सुरूमा अलि पहिलेको धनगढीको चर्चा।
सुदूरपश्चिमको दक्षिणतिर नेपाल–भारत सीमापारि दुधवाको जंगलनजिकै बसेको सानो सहर। चौराहको चौबाटोदेखि पूर्वतिर लमतन्न तन्किएको बजार।
सडकका दुवैतिर बनेका घरका कम्पाउन्डमा निजी निवाससँगै केही सरकारी कार्यालय अनि पसलै पसल। लगभग एक किलोमिटर पूर्व पुग्दा बजार समाप्त।
मेचीलाई महाकाली जोड्ने पूर्व–पश्चिम राजमार्गबाट उत्तर–दक्षिण जाने सडकमा मात्र दुई वटा बजार— उत्तरमा अत्तरिया र दक्षिणमा धनगढीको चौराह।
चौराहबाट मुस्किलले एक किलोमिटर दक्षिण लागेपछि भारतको उत्तर प्रदेश छिर्ने गौरीफन्टा नाका। पारिपट्टि पाटेबाघदेखि बाह्रसिंगासम्म विचरण गर्ने दुधवा राष्ट्रिय निकुञ्ज।
सन् २००० तिर मैले पत्रकारितामा बामे सर्न सुरू गर्दा धनगढी त्यस्तै देखेको थिएँ। काठमाडौंबाट धनगढी पुग्न कि त निकै लामो बस यात्रा गर्नुपर्ने, कि त नेपालगन्जसम्म उडानमा गएर फेरि मोटर चढ्नुपर्ने।
अझ सन् १९९४ अघिसम्म त धनगढी पुग्न झनै मुस्किल थियो रे।
तर फगत एउटा पुलले धेरै फरक पार्ने रहेछ।
किनभने अग्ला पिलरबाट झारिएका तारैतारमा अड्याएर बनाइएको आकर्षक कर्णाली पुल सन् १९९३ डिसेम्बर १४ (२०५० मंसिर २८) मा खुल्नुअघि बस र ट्रकलाई समेत ठूलो डुंगामा राखेर नदी तार्नुपर्ने बाध्यता थियो।
त्यसअघि, अझ मेरो बुबाले जागिर खाँदाका बेला त धनगढी पुग्न भैरहवाबाट पारि भारत गएर रेलयात्रा गर्दै पश्चिम गएर फेरि दुधको वनको बाटो नेपाल पस्नुपर्ने बाध्यता थियो रे।
सन् २०२६ मा आइपुग्दा कर्णाली र महाकालीबाट धेरै पानी बगिसकेको छ।
धनगढी मात्र होइन, पूरै सुदूरपश्चिम नेपाल धेरै फेरिइसकेको छ। भारतका लखनउ, दिल्ली, बरेली र हल्द्वानीजस्ता सहरलाई आफ्नो रोजीरोटी, स्वास्थ्य र शिक्षाको असली मुकाम ठान्ने सुदूरपश्चिम अब बाँकी नेपालसँग मजाले जोडिइसकेको छ।
यतिसम्म कि कुनै कामविशेषले बिहानैको उडानमा काठमाडौं जाने सुदूरवासी काम भ्याएर साँझ धनगढी फर्किन सक्ने वातावरण बनेको पनि धेरै भइसकेको छ।
सुदूरका पहाडलाई मात्रै जोड्दै आएको गेटा विमानस्थल अहिले देशका अन्य सहर जोड्न काबिल भइसकेको छ। अझ स्तरोन्नति गर्दै धावनमार्ग तन्काएर गेटालाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउने योजनाका कागजपत्र तयार भएको पनि निकै समय भइसकेको छ।
'धनगढीलाई केही कुरा आवश्यक छ भने त्यो पैसा नै हो,' व्यापार व्यवसायको उतारचढाव सहँदै चार वर्षअघि धनगढी उपमहानगरपालिकाका मेयर चुनिएका गोपाल (गोपी) हमालले हालैको एक बिहान सेतोपाटीसँग भने, 'पैसाकै अभावमा हाम्रा करिडोर सडकदेखि बसपार्क निर्माण अनि ताल संरक्षणका आयोजनाहरू अझै अधुरा अपूरा छन्।'
अहिलेको धनगढी
साँझपख ड्रोनबाट खिचिएको धनगढीको तस्बिर। सौजन्य: धनगढी उपमहानगरपालिका
६ वर्षअघि गोपी हमालकै निमन्त्रणामा उनीहरूले नै सञ्चालन गरेको दिनेशखबरमा तीनमहिने अतिथि सम्पादकको भूमिका निर्वाह गर्न म धनगढी पुग्दा त्यो सहरले पहिलेको भन्दा धेरै काँचुली फेरिसकेको थियो।
अत्तरियादेखि धनगढी जोड्ने ६ लेनको चिल्लो सडक धनगढीको नयाँ शान बनिसकेको थियो। दुवैतर्फ नगर विकासको क्रम तीव्र भइसकेको थियो।
केही साताअघि हामी भारतको उत्तराखण्ड पुगेर नेपाल फर्किँदा झनै फरक दृश्य देखियो।
महाकालीपारि वनबासा सडकछेउका लट्ठामा जडान गरिएका भारतका झन्डाका तिरंगा अर्थात् तीन रङ (सुन्तला, सेतो र हरियो) का प्रकाशमा चम्किएका बत्तीको झिलिमिली हेर्दै नेपाल छिरेको एक घण्टापछि गेटानजिकै पुग्दा सडकबीचको डिभाइडरका लट्ठामा फरक रङका झिलिमिली प्रकाश देखिए।
नीलो, सेतो र रातोको झिलिमिली।
एकछिन त झुक्किएँ— कता कता फ्रान्सको झन्डासँग मेल खान्छ त?
तर पछि नेपालको दुई त्रिभुज भएको झन्डाका नीलो, सेतो र रातो रङ सम्झिएँ। अनि नेपाली झन्डाका रङका प्रकाशको झिलिमिली देख्दा साँच्चै नेपाल घर आएको जस्तो अनुभूति भयो।
अहिले त 'आहा धनगढी' भन्नुपर्ने जस्तो पो भएछ।
डिभाइडरका बत्तीको प्रकाशमा मुनितिर सडककिनारका रूखको हरियाली र फूलहरू पनि देखिए। गेटानजिकै चौडा सडकको अर्कोतिर भाटभटेनी सुपर मार्केटको भव्य भवनको चमकले थप आधुनिकता झल्काइदियो।
धनगढी उपमहानगर त झनै राम्रो पो देखिएछ!
तर जिज्ञासा जाग्यो— धनगढीभित्रको अवस्था कस्तो होला? धनगढी र वरपर बस्ने सुदूरपश्चिमेलीहरूको जीवनस्तर फेरियो होला कि उस्तै होला? धनगढीलाई आफ्नो मुकाम ठान्ने सुदूरका अछाम, कञ्चनपुर, कैलाली, डडेल्धुरा, डोटी, दार्चुला, बझाङ, बाजुरा र बैतडीका साथै तराईका आदिवासी थारू र अन्यत्रबाट सुदूरपश्चिममा पुनर्वास गराइएका मानिसको जीवनस्तर माथि जाँदै होला कि नहोला?
धनगढीका धड्कन
धनगढी उपमहानगरपालिकाले आयोजना गरेको सफाइ कार्यक्रममा सहभागी केही नगरवासी महिला। तस्बिर सौजन्य: धनगढी उपमहानगरपालिका
समयसँगै धनगढीका मानिस पनि फेरिने नै भए।
सन् २०२१ लाग्ने बेलामा चौडा सडकछेउकै चटकपुरको चर्चित वर्षा होटलले अहिले नयाँ व्यवस्थापनसँगै नयाँ नाम पाएछ— सितारा होटल।
डोटीका एक बड्डाले त्यो होटल र दिपायलको आफ्नो अर्को होटलसमेत भाडामा दिएर पूर्वतिरको तारानगरमा घर बनाएछन्। एउटा स्कर्पियो गाडी किनेछन्।
दिपायलको होटल हेर्ने उनका छोरा हिजोआज पहाड–तराईका यात्रु ओसार्ने चालक भएछन्।
कडा मिजासका तर मेहनती ती बड्डाका भतिजा दानेश साउद चाहिँ सितारा होटलमै काम गर्दा रहेछन्। हालै विवाह गरेर नाबालकका बाबु बनेका दानेशको तरक्की पनि भएछ। हालै नयाँ एफजेड मोटरसाइकल पनि किनेका छन्।
वर्षा होटलमा भान्सेको काम गर्ने डडेल्धुराका हरिश खड्काको त्यहीँ काम गर्ने एक बाजुरेली युवतीसँग प्रेम सम्बन्ध रहेछ। त्यो रहस्य थाहा पाएपछि ती बड्डाले एक साँझ दुवैलाई बर्खास्त गरिदिएका थिए।
आफ्ना पोका बोकेर उनीहरू चुपचाप होटलबाट बाहिरिँदा म एकतमासले उनीहरूलाई हेरेको हेरेइ भएको थिएँ।
'अहिले उनीहरूको बच्चा भएको छ, सबै राम्रो छ,' हालैको एक बिहान मेरो नास्ता खाने साथी बनेका दानेशले भने।
तर वर्षा होटलपारि रहेको दिनेशखबरको रेडियो, अनलाइन र डिजिटलमा काम गर्ने प्रायः सबै सहकर्मी राम्रो अवसरको खोजीमा काठमाडौं पुगिसकेछन्। पूर्वअध्यक्ष गोपी हमाल चार वर्षअघि दोस्रो चुनावी लडाइँपछि नेपाली कांग्रेसका नृपबहादुर ओडलाई हराएर मेयर भइगए।
उनी 'हाम्रो धनगढी, हामी बनाउँछौं' अभियान अघि बढाउन भ्याइनभ्याइ छन्।
पत्रकार जनक सिंह बिष्टले आफ्नै अनलाइन खोलेछन्। अर्का पत्रकार लखन चौधरी कैलारी गाउँमा कृषि कर्म गर्दै धनगढीको अर्को घरमा ओहोरदोहोर गरेर आफ्नै अनलाइन चलाउँदै थिए। हालै उनी सत्तासीन रास्वपाका जिल्ला नेता बनेका छन् रे।
भर्खरै दिनेशखबरबाट बिदा भएका आर्थिक पत्रकार वीरेन्द्र भट्टले धनगढीसँगै टाँसिएको आफ्नो गृहनगर अत्तरिया मुकाम बनाएर हालै एउटा नयाँ अनलाइन तथा डिजिटल मिडिया खोलेछन्।
धेरैले सुदूरपश्चिम छोडे पनि धनगढीको चौराह क्षेत्र सुदूरपश्चिमेलीका साथै विकासकर्मी र क्यासिनोप्रेमी भारतीय पर्यटकको चहलपहलले गुलजार रहन्छ।
चौराहमा खुलेको नेपालगन्ज सेकुवा बन्द भइसकेछ। बरू सिद्धार्थ होटल लगायत थुप्रै नयाँ होटल खुलिसकेछन्। चटकपुरपूर्वको शिवपुरी धामपारि तारानगर र अझ पूर्व शिवनगरमा बजारसँगै बस्ती विकास तीव्र बन्ने क्रम जारी रहेछ।
पछिल्लो जनगणना अनुसार सुदूरपश्चिम प्रदेशमा करिब २७ लाख मानिस बसोबास गर्छन्। तीमध्ये ६० प्रतिशत सहरी क्षेत्रमा बस्छन्। गणनामा गनिए पनि प्रायः बेरोजगार र विपन्न प्रदेशबाहिर भारत वा तेस्रो देश पुगिसकेका छन्।
धेरै धनाढ्यहरूले महेन्द्रनगर (भीमदत्तनगर), अत्तरिया वा धनगढीमा घर बनाइसकेका छन्।
यही सहरमा हिजोआज सिंगो नेपाली विविधता देख्न सकिन्छ।
पश्चिम तराईका आदिवासी थारूसँगै सुदूरपहाडका कुना–कन्दराबाट झरेर घरजम गरेका मानिस। पूर्व–पश्चिम राजमार्ग बन्न थालेपछि मेचीदेखि मधेस अनि सबैतिरबाट पुनर्वास गराइएका मानिस। यदाकदा नेपाली शिख परिवार पनि।
उनीहरू सबै हुन् धनगढीका असली धड्कन।
पश्चिमतिर मोहना नदीको बगरतिर पनि बस्ती विस्तार र विकासको क्रम तीव्र छ।
त्यही बगरमा रहेको फाप्ला क्रिकेट मैदानको रंगशाला बन्ने सपना अझै अधुरै रहेछ, बरा!
धनगढी बजारमा चौलानी स्टोर र होटल चलाउने दार्चुलाका मानसिंह साउदले अन्य लगानीकर्तासँग मिलेर पाँचतारे होलिडे इनको तयारी थालिसकेछन्। धनगढी सहर हरियो र झकिझकाउ देखिएपछि दक्षिणतिर मोहना नदीपारिको गौरीफन्टामा नेपाल–भारत आउजाउ गर्ने नेपालीको भीड अहिले पनि उस्तै छ।
सुदूरपश्चिममा पर्याप्त उद्योगधन्दा र कृषि क्रान्ति नहुँदा सहज रोजीरोटीका लागि भन्दै गौरीफन्टाबाट भारत पस्ने नेपालीहरूको लावालस्कर ६६ किमी पश्चिमको महाकाली सीमाको गड्डाचौकीको भन्दा फरक देखिएन।
'राम्रो कमाइ खोज्दै यताका युवायुवती भारत मात्रै कहाँ हो र, अरू देश जाने क्रम झनै बढेको छ हिजोआज,' पूर्वतिरको जोखर ताल घुमेर फर्किँदा चैतन्य पाठशालानजिकै भेटिएका ऐश्वर्य बहुमुखी क्याम्पसका अर्थशास्त्रका उपप्राध्यापक गोविन्द उपाध्यायले भने।
'हाम्रो क्याम्पसमा स्नातक पढ्न भर्ना हुने ७०० मध्ये २०० विद्यार्थी हाजिर मात्रै भएर जापानी भाषा सिक्न भन्दै पढाइ छोड्न थालेका छन्। त्यसले के संकेत गर्छ, आफै बुझ्नुहोस्।'
धनगढीको भविष्य
एउटा अभियानको क्रममा साइकल चढेर अघि बढ्दै धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमाल। तस्बिर सौजन्य: धनगढी उपमहानगरपालिका
पूर्व–पश्चिम राजमार्ग निर्माण सुरू भएपछि पूर्व र मध्य नेपालदेखि मधेशसम्मका थरिथरिका नेपालीहरू पनि कञ्चनपुर र कैलालीमा बसाइँ सर्न थाले। देशका कैयौं पहाडी र तराईका जिल्लाका नेपालीहरूलाई बसोबास गराइएको पुनर्वास नगरपालिका पनि धनगढीनजिकै छ।
धनगढीमा एउटा घर खासगरी धेरै सुदूर पहाड वा तराईवासीको चाहना हुन्छ।
वनबासादेखि दिल्ली र उत्तराखण्डसम्म जिप चलाउन व्यस्त रहने बाजुराका डबल राउतको योजना त्यस्तै छ— हाल छोराछोरी पढिरहेको धनगढी सहरमै भविष्यमा सानो घर बनाउने।
कारण प्रस्टै छ— अलि उत्तरमा पर्ने गोदावरीको तेघरी वनमा प्रदेशको मुकाम निर्माण गर्ने महँगो योजनाले हावा खाएजस्तो भएपछि धनगढी समग्र प्रदेशकै अघोषित राजधानी बनिसकेको छ।
औद्योगीकरण तीव्र नभए पनि यो सहरमा पहिलेदेखि नै फस्टाएको शिक्षा, स्वास्थ्य र व्यापार सुस्तरी उकालो लागिरहेको देखिन्छ। अत्तरियाको गेटामा सहिद दशरथ चन्द मेडिकल विश्वविद्यालय सञ्चालनमा आउन लागेपछि सुदूरवासीको आशा अकासिन थालेको छ।
अझ पश्चिममा महाकालीपारिको नेपाली भूभाग दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह पनि त बन्दैछ। भलै, सुदूरपश्चिमका महाकाली करिडोर राजमार्ग र डोटी जोड्ने द्रुतमार्गका योजना कागजमै छन्।
सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर नेपालको चार प्रतिशतभन्दा कम वृद्धिदरभन्दा पनि थोरै कम छ। तैपनि सफा र चिरिच्याट्ट देखिने धनगढीको पारा र रफ्तार भने केही आशा जगाउने खालको देखिन्छ।
झन्डै दुई लाख मानिस बस्ने धनगढीका १९ वटा वडामा सुधारका कामहरू अन्य नगरपालिकाको भन्दा लोभलाग्दा भएको पत्रकार नारायण अवस्थी बताउँछन्। त्यसैले होला, बैतडीको पुर्चौडी थातथलो भएको उनको परिवारले शिवनगरमा घडेरी किनिसकेको छ।
मेयर गोपाल हमालका मिडियाका पूर्वपत्रकार भएपछि हमाल नेतृत्वको पालिकाले चालेका सडक अतिक्रमण हटाउने, सौन्दर्यीकरण, सरसफाइदेखि भारतबाट आइपुग्ने छाडा गाईवस्तुको व्यवस्थापन तथा उद्यम तालिमदेखि सुदूरपश्चिमका गन्तव्य प्रवर्द्धनजस्ता अभियान तथा सुधारका कदमहरूको मुक्तकण्ठले प्रशंसा गर्ने नै भए।
प्रदेशकै सबैभन्दा बढी धान उत्पादन गर्ने जिल्ला कैलाली हो। जिल्लामा गहुँ, तोरी, सागसब्जी, फलफूलका साथै माछा र पशुपालनका सम्भावना धेरै भएको भनिए पनि तीव्र बसाइँसराइका कारण धनगढी लगायत सहरमा कृषियोग्य जमिन घडेरी र प्लटमा बदलिँदैछन्।
प्रचुर सम्भावना हुँदाहुँदै पनि सुदूरवासीको भारत, काठमाडौं वा तेस्रो देशमोह अन्य नेपालीको भन्दा फरक छैन।
प्रश्न उठ्छ— सुदूरपश्चिम प्रदेशको यो अघोषित मुकामको भविष्य के? यहाँ पूरै प्रदेशलाई लाभ हुने गरी दिगो आर्थिक विकासको ढोका कहिले खुल्ने होला?
उपप्राध्यापक उपाध्यायका विचारमा समग्र सुदूरपश्चिम र धनगढीको विकासको बाटोमा धेरै तगाराहरू कायमै छन्, जसलाई पार गर्दै अघि बढ्ने काम निकै चुनौतीपूर्ण छ। उनको भनाइमा पछिल्लो समयमा धनगढीबाट केही सुधारका लहर सुरू भए पनि बेरोजगारी, परम्परागत कृषिप्रतिको मोहभंग, सुस्त औद्योगीकरणजस्ता समस्या समाधान नगरी सुदूरपश्चिम उकालो लाग्दैन।
'बेरोजगारी हल गर्न पहिला त सीप सिकाउन जरूरी छ, दोस्रो कृषिमा आधुनिकीकरण गरी उत्पादन बढाउन जरूरी छ र तेस्रो बजार बनाउन जरूरी छ,' उपाध्यायले भने, 'अब तीनै तहका सरकारले ती कुरामा ध्यान दिई व्यापक रूपमा कृषिजन्य र अन्य उद्योगधन्दाको विस्तार गर्न जरूरी छ।
उनले थपे, 'यहाँको हिमालदेखि पहाड र तराईका प्रमुख मुकामहरूमा सानासँगै मझौला र ठूला आयोजना जरूरी छन्। त्यसपछि मात्रै यहाँका मानिस अवसरको खोजीमा बाहिर जाने क्रम रोकिएला'
मेयर गोपी हमाल भने वनदेवी टोलमा रहेको धनगढी उपमहानगरपालिकाको कार्यालयमा व्यस्त रहन्छन्। कामसँगै उनी प्रचारप्रसार गर्न अब्बल छन्। गत चुनावमा उनले 'एउटा मात्र कार्यकालका लागि' भन्दै धनगढीवासीसँग भोट मागेका थिए।
मैले उनलाई उनको त्यही भनाइ सम्झाउँदै जिज्ञासा राखेँ— अब तपाईंको कार्यकाल सकिन लाग्यो, आउने चुनावमा के गर्ने योजना छ?
'भर्खरै केही काम सम्पन्न भएको तर थुप्रै काम बाँकी रहेको' बताएका उनी एकछिन घोत्लिए।
त्यसपछि छोटो जबाफ आयो, 'पहिला चुनाव घोषणा होस्, त्यसपछि म साथीहरूसँग सल्लाह गरेर आफ्नो योजना सार्वजनिक गर्नेछु।'
***