रसायनका अणुहरूमा देखिने रहस्यमय ‘मिरर इमेज’ (ऐनामा देखिने प्रतिबिम्ब जस्तो) सम्बन्धी शताब्दी पुरानो रहस्य समाधान गर्न महत्वपूर्ण योगदान पुर्याएका हेनरी बी कागान र केन्सो सोआईलाई सन् २०२६ को रसायन शास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ।
स्विडेनको स्टकहोममा बुधबार रोयल स्विडिस एकेडेमी अफ साइन्सेसले पुरस्कार घोषणा गरेको हो।
नोबेल रसायनशास्त्र समितिका अध्यक्ष हाइनर लिङ्केका अनुसार कागान र सोआईले रासायनिक अणुहरूमा ‘होमोचिरालिटी’ (मिरर इमेज) कसरी स्वतः उत्पन्न हुन सक्छ भन्ने एक शताब्दीभन्दा पुरानो रहस्यको समाधान प्रस्तुत गरेका छन्।
समितिले उनीहरूले विकास गरेका रासायनिक प्रतिक्रियालाई असाधारण भन्दै यसले औषधि निर्माणका लागि आवश्यक रासायनिक प्रतिक्रियाहरू डिजाइन गर्ने रसायनशास्त्रीहरूलाई निर्णायक सहयोग पुगेको जनाएको छ।
९५ वर्षीय कागान फ्रान्समा जन्मिएका हुन् र उनी फ्रान्सको ओरसेस्थित युनिभर्सिते पेरिस–सुदसँग आबद्ध छन्।
जापानमा जन्मिएका सोआई भने टोकियो युनिभर्सिटी अफ साइन्ससँग आबद्ध छन्। नोबेल समितिले सम्पर्क गर्दा सोआई आफ्नै घरनजिकै किनमेल गरिरहेका थिए।
गत वर्ष रसायन शास्त्रतर्फको नोबेल पुरस्कार ठूलो मात्रामा ग्यास थुन्न सक्ने नयाँ आणविक संरचना विकास गर्ने तीन वैज्ञानिकलाई प्रदान गरिएको थियो।
उनीहरूको अनुसन्धानले वायुमण्डलबाट हरितगृह ग्यास हटाउने तथा मरूभूमि क्षेत्रमा आर्द्रता संकलन गर्ने सम्भावनाको आधार तयार गरेको थियो।
यस वर्षका नोबेल पुरस्कारको घोषणा सोमबार चिकित्सा शास्त्रबाट सुरू भएको थियो।
मस्तिष्कको कार्यप्रणाली बुझ्न प्रकाशको प्रयोग गर्ने उपकरण विकासमा योगदान पुर्याएका तीन वैज्ञानिकलाई चिकित्सा शास्त्रतर्फको पुरस्कार दिइएको थियो।
मंगलबार भौतिक शास्त्रतर्फ दुर्लभ प्रकारका न्युट्रिनोबारे बुझाइ विस्तार गर्ने अनुसन्धानका लागि पुरस्कार घोषणा गरिएको थियो।
यस वर्ष प्रत्येक नोबेल पुरस्कारको पुरस्कार राशि करिब १२ लाख अमेरिकी डलर रहेको छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)