सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–२ र ४ भएर बग्ने हुंगा खोलामा करिब ३५ मिटर अग्लो पहिरो खसेर खोला थुनिएपछि तल्लो तटीय क्षेत्रमा जोखिम बढेको छ।
पहिरोले खोलामा करिब १०० मिटर लामो र १५ मिटर गहिरो पानी जमेको प्रहरीले जनाएको छ।
शुक्रबार बिहान करिब ७ बजे पहिरो खसेर पानी थुनिएको सूचना पाएपछि प्रहरीले घटनास्थलतर्फ टोली पठाएको छ।
नदी तटीय क्षेत्रमा रहेका गाउँ बस्ती तथा नजिकका दुई वटा हाइड्रोपावरलाई अवस्थाबारे जानकारी गराएर उच्च सतर्कता अपनाउन भनिएको कोशी प्रदेश प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार हुंगा खोलामा पहिरो खसेर बनेको अवरोधलाई स्थानीयले ड्यामजस्तो संरचना बनेको अवस्थामा देखेका छन्।
अहिले पानीको निकास भने सुरू भएको प्रहरी सूचनामा उल्लेख छ। तर पहिरो माथिबाटै पानी बगिरहेको र अवस्था संवेदनशील रहेकाले जोखिम कायमै रहेको जनाइएको छ।
कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी शेखर खनाललाई उद्धृत गर्दै मुख्यमन्त्री हिक्मत कार्कीले बताए अनुसार गौरीशंकर हाइड्रोपावरको हेड अफिसबाट करिब १०० मिटर तल, महाकुलुङ गाउँपालिका–२ तर्फ पहिरो खसेको हो।
घटनाको सूचना गौरीशंकर हाइड्रोपावरका कर्मचारीमार्फत बिहान ७ बजे इलाका प्रहरी कार्यालय सोताङमा पुगेको थियो। सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलतर्फ पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पहिरो करिब ३५ मिटर अग्लो छ। त्यसले खोलाको करिब १०० मिटर क्षेत्र थुनेर करिब १५ मिटर गहिराइसम्म पानी जम्मा भएको प्रारम्भिक जानकारी छ।
पहिरोले खोला थुनिएपछि तत्कालका लागि नदीको तटीय क्षेत्रमा रहेका बस्ती तथा हाइड्रोपावरलाई सतर्क गराइएको छ।
प्रहरीले खोला आसपास रहेका गाउँबस्तीका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरेको छ। नजिक रहेका दुई वटा हाइड्रोपावरमा कार्यरत कामदार तथा त्यहाँ रहेका सवारी साधनलाई पनि सुरक्षित स्थानतर्फ सार्न भनिएको छ।
प्रहरीले उच्च सावधानी अपनाउन आग्रह गरेको छ। विशेषगरी पहिरो माथिबाटै पानी बगिरहेको अवस्थाले जोखिम निम्त्याउन सक्ने भन्दै तटीय क्षेत्रमा रहेका मानिसलाई सचेत गराइएको हो।
प्रहरी सूचनामा भनिएको छ, ‘अहिलेको अवस्था पानी पहिरो माथिबाटै बगिरहेको छ।’
यही कारण खोलाको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने मानिसलाई थप सतर्क रहन आग्रह गरिएको छ।
हुंगा खोला थुनिएको स्थान महाकुलुङ गाउँपालिका–२ मा पर्छ। प्रहरीका अनुसार यो स्थान प्रहरी चौकी बुङबाट करिब १० किलोमिटर दक्षिण–पूर्वमा पर्छ।
हुंगा खोलाको पानीको बहाव अगाडि सोताङ गाउँपालिका र थुलुङ दूधकोशी गाउँपालिका हुँदै अघि बढ्छ। त्यसपछि यो क्षेत्रको जलप्रवाह खोटाङ र ओखलढुंगातर्फ पुगेर दूधकोशी नदीमा मिसिन्छ।
त्यसैले पहिरोले बनेको अवरोध तत्काल फुट्ने वा पानीको बहावमा अचानक परिवर्तन आउने अवस्था भए त्यसको असर खोलाको तल्लो तटीय क्षेत्रमा पर्न सक्ने भन्दै प्रहरी र स्थानीय निकायले सतर्कता अपनाउन थालेका हुन्।
तर पहिरोले बनेको अवरोध कहिले फुट्छ, कति पानी जम्मा भएको छ वा त्यसबाट कस्तो क्षति हुन्छ भन्नेबारे प्रहरीले अहिलेसम्म कुनै अनुमान सार्वजनिक गरेको छैन। उपलब्ध सूचनामा पनि त्यस्तो प्रक्षेपण गरिएको छैन।