सदाझैं दिउँसो ४ बजे स्कुलबाट घर पुगेकी सलोनी सुवेदीको ध्यान अकस्मात् कोठाभित्रबाट आएको आवाजले तान्यो।
उनलाई आज आफ्नो जन्मदिन हो भन्ने थाहा थियो, तर विशेष दिन मनाउने कुनै तयारी थिएन।
कोठाभित्रको कौतूहल मेट्न उनी ढोका खोल्न पुगिन्, जहाँ उनलाई थाहै नदिई एउटा टोली पुगेको थियो।
रंगीचंगी बेलुन, बर्थडे ब्यानर र रिबनले कोठा सजिसजाउ थियो। नयाँ स्टडी टेबलमा 'ह्याप्पी बर्थडे सलोनी' लेखिएको केक राखिएको थियो।
सलोनी केही क्षण अलमलिइन्। त्यसपछि एकाएक उनको अनुहारमा खुसी छरियो।
'ह्याप्पी बर्थडे सलोनी!'
शुभकामनाको आवाजसँगै उनको कोठा जन्मदिनको माहोलमा बदलियो।
मंगलबार सलोनीको दसौं जन्मदिन थियो। उनलाई सरप्राइज दिन गोल्यान फाउन्डेसनको टोली उनी बस्ने सानेपास्थित घरमै पुगेको थियो। टोलीमा गोल्यान ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक अक्षय गोल्यान र गोल्यान फाउन्डेसनकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योती गैह्रे लगायत थिए।
सलोनीलाई उनीहरू आउँदैछन् भन्ने कुनै जानकारी थिएन। त्यसैले घरमै पुगेर दिइएको यो सरप्राइज उनका लागि अझ विशेष बन्यो।
'मलाई थाहै नदिई किन आउनुभयो?' सलोनीले फाउन्डेसनकी सिइओ ज्योतीसँग पुलकित हुँदै सोधिन्।

सलोनी उनलाई 'दिदी' भन्छिन्। यसअघि पनि ज्योती पटक पटक सलोनीलाई भेट्न घर र उनी पढ्ने स्कुल पुगेकी थिइन्। तर हरेक पटक पूर्वजानकारी हुन्थ्यो। त्यसैले यस पटक उनको आगमन सलोनीका लागि रहस्यमय खुसी बोकेर आएको थियो।
ज्योतीको जबाफ थियो, 'पहिल्यै भनेर आएको भए त सरप्राइज नै हुँदैनथ्यो नि!'
जबाफ सुनेर सलोनी झन् फुरूंग भइन्।
विशेष दिनमा कामको सिलसिलामा गाउँ (सर्लाही) गएकी सलोनीकी आमा पार्वती अधिकारीको भने अभाव खड्कियो। तर ठूली आमा मुना अधिकारीले जन्मदिनलाई विशेष बनाउन कुनै कसर बाँकी राखिनन्।
'यसअघि नानीको बर्थडे यति राम्रोसँग मनाएकै थिएनौं। साह्रै खुसी लाग्यो,' मुनाले भनिन्।
सलोनी जेनजी आन्दोलनका सहिद देवकुमार सुवेदीकी छोरी हुन्।
गोल्यान फाउन्डेसनले उनीसहित ३१ जना सहिद सन्तानको शिक्षाको जिम्मेवारी लिएको छ। यो जिम्मेवारीलाई विद्यालयको शैक्षिक खर्चमा मात्र सीमित नराखी बालबालिकाका विशेष दिनलाई पनि खुसीको अवसर बनाउने अभ्यास फाउन्डेसनले गर्दै आएको छ।
त्यही अनुसार सलोनीको जन्मदिनमा फाउन्डेसनको टोली उनी बस्ने घरमै पुगेको थियो।
गोल्यान फाउन्डेसनले सहिदका सन्तानका लागि यस्तो आत्मीयता देखाएको यो पहिलो पटक भने होइन। गत जेठमा फाउन्डेसनले सलोनीकी साथी सोनिया विश्वकर्माको घरमै पुगेर उनको जन्मदिन मनाएको थियो।
गोल्यानले विभिन्न अवसरमा सहिद सन्तानलाई भेटघाट गराउने भएकाले सलोनी र सोनियाबीच असल साथीको सम्बन्ध पनि बनेको छ।
त्यसैले यस पटक सलोनीलाई पनि सोनियालाई दिइएको जस्तै स्टडी टेबल जन्मदिनको उपहार दिइएको थियो।
जन्मदिनको खुसीमा नयाँ स्टडी टेबल थपिएपछि सलोनीको उत्साह झनै बढ्यो।


गोल्यानको सहकार्य भने जन्मदिनको खुसीमा मात्र सीमित छैन। सहिदका सन्तानको शिक्षा र अभिभावकको स्वास्थ्यमा समेत फाउन्डेसनले सहयोग गर्दै आएको छ।
सहिदका ३१ बालबालिकालाई कक्षा १२ सम्मको शैक्षिक वृत्ति प्रदान गरिएको छ। उनीहरूको शिक्षाका लागि मासिक ४० हजार रूपैयाँका दरले वार्षिक ४ लाख ८० हजार रूपैयाँसम्म खर्च व्यहोर्ने व्यवस्था छ।
त्यस्तै, शैक्षिक वृत्तिमा नसमेटिएका सहिदका ४४ आमाबुबालाई वार्षिक १० लाख रूपैयाँसम्मको स्वास्थ्य बीमा प्रदान गरिएको छ।
सहिदहरूले देशका लागि जीवन दिए। उनीहरूका परिवारले त्यसको मूल्य चुकाए। उनीहरूका सन्तानको भविष्य र अभिभावकको स्वास्थ्यमा साथ दिनु त्यही योगदानप्रतिको सम्मानको एउटा निरन्तरता भएको गोल्यान ग्रुपका अध्यक्ष अक्षय गोल्यान बताउँछन्।
यस्ता गतिविधिले सहिद परिवार र गोल्यानबीचको भावनात्मक सम्बन्ध र अपनत्व अझ बलियो बनाउने उनले बताए।
'जेनजी आन्दोलनपछि सहिदका सन्तानको शिक्षा र अभिभावकको स्वास्थ्यमा गरेको सहकार्यले हामीलाई एउटै परिवार बनाएको छ,' उनले भने, 'त्यसैले हामी हर सुख–दुःखमा सँगै हुन चाहन्छौं।'
अक्षयले भनेझैं, मंगलबार सलोनीको जन्मदिनमा गोल्यान फाउन्डेसनको टोलीको उपस्थितिले उनको खुसीमा थप उत्साह थप्यो। नयाँ स्टडी टेबल र जन्मदिनको सरप्राइजले उनका लागि यो दिन विशेष बन्यो।
सहिदका सन्तानको जिम्मेवारी लिनु उनीहरूको पढाइ र स्वास्थ्यमा सहयोग गर्नु मात्र होइन, उनीहरूका व्यक्तिगत खुसीका अवसरमा पनि सहभागी हुनु हो।
सलोनीको जन्मदिनमा फाउन्डेसनले गरेको सानो प्रयासले यही कुरा देखाएको छ।



***