाँले प्रधानमन्त्री शाहले आफ्नो शासन शैलीमा परिवर्तन गर्नुपर्ने पनि बताए।