राति सुतिरहेको अवस्थामा घरबाटै अपहरणमा परेकी बालिकालाई ३८ घण्टापछि सकुशल उद्धार गरिएको छ।
रुपन्देहीको तिलोत्तमाकी १० वर्षीय बालिकालाई प्रहरीले शुक्रबार साँझ ७ बजेतिर स्थानीय जंगलबाट सकुशल उद्धार गरेको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार बुधवार राति घरभित्र सुतिरहेकी ती बालिकालाई छिमेकी वडाका २७ वर्षीय युवकले कोठाभित्रबाटै अपहरण गरेका थिए।
‘घर बाहिर हजुरबुवा र हजुरआमा सुतिरहेको अवस्थामा भित्र कोठामा भाइसँग सुतिरहेकी बालिकालाई राति २ बजेतिर अपहरण गरिएको रहेछ, बालिका अपहरणमा परेको सोही राति नै जानकारी भएपछि खोजी सुरु गरिएको थियो। खोजी गर्दै जाँदा जंगलबाट सकुशल उद्धार गरिएको हो,’ प्रहरी स्रोतले भन्यो।
कोठाभित्र सुतेकी बालिकालाई बिहानीपख ओढ्ने ओढाइदिन भनेर जाँदा बिस्तारामा नभेटेपछि परिवारले तत्काल प्रहरीलाई जानकारी गराएको थियो।
प्रहरीले बिहीबार बिहानैदेखि गाउँ वरपर र स्थानीय जंगल क्षेत्रमा खोजी सुरु गरेको थियो।
बिहीबार बिहानैदेखि रातिसम्म र शुक्रबार पुनः बिहानैदेखि गाउँ वरपर खोजी गर्दा पनि बालिका फेला नपरेपछि प्रहरीले नजिकैका जंगल क्षेत्रमा खोजी केन्द्रित गरेको थियो।
खोजी गर्दै जाँदा शुक्रबार दिउसो साढे ४ बजेतिर तिलोत्तमाकै जंगलबाट सकुशल उद्धार गरिएको हो।
प्रहरी स्रोतका अनुसार अपहरणकारीले बालिकालाई घरबाट उठाएर जंगलमा लगेको थियो।
बिहीबार बिहानदेखि शुक्रवार दिउसो सम्म जंगलमै रहेकी बालिकालाई सकुशल उद्धार गरे पनि अपहरणमा संलग्न युवकलाई भने प्रहरीले अझै पक्राउ पर्न सकेका छैन।
अपहरणमा संलग्न युवकको पहिचान भइसकेकोले छिट्टै पक्राउ गर्ने प्रहरीले दाबी गरेको छ।
अहिले बालिकालाई आफ्नो निगरानीमा राखिएको र उनको स्वास्थ्य अवस्था सबै सकुशल रहेको प्रहरीले जनाएको छ।
जंगलबाट उद्धार गरिएपछि अस्पताल लगेर बालिकाको स्वास्थ्य परीक्षण गरिएको थियो। बालिका स्थानीय विद्यालयमा कक्षा २ मा अध्ययनरत छिन्।