रूकुम पश्चिमको आठबिसकोट नगरपालिका–३ का वडाध्यक्ष केशरमान विकलाई प्रहरीले मंगलबार पक्राउ गरी हिरासतमा राखेको छ।
प्रहरीका अनुसार निर्माणाधीन ‘नदुवा भम्पो’ सडकमा अवरोध गरेको आरोपमा वडाध्यक्षका भाइ ३३ वर्षीय वीरेन्द्र भनिने गोपाललाई पक्राउ गर्न खोज्दा विवाद भएको हो।
निर्माण कम्पनीले सडक निर्माणमा अवरोध गरेको भन्दै गोपालविरुद्ध प्रहरीमा उजुरी दिएको थियो।
प्रहरीले गोपाललाई नियन्त्रणमा लिन खोज्दा उनका दाजु वडाध्यक्ष विकले प्रहरीलाई अवरोध गरेको जनाएको छ।
प्रहरीका अनुसार त्यसक्रममा प्रहरीको ज्याकेटसमेत च्यातिएको थियो भने दुवै पक्षबीच धकेलाधकेल र हात हालाहाल भएको थियो।
भाइलाई प्रहरीबाट भगाएपछि वडाध्यक्ष विकलाई नियन्त्रणमा लिन प्रहरी टोली खटाइएको थियो।
प्रहरीका अनुसार उनी प्रहरीसँग जान नमानेपछि जिल्ला प्रहरी प्रमुख डीएसपी वेदबहादुर पौडेलले फोन गरेर जिल्ला प्रहरी कार्यालयमा बोलाएका थिए। त्यसपछि उनी आफ्ना सहयोगीसँग मोटरसाइकलमा प्रहरी कार्यालय पुगेका थिए।
ड्युटीमा रहेका प्रहरीलाई काममा अवरोध गरेको आरोपमा विकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई जिल्ला प्रशासन कार्यालयबाट तीन दिनको म्याद थप गरी हिरासतमा राखिएको छ।
प्रहरीका अनुसार पक्राउ गर्नुअघि मेडिकल जाँचका लागि वडाध्यक्षलाई अस्पताल लैजान खोजिएको थियो।
तर, उनले अस्पताल जान नमानेपछि प्रहरीसँग तानातान भएको र सोही क्रममा टेबुलमा ठोक्किएर आँखामुनि चोट लागेको प्रहरी अधिकारीको दाबी छ।
तर, नेपाली कम्युनिष्ट पार्टीका जिल्ला संयोजक गोविन्द रोका र सह–संयोजक सुरज परियारले विज्ञप्ति जारी गर्दै वडाध्यक्ष विकलाई प्रहरीले हिरासतमा पुर्याएपछि कुटपिट गरी घाइते बनाएको आरोप लगाएका छन्।
उनीहरूले विकको टाउको, अनुहार र घाँटीमा चोट लागेको दाबी गर्दै तत्काल रिहाइको माग गरेका छन्।
प्रहरीले भने जिल्ला अस्पतालमा उपचारपछि विकलाई थप उपचारका लागि सुर्खेत पठाइएको र कर्णाली प्रादेशिक अस्पतालले अवस्था सामान्य रहेकाले डिस्चार्ज गर्न खोज्दा आफन्त तथा केही नेकपा कार्यकर्ताले नमानेको दाबी गरेको छ।
घटनाबारे आठबिसकोट नगरपालिकाले पनि विज्ञप्ति जारी गरेको छ।
कार्यबाहक नगरप्रमुख धनकुमारी शाहीले विकास निर्माणको काममा अवरोध गर्ने र निर्माण व्यवसायीलाई धम्काउने व्यक्तिमाथि कारबाही गर्न माग गरेकी छन्।
प्रहरीका अनुसार वडाध्यक्ष विक यसअघि पनि विभिन्न मुद्दामा पक्राउ परिसकेका व्यक्ति हुन्।
२०७६ पुस ३ गते अभद्र व्यवहारसम्बन्धी मुद्दामा पक्राउ परेका उनी १० हजार रुपैयाँ धरौटीमा छुटेका थिए।
त्यस्तै, २०७७ असार ५ गते ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा पक्राउ परेका उनी अदालतको आदेशमा एक लाख रुपैयाँ धरौटीमा छुटेका थिए।
२०७७ माघ ७ गते पनि अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता भएको र अनुसन्धानपछि जिल्ला प्रशासन कार्यालयको आदेशमा २४ हजार रुपैयाँ धरौटीमा छुटेको प्रहरीले जनाएको छ।