भोटेकोशी बाढी आएको एक महिना पूरा भएको सन्दर्भमा जलवायुजन्य विपदबाट प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै काठमाडौंको बसन्तपुर दरबार क्षेत्रमा सामूहिक दीप प्रज्ज्वलन कार्यक्रम आयोजना हुने भएको छ।
जलवायु परिवर्तनबाट प्रभावित श्रमिक, महिला, सीमान्तकृत तथा हिमाली क्षेत्रका समुदायको अधिकार र जलवायु न्यायका लागि आवाज उठाउँदै आएका विभिन्न संघसंस्थाको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो।
एक्शनएड नेपाल, महिला एकता समाज, मकवानपुर महिला उत्थान समाज, चितवन सक्रिय महिला प्रतिष्ठान र युथ एड्भोकेसी नेपाललगायत संस्थाको संयुक्त आयोजनामा ‘जलवायु न्याय अभियानका लागि ऐक्यबद्धता तथा सामूहिक दीप प्रज्वलन’ कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
कार्यक्रम १६ असोज २०८३ ९२ अक्टोबर २०२६० शुक्रबार दिउँसो ३ बजेदेखि साँझ ६ः१५ बजेसम्म वसन्तपुर दरबार क्षेत्रमा हुनेछ।
जलवायुजन्य विपद्बाट प्रभावित परिवार तथा समुदायको पीडा र संघर्षलाई स्मरण गर्दै उनीहरूप्रति ऐक्यबद्धता जनाउने, प्रभावित समुदायको अधिकार तथा जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न आवाज उठाउने र जलवायु न्यायको मागलाई सामूहिक रूपमा बुलन्द गर्ने कार्यक्रमको उद्देश्य रहेको आयोजकले जनाएको छ।
श्रमिक महिलाको दैनिकीमा जलवायु परिवर्तनको असर
सञ्चारिका समूह नेपालकी अध्यक्ष कमला पन्थीले जलवायु परिवर्तनले श्रमिक महिलाको दैनिकी र जीविकोपार्जनमा प्रत्यक्ष असर पारिरहेको बताइन्।
समयमा पानी नपर्ने, बाढी तथा अन्य प्राकृतिक विपद्का कारण महिलाको दैनिक जीवन थप प्रभावित भइरहेको उनको भनाइ थियो।
भोटेकोशीमा आएको बाढीले ठूलो क्षति पुर्याएको उल्लेख गर्दै उनले जलवायुजन्य विपद्बाट प्रभावित समुदायले न्याय पाउनुपर्ने बताइन्।
जलवायु न्यायका विषयमा नेपालले अन्तर्राष्ट्रिय तहमा उठाउँदै आएको आवाजले प्रभावित समुदायको मुद्दालाई थप बल पुग्ने उनको भनाइ थियो।
युथ एड्भोकेसी नेपालका अध्यक्ष गणेश धामीले जलवायु परिवर्तनको विषय भू–राजनीतिसँग समेत जोडिएको बताए। विकासका नाममा हुने विनाशका कारण सीमान्तकृत समुदाय थप पछाडि पर्दै गएको भन्दै उनले विकास र आर्थिक मोडेललाई वातावरण तथा सामाजिक न्यायमैत्री बनाउनुपर्नेमा जोड दिए।
उनका अनुसार हिमाली क्षेत्रमा बसोबास गर्ने समुदाय जलवायु परिवर्तनको प्रभावबाट बढी प्रभावित भइरहेका छन्। जलवायु परिवर्तनका कारण गरिबी थप गहिरिँदै गएको भन्दै प्रभावित समुदायको आर्थिक तथा सामाजिक अधिकार सुनिश्चित गर्नुपर्ने उनले बताए।
एक्शनएड नेपालका राहुल देवानले सीमान्तकृत तथा अल्पसंख्यक समुदाय जलवायु परिवर्तनको प्रभावबाट बढी प्रभावित भइरहेको बताए। प्रभावित समुदायलाई न्याय दिलाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा उनीहरूको आवाजलाई प्रभावकारी रूपमा उठाउनुपर्ने उनको भनाइ थियो।
प्रदूषकलाई जवाफदेही बनाउनुपर्ने माग
कार्यक्रममा बाढी तथा अन्य जलवायुजन्य विपद्बाट भएको क्षतिको प्रभावकारी सम्बोधन, प्रभावितलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने र प्रदूषकलाई जवाफदेही बनाउने विषयमा जोड दिइएको थियो।
जलवायु परिवर्तनमा बढी योगदान गर्ने पक्षले त्यसबाट प्रभावित समुदायप्रति जिम्मेवारी लिनुपर्ने सहभागीहरूको भनाइ थियो। नेपालले विश्वव्यापी जलवायु परिवर्तनमा तुलनात्मक रूपमा न्यून योगदान गरे पनि जलवायुजन्य विपद्को असमान भार नेपाली समुदायले वहन गरिरहेको आयोजक संस्थाहरूले बताएका छन्।
नेपाल महिला एकता समाजकी मनिका श्रेष्ठले वातावरणमैत्री कृषि, रैथाने उत्पादन तथा साझा स्रोत संरक्षणको अभियानलाई समुदायस्तरमा अघि बढाउनुपर्ने बताइन्। स्थानीय तह र समुदायसँग समन्वय गरी जलवायु न्यायको अभियानलाई प्रभावकारी बनाउँदै आएको उनले जानकारी दिइन्।
तीन प्रमुख माग अघि सारिने
वसन्तपुरमा हुने दीप प्रज्वलन कार्यक्रममार्फत प्रभावित समुदायको अधिकार, मर्यादा, सुरक्षा तथा जीविकोपार्जन सुनिश्चित गर्नुपर्ने माग अघि सारिनेछ।
त्यसैगरी पुनर्स्थापना, अनुकूलन तथा जलवायुजन्य हानि–नोक्सानी सम्बोधन गर्न पर्याप्त, सहज र अनुदानमा आधारित जलवायु वित्त उपलब्ध गराउनुपर्ने तथा प्रमुख उत्सर्जकहरूले उत्सर्जन घटाउँदै जलवायु संकटबाट भएको क्षतिको उचित जिम्मेवारी वहन गर्नुपर्ने मागसमेत अघि सारिने आयोजकले जनाएको छ।
जलवायु न्यायका विषयमा समुदायस्तरमा सचेतना अभिवृद्धि गर्न युवाहरूलाई अभिमुखीकरण गर्ने, प्रभावित समुदायमा जलवायु परिवर्तनले पारेको प्रभावबारे छलफल गर्ने तथा उनीहरूको आवाजलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय तहसम्म पुर्याउने उद्देश्यले एक सातासम्म विभिन्न गतिविधि सञ्चालन गरिएको आयोजकले जनाएको छ।
आयोजकका अनुसार वसन्तपुरको कार्यक्रम शान्तिपूर्ण, गैरराजनीतिक, गैरदलीय तथा समावेशी हुनेछ। सहभागीलाई हरियो वा सेतो पहिरन लगाउन आग्रह गरिएको छ। कार्यक्रमलाई मर्यादित, अनुशासित, सुरक्षित तथा प्लास्टिकमुक्त बनाउन र दलगत चिह्न तथा उत्तेजक भाषा प्रयोग नगर्नसमेत आयोजकले अनुरोध गरेको छ।
‘हरेक पाइला ऐक्यबद्धताको प्रतीक बनोस्, हरेक दीपले जीवनको सम्मान गरोस् र हरेक आवाजले जलवायु न्यायको माग गरोस्’ भन्ने सन्देशसहित कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।