प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद सीता थपलिया 'उर्मिला' ले विनाशकारी बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै सरकारको उद्धार प्रयासप्रति प्रश्न उठाएकी छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद थपलियाले बाढी आएको नवौँ दिनसम्म पनि त्रिशूली–३ ‘ए’, त्रिशूली–३ ‘बी’ लगायत जलविद्युत् आयोजनामा सयौँ कामदार फसेको जानकारी हुँदाहुँदै प्रभावकारी उद्धार हुन नसकेको बताइन्।
बेपत्ता नागरिकका परिवार राज्यको उद्धार प्रयासमाथि प्रश्न गर्न बाध्य भएको उनको भनाइ छ।
'बाढी आएको आज नवौँ दिन भइसक्दा पनि त्रिशूली–३ ए, ३ बी सहित जलविद्युत् आयोजनामा सयौँ कामदार फसेको जानकारी हुँदाहुँदै प्रभावकारी उद्धार हुन नसकेको विषय अत्यन्त गम्भीर छ,’ उनले भनिन्, ‘बेपत्ता नागरिकका परिवारहरू आज राज्यको उद्धार प्रयासमाथि प्रश्न गर्न बाध्य भएका छन्।’
सरकारले सातौँ दिनमा मात्रै आयोजनालाई सुरुङबाट उद्धार गर्न नसक्ने भन्दै आफैं उद्धारमा लाग्न भनेको दाबी पनि उनले गरिन्।
‘सरकारले सातौँ दिनमा आएर मात्र आयोजनालाई भन्यो– हामीले मात्रै सुरुङबाट उद्धार गर्न सकेनौँ, अब तपाईँहरू लाग्नुस्,’ थपलियाले भनिन्।
राज्यको पहिलो दायित्व आफ्ना नागरिकको जीवन रक्षा गर्नु रहेको भन्दै उनले नागरिकको जीवन जोगाउने सवालमा राज्य कुनै पनि मूल्यमा चुक्न नहुने बताइन्। तर अहिले राज्य चुकिरहेको अनुभूति नागरिकहरूले गरिरहेको उनको भनाइ छ।
सांसद थपलियाले विपद्को समयमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आफ्नो ज्यानको बाजी लगाएर उद्धारमा खटिएको भन्दै उनीहरूप्रति सम्मान व्यक्त गरिन्।
प्रतिपक्षी दलका रूपमा आफूहरू पनि आ–आफ्नो ठाउँबाट सरकारलाई सहयोग गरिरहेको र दुःखद समयमा सरकारसँगै रहेको उनले बताइन्।