रोल्पामा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ।
घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिला र चलिरहेको गाडिबाट लडेर एक पुरूषको मृत्यु भएको हो।
बुधबार दिउँसो जिल्लाको त्रिवेणी गाउँपालिका– ६ खल्टाकुराकी ४५ वर्षीया दिलकुमारी खड्काको जारखोलाको भीरमा घाँस काट्ने क्रममा भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले बताए।
उनी खर काट्न भनेर गएको समयमा भीरबाट लड्न पुगेकी थिइन ।
त्यस्तै त्रिवेणी – ३ छापका ३० वर्षीय गणेश घर्ती मगरको चलिरहेको गाडीको ढोकाबाट लडेर मृत्यु भएको छ।
यो घटना पनि बुधबार बेलुकी सवा ८ बजेतिरको हो ।
जिल्ला सदरमुकाम लिवाङबाट भित्री सडक खण्ड नुवागाउँदेखि जुँगार तर्फ जाँदै गरेको भे १ ज १७६२ नम्बरको इभी गाडीको ढोकामा उभिएर यात्रा गरिरहेका मगर त्रिबेणी – ५ जनजागृति विद्यालयको गेट नजिकै लड्न पुगेका थिए।
टाउकोको चोटका कारण गम्भीर अवस्थाका उनलाई प्राथमिक स्वास्थ्य चौकी जुँगारको प्रारम्भीक उपचार पछि थप उपचारका लागि प्रहरीले स्वास्थ्य चौकी नेर्पामा पुर्याएको थियो ।
उनलाई राति नै स्वास्थ्यकर्मीले मृत घोषणा गरे पनि औपचारिक रुपमा भने घोषणा हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
यो घटनालाई लिएर स्थानीयहरु भेला हुन थालेको हुँदा थप प्रहरी परिचालन गरिएको पनि प्रहरीले जनाएको छ ।
चालक त्रिबेणी – ६ कालापानीका २५ वर्षीय राजु परियारलाई प्रहरीले मध्य राति जिल्ला प्रहरी कार्यालय होलेरी पुर्याएको थियो ।
यो घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।