भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट भरतपुर अस्पतालसम्म ल्याउने र परीक्षणपछि व्यवस्थापन गर्न देवघाटसम्म पु र्याउने एम्बुलेन्स चालकलाई सम्मान गरिएको छ।
संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपाल (ट्रेड युनियन सङ्घ) जिल्ला शाखा चितवनले आज यहाँ आयोजना गरेको पाँचौँ साधारणसभा तथा अधिवेशनको अवसरमा चालकलाई सम्मान गरिएको हो।
सो अवसरमा ६५ जना चालकलाई सम्मान गरिएको थियो।
उहाँहरूलाई सम्मान गर्दै प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विपद्मा एम्बुलेन्स चालकले निर्वाह गर्नुभएको भूमिका प्रशंसनीय रहेको बताए।
'शव उठाउन हामीले नेतृत्व गर्नुपर्नेमा अघिअघि एम्बुलेन्स चालक र हामी पछिपछि भयौं,' उनले भने।
विपद्मा गरिने यस्ता कार्यको राज्य पक्षबाट मूल्याङ्कन हुनुपर्ने उनले बताए।
सङ्घका केन्द्रीय अध्यक्ष नवराज लामिछानेले चालकहरूले नदीमा शव उठाउने, एम्बुलेन्समा राख्ने र झार्नेसम्मका काम गरेका बताए।
'तीन–चार दिनदेखि गन्हाइरहेका शव कुनै अप्ठ्यारो महसुस नगरी हामीले बोक्यौं,' उनले भने।
कतिपय शव राख्ने ठाउँको अभावमा लामो समय एम्बुलेन्समा राख्नुपरेको उनले बताए।
सो अवसरमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले विपद्मा चालकहरूले निर्वाह गर्नुभएको भूमिका प्रशंसनीय रहेको बताए।
कार्यक्रममा चितवन मेडिकल कलेजका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटा, भरतपुर अस्पतालका साइदिप घिमिरे, संघका जिल्ला अध्यक्ष कल्याण लामा, सचिव मिलन श्रेष्ठ, नेपाल ब्लड डोनर्स एसोसिएसनका अध्यक्ष अर्जुन अधिकारीलगायतले आ-आफ्नो धारणा राखेका थिए।
यसैबीच अधिवेशनले सन्तोष केसीको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
भोटेकोशी बाढीको समयमा चितवनसहित धादिङ, नवलपरासी, तनहुँ, कास्की, नुवाकोटका एम्बुलेन्सले शव व्यवस्थापनमा खटिएका थिए।
चितवनमा १३५ वटा एम्बुलेन्स सङ्घमा आबद्ध थिए। भोटेकोशी बाढीका सबैभन्दा बढी ३६९ वटा शव चितवनमा फेला परेका थिए।