६३५.९६ ग्राम सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा चीनको ग्वाङ्दोङ स्थायी ठेगाना भएका ४२ वर्षीय झान गुओछिङ छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका डिएसपी ढुण्डिराज नेउपानेका अनुसार उनी आइतबार बिहान १०:३० बजे हङकङबाट क्याथे प्यासिफिक एयरको विमानमार्फत काठमाडौं आएका थिए।
शंकास्पद गतिविधि देखिएपछि जाँच गर्ने क्रममा उनले लगाएको भित्री वस्त्र भित्र प्लास्टिकमा बेरेर लुकाएको अवस्थामा उक्त पदार्थ फेला परेको हो।
भन्सार छली अवैध रूपमा लैजान खोजेको अवस्थामा उक्त पदार्थ बरामद गरी उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका चिनियाँ नागरिकमाथि थप अनुसन्धान भइरहेको नेउपानेले जानकारी दिएका छन्।