पोखराको लेकसाइडमा देउसीभैलो हेर्ने क्रममा झैझगडा तथा कुटपिट गरेको आरोपमा प्रहरीले नौ जनालाई नियन्त्रणमा लिएको छ।
कास्कीको पोखरा महानगरपालिका–६ लेकसाइडस्थित लेबल क्लब अगाडि गत कात्तिक २५ गते राति २ बजे देउसीभैलो हेर्ने क्रममा उनीहरूबीच झगडा भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
उक्त घटनाको भिडिओ सामाजिक सञ्जालमा प्रसारित भएपछि प्रहरीले अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा घटनामा संलग्न रहेको आरोपमा कात्तिक ३० गते नौ जनालाई वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा धादिङ स्थायी घर भई हाल पोखरा–११ बस्ने २८ वर्षीय आशिष मगर, कास्कीको रुपा गाउँपालिका–७ घर भई पोखरा–१२ माटेपानी बस्ने ३० वर्षीय अरुण थापा, माछापुच्छ्रे गाउँपालिका–२ घर भई पोखरा–१९ लामाचौर बस्ने २४ वर्षीय सन्दीप गुरुङ र मोरङको लेटाङ नगरपालिका–१ घर भई पोखरा–१६ दीप बस्ने २३ वर्षीय मनिष राई छन्।
त्यस्तै, पर्वतको मोदी गाउँपालिका–४ घर भई पोखरा–१९ लामाचौर बस्ने २० वर्षीय अभिषेक गर्भुजा, म्याग्दीको रघुगंगा गाउँपालिका–७ घर भई पोखरा–११ फूलबारी बस्ने २८ वर्षीय प्रभात पुन, सोही ठाउँका २३ वर्षीय प्रसन गर्भुजा, २३ वर्षीय एनिस थापा र २४ वर्षीय सुन्दर पुन पनि पक्राउ परेका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।