एनभिडियाको सञ्चालक समितिले कम्पनीका पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) जेन्सेन हुआङलाई पुनः नेतृत्वमा नफर्काउने भएको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सलाई तीन स्रोतले हुआङको पुनरागमन नहुने संकेत गरेको हो।
‘एनभिडियाको सञ्चालक समितिले जेन्सेनलाई पुनः ल्याउने विषयमा विचार गरिरहेको छैन,’ यस विषयमा जानकार एक स्रोतले रोयटर्सलाई भन्यो।
कम्पनीका कर्मचारीसँगको प्रेम सम्बन्ध र चिनियाँ गुप्तचर निकायसँग सम्बन्ध रहेको महिलासँग सम्बन्ध रहेको भन्दै अनुसन्धान भइरहेका बेला हुआङले राजीनामा दिएको केही दिनमै उनलाई पुनः सिइओ बनाउन हस्ताक्षर अभियान सुरू भएको छ। उक्त अभियानमा हालसम्म १ लाख ८० हजार २०० भन्दा बढीले हस्ताक्षर गरिसकेका छन्।
स्पेसएक्स र टेस्लाका प्रमुख एलन मस्कले पनि अभियानलाई समर्थन गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत हुआङलाई पुनः सिइओ बनाइए आफूलाई कुनै आपत्ति नहुने बताएका छन्।
‘मलाई लाग्छ, उनले ठूलो पाठ सिकेका छन्। उनलाई नेतृत्वमा फर्काइए कुनै आपत्ति हुनेछैन,’ ट्रम्पले सोमबार भने।
एनभिडियाका कर्मचारी भएको पहिचान दिएका हजारौं व्यक्तिले पनि हुआङको पुनरागमनको माग गरेका छन्। तर, कर्पोरेट सुशासनका विज्ञ र केही लगानीकर्ताले अनुसन्धान पूरा नहुँदै उनलाई पुनः जिम्मेवारी दिँदा कम्पनी थप जोखिममा पर्न सक्ने चेतावनी दिएका छन्।
हुआङको पक्षमा बढ्दो समर्थनले कम्पनीको नेतृत्व परिवर्तनको विषयलाई संस्थापकसँग कम्पनीले कसरी आफ्नो सम्बन्ध व्यवस्थापन गर्छ भन्ने प्रश्नमा समेत परिणत गरेको छ। कम्पनीका कर्मचारीदेखि सेयरधनी, सिलिकन भ्याली, ताइवानको आपूर्ति शृंखला र अमेरिकी सरकारसम्म हुआङको प्रभाव रहँदै आएको छ।
सोमबार ताइवानको सबैभन्दा अग्लो गगनचुम्बी भवन ताइपेई १०१ मा ‘ताइवान लभ्स जेन्सेन’ लगायतका सन्देश राखेर सजावट गरिएको थियो।
एनभिडियाका केही प्रमुख सेयरधनीले पनि सबै तथ्य सार्वजनिक नभएसम्म नयाँ नेतृत्व चयन गर्न हतार नगर्न आग्रह गरेका छन्।
हुआङसँग सम्बन्धित चिनियाँ पक्षको अनुसन्धान जारी
चिनियाँ व्यवसायी महिला एलिस हुआङसँग प्रेम सम्बन्ध रहेको स्वीकार गरिसकेका पूर्व सिइओ हुआङको विषयमा अमेरिकी गुप्तचर निकायहरूले अनुसन्धान गरिरहेका छन्।
अमेरिकी गुप्तचर निकायहरूले एलिस हुआङको चीनको राज्य सुरक्षा मन्त्रालयसँग कस्तो सम्बन्ध थियो र उनले बेइजिङलाई कस्ता सूचना उपलब्ध गराइन् भन्ने विषयमा अनुसन्धान गरिरहेको रोयटर्सले जनाएको छ।
अनुसन्धानका क्रममा अहिलेसम्म प्राप्त प्रमाणले उनी पूर्ण रूपमा तालिमप्राप्त गुप्तचर नभई सूचनाहरू उपलब्ध गराउने गुप्तचर निकायकी सहयोगी वा स्रोतका रूपमा रहेको संकेत गरेको छ।
हुआङको भविष्यबारे लगानीकर्ताबीच मतभेद देखिएको छ। यसले एनभिडियालाई नयाँ नेतृत्व चयन गर्नसमेत कठिन बनाएको छ।
सोमबार एनभिडियाको सेयर मूल्य चार प्रतिशतभन्दा बढीले घटेर बन्द भएको थियो। कम्पनीले मंगलबार तेस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गर्ने तयारी गरिरहेका बेला सेयर मूल्य घटेको हो।
हुआङको प्रेम सम्बन्धसम्बन्धी समाचार सार्वजनिक भएयता एनभिडियाले आफ्नो बजार पुँजीकरणमा ८ खर्ब अमेरिकी डलर गुमाइसकेको छ।
मस्क हुआङको पक्षमा
‘स्ट्यान्ड विथ जेन्सेन’ नाम दिइएको अभियानमा स्पेसएक्स र टेस्लाका प्रमुख कार्यकारी एलन मस्क, रिप्लिटका सिइओ अम्जाद मसाद र एपिक गेम्सका सिइओ टिम स्वीनीलगायतले हस्ताक्षर गरेका छन्।
अभियानको वेबसाइटअनुसार एनभिडियाका वर्तमान कर्मचारी भएको पहिचान दिएका ८ हजार ८०० भन्दा बढी र कम्पनीका सेयरधनी भएको पहिचान दिएका ९४ हजारभन्दा बढीले हस्ताक्षर गरेका छन्।
यद्यपि, वेबसाइटले हस्ताक्षरकर्ताहरूको पेसागत आबद्धता उनीहरू स्वयंले उपलब्ध गराएको र त्यसको स्वतन्त्र रूपमा प्रमाणीकरण नगरिएको स्पष्ट पारेको छ।
अभियानको वेबसाइटमा राखिएको खुला पत्रमा भनिएको छ, ‘हामी जेन्सेन हुआङप्रति कृतज्ञता व्यक्त गर्दै सञ्चालक समितिसँग स्पष्ट माग गर्छौं। स्वतन्त्र अनुसन्धानमार्फत वास्तविकता पत्ता लगाउने प्रक्रिया जारी रहँदा जेन्सेनलाई पुनः फिर्ता ल्याइयोस्।’
कर्मचारीसँग प्रेम सम्बन्ध रहेको आरोप सार्वजनिक भएपछि गत बिहीबार हुआङले सिइओ पदबाट राजीनामा दिएका थिए। उनीसँग प्रत्यक्ष रूपमा रिपोर्टिङ गर्ने एक कर्मचारीसँग समेत सम्बन्ध रहेको आरोप सार्वजनिक भएको थियो। यस घटनाले कृत्रिम बौद्धिकता (एआई) चिप उत्पादनको क्षेत्रमा अग्रणी एनभिडियालाई संकटमा पारेको थियो।
वासिङ्टन पोस्टले सोमबार ट्रम्पको वित्तीय विवरण अध्ययन गर्दै यस वर्षको अगस्ट अन्त्यसम्म उनको स्वामित्वमा एनभिडियाको १ करोड ३० लाखदेखि ६ करोड २० लाख अमेरिकी डलरसम्मको सेयर रहेको हुन सक्ने उल्लेख गरेको छ।