नेपालका वरिष्ठ युरोलोजिस्ट (मूत्ररोग विशेषज्ञ) डा. सञ्जय खड्गी अन्तर्राष्ट्रिय प्रतिष्ठित ‘डिस्टिङ्गुइस्ड करियर अवार्ड’ बाट सम्मानित भएका छन्।
इटालीको फ्लोरेन्समा आयोजित इन्टरनेसनल सोसाइटी अफ युरोलोजी (एसआईयू) को ४६ औँ महासभाका अवसरमा नोभेम्बर ११ मा उनलाई उक्त सम्मान प्रदान गरिएको हो।
युरोलोजी क्षेत्रमा दीर्घकालीन योगदान र उपलब्धिको कदरस्वरूप दिइने यो सम्मान संस्थाको सर्वोच्च पुरस्कारमध्ये एक हो।
सन् १९०७ मा स्थापित एसआईयूमा १४० भन्दा बढी देशका १७ हजारभन्दा बढी युरोलोजिस्ट आबद्ध छन्।
हालसम्म एसियाका १७ जना युरोलोजिस्टले मात्रै यो पुरस्कार प्राप्त गरेका छन्।
पुरस्कारसँगै डा. खड्गीको तस्बिर क्यानडाको मोन्ट्रियलस्थित एसआईयू मुख्यालयमा रहेको अवार्ड विजेताहरूको ग्यालरीमा राखिनेछ।
डा. खड्गीले सन् २००५ मा नेपालमा ‘मिनी–पीसीएनएल’ प्रविधि भित्र्याएका थिए। उनले हालसम्म हजारौँ जटिल शल्यक्रिया सम्पन्न गरिसकेका छन्।
भारत, जर्मनी, चीन, मोरक्को, कुवेत, कतार, पाकिस्तान, टर्की, मलेसिया र फ्रान्सलगायत देशमा उक्त प्रविधिको प्रत्यक्ष शल्यक्रिया प्रदर्शनसमेत गरेका छन्।
उनी ‘वर्ल्ड कंग्रेस अफ इन्डोयुरोलोजी’ मा अन्तर्राष्ट्रिय फ्याकल्टी तथा अतिथि वक्ताका रूपमा आमन्त्रित हुने नेपालकै पहिलो युरोलोजिस्ट हुन्।
उनले अमेरिकन युरोलोजिकल एसोसिएसन, एसआईयू लगायत अन्तर्राष्ट्रिय संस्थाका कार्यक्रममा विज्ञ वक्ताका रूपमा सहभागिता जनाउँदै आएका छन्।